+
+

क्यान्सर कसरी हुन्छ, यसबाट बच्न के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते ११:३२

२१ माघ, काठमाडौं ।  अभिनेत्री मनिषा कोइरालाले लेखेकी छिन्, ‘क्यान्सर कति दुखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो ।’

मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो, जसको सफल उपचार भयो ।

क्यान्सर हुनु भनेको जीवन समाप्त हुनु होइन । तर, क्यान्सरसँग जुध्न सक्नुपर्छ । डटेर त्यसको सामाना गर्नुपर्छ । मनिषा यस्तै लेख्छिन् ।

क्यान्सर आफैमा भयावह रोग । हामी भन्छौं, क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ । तर, उदाहरणहरुले भन्छ, क्यान्सरलाई जित्न पनि सकिन्छ । क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेकाहरु हाम्रै समाजमा कति छन्, कति ।

यद्यपी क्यान्सरको उपचार त्यसबेला संभव हुन्छ, जब यसको यथासिघ्र उपचार खोजिन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उपचार गरेमा, पुन सामान्य जीवनमा फर्कन सकिन्छ ।  तर, उपचारका लागि हामीले समुचित पहल गरिरहेका छौनौं । नतिजा, बर्षेनी १५ हजारले नेपालमा क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन् । बार्षिक ४० हजार त नयाँ क्यान्सरका रोगी थपिने तथ्यांक छ ।

क्यान्सर आफैमा मृत्यु होइन

तर, क्यान्सर लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने, त्यसको जोखिमबाट बच्न सकिन्छ ।  अझ क्यान्सरको लक्षण थाहा पाउनसाथ उपचार गरियो भने, तुलनात्मक रुपमा खर्च पनि लाग्दैन । क्यान्सरसँग हामी किन भयाभित छौ भने, एक त यसको उपचार जटिल छ । कहिले काहिं असंभव पनि । साथै खर्चिलो पनि ।

क्यान्सरको लक्षण देखापर्नसाथ उपचार खोज्नुपर्छ । सही समयमा, सही ढंगले उपचार भएमा क्यान्सरमुक्त भइन्छ । नेपालमा पनि क्यान्सरको उपचार हुने गरेको छ ।

भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा आधा दर्जन बढी अस्पतालमा क्यान्सरको उपचार गरिन्छ । वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति वाल अस्पताल, भक्तपुर क्यान्सर, धरानको वीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेजमा क्यान्सरको उपचार हुन्छ ।

तर, सचेत रहनुपर्छ

क्यान्सरको उपचार छ । वा, क्यान्सर लागेपछि समूचित ढंगले उपचार खोजेमा त्यसको निदान हुन्छ । यद्यपी क्यान्सरको लक्षण देखापर्नसाथ उपचार भने खोज्नुपर्छ ।

क्यान्सर भएर उपचार गर्नुभन्दा क्यान्सरमुक्त जीवन बाँच्नु नै सर्बोत्तम हो ।

यसका लागि जान्नैपर्ने कुरा के हो भने, क्यान्सर कसरी लाग्छ ? क्यान्सर लाग्न नदिने कसरी ?

वास्तवमा क्यान्सर खराब जीवनशैलीले निम्त्याउने रोग हो । यो वंशानुगत रुपमा पनि आउन सक्छ । यद्यपी शरीरलाई क्यान्सर प्रतिरोधी बनाइयो भने, त्यसले केहि गर्न सक्दैन । भनौं, स्वस्थ्य जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार हो ।

अहिले वाह्य वातावरण पनि क्यान्सरको कारण बनेको छ । धुलो, धूँवा, विकिरण, रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढाइरहेको छ ।

के हो क्यान्सर ?

क्यान्सर आफैमा गंभिर प्रकारको रोग हो । शरीरमा दुई सयभन्दा बढी आकारप्रकारका स–सना कोष तथा कोषिका हुन्छन्, ५० खर्ब जति । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर, खराब जीवनशैली र वाह्य वातावरणिय प्रतिकुलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छ ।

यी गिर्खामध्ये एकखाले हुन्छ, सामान्य अवस्थाका । जो दुख्दैन र धिमा गतिमा मात्र बढ्छ । यसले शरीरलाई खासै हानी गरिररहेको हुँदैन

अर्कोखाले हुन्छ, छिटोछिटो बढ्ने । एकस्थानबाट अर्कोमा सर्ने । यस किसिमको गिर्खा नै क्यान्सर हो ।

किन लाग्छ क्यान्सर ?

माथि उल्लेख गरिएकै छ, क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन् । साथै वाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । जस्तो कि, वातावरणिय प्रदुषण । धुलो–ध्रूँवा, रसायन, विकिरिण आदि क्यान्सरको कारण बन्छ । अर्कोचाहि, वंशानुगत । तर, यस्तो जोखिम १० प्रतिशतमा मात्र हुने बताइन्छ ।

यी हुन् क्यान्सरका कारण

१. चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ ।

२. जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ ।

३. हामीले खानेकुरा सवै स्वस्थ्यकर हुँदैनन् । ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् । बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ ।

४. वातावरणिय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौंको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ ।

५. घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।

कसरी थाहा पाउने ?

क्यान्सरको लक्षणलाई हामी सामान्य ठान्छौं, जतिबेलासम्म यसले जटिल रुप लिँदैन । जतिबेला जटिल रुप लिन्छ, त्यसबेला उपचार असंभव भइसकेको हुन्छ । त्यसैले क्यान्सरको लक्षण थाहा पाउनसाथ त्यसको निदान खोज्नुपर्छ । सामान्यत क्यान्सरको सुरुवाती लक्षण देखिने गर्छ ।

दिस पिसाबमा रगत

यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसले मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।

अचानक तौल घट्नु

निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।

ज्वरो

लमो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । यसले रक्त क्यान्सरको संकेत गर्छ ।

थकान

कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

रक्तश्राव

मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

पिसाबमा समस्या

उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

कसरी बच्ने त ?

क्यान्सरबाट बच्ने एउटै उपाय हो, स्वस्थ्य जीवनशैली । नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराउने । स्वस्थ्य र खुसी जीवन बाँच्ने । ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने । योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने ।

शारीरिक रुपमा सक्रिय रहने । दिनहुँ पसिना बगाउने । युनिभर्सिटी अफ वरमान्टमा भएको अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (अन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ ।

कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन । तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ । त्यसैले तारेको, भुटेको खानेकुरा नखाने ।

एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने । जस्तो कि, ग्रीन टी । यसले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टी मूख्य मानिन्छ ।

सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?