Comments Add Comment

प्रदेश ४ : पहिलो बैठक सवा घन्टाको

फागुन ३ गते सभामुख, ६ गते उपसभामुखको निर्वाचन

२१ माघ, पोखरा । प्रदेश नम्बर ४ को पहिलो बैठक सवा घन्टाको हुने भएको छ । सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो ।

प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष मण्डल गठन गर्ने लगायत कार्यसूचीमा छन् ।

प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि यसअघि नै तयार भइसकेको छ । बैठकमा सबै सांसदले अध्ययन तथा छलफलसमेत गरेका थिए । सरकार गठन भएर नयाँ कार्यविधि बन्न समय लाग्ने भएकाले तत्काल लागु हुने गरी संविधानको धारा १९४ बमोजिम २४ बुँदे कार्यविधि तयार पारिएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन फारम र सदस्यको व्यक्तिगत विवरण फारम पहिलो बैठकमा पेश भएर पारित गर्ने तयारी छ ।

प्रत्येक दलका १–१ जनाको प्रतिनिधि हुने गरी ५ सदस्यीय अध्यक्ष मण्डल गठन हुनेछ । सभामुखको जिम्मेवारी पाएका ज्येष्ठ सदस्यबाहेक ४ नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ पार्टीका ८ सांसद बैठकमा सहभागी थिए । तीन ठूला दल एमाले, कांग्रेस माओवादीका २–२ जना, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद बैठकमा सहभागी थिए ।

बैठकले ठूला पार्टीका महिला अनिवार्य हुने गरी ३–३ जना र साना पार्टीका १–१ जना गरी ११ जनालाई बैठकमा बोल्न दिने कार्यसूची तयार पारेको सहसचिव बुढाथोकीले बताए ।

‘पार्टीका तर्फबाट नाम आइसकेपछि १ घन्टाभित्र सबै दलका प्रतिनिधिले आफ्नो मन्तव्य राखिसक्ने छन्,’ बुढाथोकीले भने, ‘ठूला दलबाट क्रमस बोल्न समय प्रदान गर्ने कार्यसूची छ ।’

बैठक सुरु हुनुभन्दा १ घन्टा अगाडि फेरि सर्वदलीय बैठक बसेर अन्तिम कार्यसूची तयार हुनेछ । शनिबार बसेकै प्रतिनिधिसहितको २२ गते बैठक बस्ने र सोही बैठकले थप कार्यसूची तयार पार्ने बुढाथोकीले जानकारी दिए ।

३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन

बैठकमा फागुन ३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन मिति तय गर्ने गरी छलफलसमेत भएको छ । २२ गते नै बस्ने सर्वदलीय बैठकले त्यसको मिति तय गरेर प्रदेश सभा बैठकमा पेश गर्ने तयारी छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख उपसभामुखको निर्वाचन हुनु पर्ने संविधानमा व्यवस्था छ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने तथा त्यसको सूचना सचिवले प्रकाशन गर्ने संवैधानिक व्यवस्था छ । संविधानअनुसार ७ गतेभित्रै सभामुख र उपसभामुख निर्वाचन गरिसक्नु पर्ने भएकाले ३ गते र ६ गतेमा निर्वाचन हुन सक्ने सांसद किरण गुरुङले बताए ।

प्रक्रिया मिलाउँदै जाने तर ३ गते सभामुख र ६ गते उपसभामुख निर्वाचनको मिति तोक्न बैठकमा प्रस्ताव गर्ने मोटामोटी सहमति भएको अर्का सांसद हरिबहादुर चुमानले बताए ।

निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको मितिले १ महिनाभित्र बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । प्रदेश नम्बर ४ मा माघ ३ गते अन्तिम मत परिणाम घोषणा भएकाले त्योभन्दा अगाडि नै दलले संसदीय दलको नेता तोक्ने तयारी गरेका छन् ।

यो प्रदेशमा पहिलो दल एमालेले मुख्यमन्त्री र तेस्रो दल माओवादीले सभामुख पाउने भागबन्डा भएको छ ।

बैठक कक्षमा कुन पार्टीको स्थान कहाँ ?

कार्यसूची तयार पारिएपछि संसदीय कर्मचारी टोलीले बैठकका लागि तयार पारिएको सभा हल र लेआटका विषयमा प्रतिनिधिलाई ब्रिफिङ गरेका थिए ।

सबैभन्दा अगाडि ड्यासमा सभामुख, त्यसैको दायाँ छेउमा सांसद बोल्ने पोडियम, सभामुखको ड्यास अगाडि दायाँपट्टि सत्तापक्ष र बायाँपट्टि प्रतिपक्षका सांसद रहने छन् ।

तर, सरकार गठन नभइसकेकाले दाँयापट्टिको पहिलो रोमा ठूलो पार्टी एमालेका सांसद, बायाँपट्टि दोस्रो ठूलो दल कांग्रेसका सांसद र एमालेका सांसद पछाडि तेस्रो पार्टी कांग्रेसका सांसद रहनेछन् । त्यसभन्दा पछाडि दुईतिर साना पार्टी जनमोर्चा र नयाँ शक्तिका सांसद रहने छन् ।

सांसदभन्दा पडाडि पर्यवेक्षक, पत्रकार लगायतका लागि छुट्टै दर्शकदिर्घा कक्ष बनाइएको छ ।

पूर्वाधार र सुरक्षा प्रवन्ध पूरा

बैठकका लागि तयारी पूरा भइसकेको छ । कार्पेट ओछ्याउने, सभामुख तथा सांसदका लागि कुर्सी तथा टेबल तयार पार्ने, माइक, इन्टरनेट, बिजुली लगायत सबै तयारी भइसकेका छन् ।

केन्द्रीय संसदमा जस्तै प्रदेश संसदको पनि भौतिक पूर्वाधार र बैठकको तयारी गरिएको छ । बैठक सुरु हुनु पहिले नै जनाउ घन्टी बजेपछि हाजिरी पुस्तिकामा हाजिरी गरी फाइल लिएर सांसद हलभित्र प्रवेश गर्नेछन् । सभामुख तोकिएका ज्येष्ठ सदस्यलाई मर्यादापालकले ड्याससम्म पु¥याएपछि सांसदले उठेर अभिवादन गरेलगत्तै राष्ट्रिय धुन बजाएर बैठक सुरु हुन्छ ।

इन्स्पेक्टर लीलाराज लामिछानेको कमान्डमा १६ जना बैठक सुरक्षाका लागि मर्यादापालक खटिनेछन् । असईको नेतृत्वमा नेपाल प्रहरी प्रदेश सभास्थल खटाइने बताए पनि आवास समस्याका कारण उनीहरु अहिले आउने–जाने गरेका छन् ।

तस्वीरहरुः युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment