Comments Add Comment

‘बिजुली चोरी रोक्न प्राधिकरणलाई हतियारधारी प्रहरी आवश्यक’

खटिएका प्रहरी स्थानीयवासीसँग घुलमिल हुँदा समस्या

 

२१ माघ, काठमाडौं । सातायता ललितपुरमा बिजुली चोरी गर्ने २० घरधनीलाई विद्युत् प्राधिकरणले कारवाही गरेको छ ।

चोरीमा प्रयोग भएका उपकरण पनि प्राधिकरणका टोलीले जफत गरेका छन् । गत आइतबारदेखि च्यासल, लाँकुरी भञ्ज्याङ, डुपाट मंगलबजार, डुपाट इखालखु र सातदोबाटोमा विद्युत चोरीविरुद्ध अभियान थालिएको हो ।

घर–घर पुग्दै मिटरबाहेक अन्यत्रबाट विद्युत् प्रयोग भए/नभएको जाँच तीव्र बनाइएको छ ।

चोरीमा संलग्न भएका व्यक्तिहरुलाई भने प्राधिकरणले पक्राउ गर्न सकेको छैन । लगनखेल वितरण केन्द्र प्रमुख वीरेन्द्रकुमार सिंहका अनुसार हालसम्म २० ठाउँमा चोरी भएको भेटिएको छ ।

‘हतियारबिनाका प्रहरी टोली लगिएका कारण चोरीमा संलग्नलाई पक्रन सम्भव भइरहेको छैन,’ सिंहले भने, ‘हतियारधारी प्रहरीको आवश्यकता देखिएको छ ।’

प्राधिकरणको टोलीसँग गएका प्रहरीहरु पनि स्थानीयस्तरमा घुलमिल भएकाले चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न आनाकानी गर्दै आएको सिंहले जानकारी दिए ।

चोरीमा संलग्नलाई जरिवाना तिराउँदै छाड्ने गरिएको छ । जरिवानावापत हालसम्म सात लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

लाँकुरी भञ्ज्याङका धेरै घरमा हुकिङ गर्दै बिजुली बालिरहेको फेला परेको छ । लुभु र डुपाटतिर भने घरमा मिटर जडान गरिएको छ, बिजुली भने त्यसभन्दा बाहिरबाट तान्ने गरेको पाइएको छ ।

‘पानी तान्ने मोटर र फ्रिजजस्ता मेसिन चोरीबाटै चलाउने गरेको पाइएको छ,’ सिंहले भने ।

प्राधिकरणको टोलीलाई घरधनीहरुले रोक्ने गरेका छन् । एक्लो प्रयासले सम्भव हुने नदेखेपछि प्राधिकरणले प्रहरीको सहयोग लिएको हो ।

प्राधिकरणका अनुसार ललितपुरका ती क्षेत्रमा औसत ५० प्रतिशत विद्युत चोरी भइरहेको छ, जसका कारण वार्षिक करिब ५० करोड रुपैयाँ राजश्व गुमिरहेको छ ।

चोरी अत्यधिक भएपछि प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् कटौती (ब्ल्याक आउट) गर्ने निर्णय नै लिएको छ । तर, चोरी घटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment