Comments Add Comment

पोशाक, भाषा र राजधानीको लफडादेखि समृद्धिको सपनासम्म

शब्दचित्रमा हेर्नुस् प्रदेशसभा बैठकका ७ आयाम

२१ माघ, जनकपुरधाम । प्रदेश २ मा सपथग्रहणकै दिनबाट सुरु भएको लफडा आइतबार बसेको पहिलो बैठकमा पनि रोकिएन । सपथग्रहणको दिन भाषाको विवादले लफडा भएको थियो भने पहिलो बैठकमा मधेस आन्दोलनका शहीदको फोटो खोज्दै विवाद भयो । सामान्यतः संसदको पहिलो बैठकमा कुनै पक्षबाट अवरोध हुँदैन, तर प्रदेश २ ले शुरुवातबाटै अवरोध झेल्नुपर्‍यो ।

नेपाली भाषामा सपथग्रहण नगर्ने भन्दै मधेसवादी दलका सांसदले शुरुमै विरोध गरेका थिए । जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरेका एमालेका सांसद लगनलाल चौधरीले आफूले नेपाली भाषामै सपथको ब्यहोरा बोल्ने र सांसदहरुले इच्छाअनुसार त्यसलाई आफ्नो भाषामा ब्यहोरा मिलाउन सक्ने जवाफ दिएपछि शुरुको लफडा सकिएको थियो ।

आइतवार पहिलो बैठक विहान ११ बजे तय भएको थियो । एक घण्टा ढिला मध्यान्ह १२ बजे शुरु भएको बैठकमा सभामुख चौधरीले नेपाली भाषाबाटै सभा सञ्चालन गरे । केही मधेसवादी दलका सांसदले खासखुस गरे पनि नेताहरुले उनीहरुलाई रोकेपछि सभामुखले नेपाली भाषामै सभा सञ्चालन गरेको बिरोध कतैबाट सुनिएन ।

शहीदका नाममा अवरोध

जब पहिलो बैठकमा शहीदहरुप्रति एक मिनेट मौनधारण सकिएर सभामुखले बैठकको कारवाही अघि बढाउन खोजे, तब राजपाका सांसद मनिष सुमनले उठेर नियमापत्ति गरे । उनले शहीदहरुप्रति मौनधारण गरिरहँदा मधेस आन्दोलनका शहीदको तस्वीर नराखिएको भन्दै आपत्ति जनाए । सभामुख आसनको दायाँतर्फ जनआन्दोलनका शहीदको तस्वीर एउटै फ्रेममा राखिएको थियो ।

सुमनले नियमापत्ति गरिनसक्दै राजपाकै सांसद डिम्पलकुमार झाले उभिएर मधेस आन्दोलनका शहीदको फोटो नराखेसम्म बैठक अघि बढ्न नदिने बताइन् । मधेसवादी सांसदहरुले संसद सचिवालयका कर्मचारीले नियतवस मधेस आन्दोलनका शहीदको तस्वीर नराखेको भन्दै आक्रोश व्यक्त गरे ।

उता एमालेका सांसदहरुले बैठकको कारवाही रोक्न नहुने भन्दै निमयमापत्ति गरे । दुबैतर्फबाट निययमापत्ति हुन थालेपछि जेष्ठ सदस्यको हैसियतमा सभामुख बनेका लगनलाल चौधरी केहीबेर अलमलमा परे ।
अन्ततः कर्मचारीको सहयोगमा उनले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्वीर राख्न निर्देशन दिन्छु भन्दै रुलिङ गरे । र, सभामुखको रुलिङपछि आ-आफ्नो स्थानमा उभिएका मधेसवादी दलका सांसदहरु धन्यवाद भन्दै बसे । एमाले सांसदहरुले पनि आफ्नो आसन लिए । त्यसपछि बैठक सुचारु रह्यो ।

पाइला पाइलामा नियमापत्ति

एउटा नियमापत्तिबाट पार पाएर सभामुखले प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्ने प्रस्ताव पेश गरे । त्यसमा पनि मधेसवादी दलका सांसदहरुले उठेर संशोधनसहितको कार्यविधि पारित हुनुपर्ने भन्दै हंगामा खडा गरे ।

जवाफमा सभामुख चौधरीले संशोधनसहितकै कार्यविधि आफूले पेश गरेको भन्दै उनीहरुलाई बस्न आग्रह गरेपछि ‘त्यसो भए हुन्छ’ भन्दै पास भएको जनाउ दिए । सभामुखले हुन्छ वा हुन्न भन्ने प्रस्तावै नराखी त्यो कार्यविधि पास भयो ।

प्रदेश २ को प्रदेशसभाको शुरुवात नै अवरोध र बिरोधबाट भएकाले अबका बैठकहरु कसरी अघि बढ्छन् भन्ने चुनौती कर्मचारीले महसुस गर्न थालिसकेका छन् ।

अर्को संयोगक चाहिँ के छ भने, मधेस आन्दोलनबाट स्थापित भएका मधेसवादी दलहरु सत्तापक्ष हुँदैछन् भने मधेस आन्दोलनको तारो बनेको एमाले प्रमुख प्रतिपक्षको आसनमा हुनेछ । यसले प्रदेशसभा सञ्चालन अब आउने सभामुखका लागि पेचिलो बन्न सक्छ ।

मुख्य भाषा हिन्दी कि मैथिली ?

प्रदेश २ मधेसी समुदायको बाहुल्य रहेको प्रदेश हो । तर, यो प्रदेशमा भाषाको विविधता छ । सप्तरीदेखि सर्लाहीसम्म मैथिलीभाषीको बाहुल्य छ भने रौतहटदेखि पर्सासम्म भोजपुरी भाषीको बाहुल्य छ । यहाँ पहाडे समुदायले नेपाली भाषा बोल्छन् भने थारुको आफ्नै भाषा छ । यीबाहेक पहाडे आदिवासी जनजातिको मातृभाषामा पनि बोलीचालीमा प्रयोग हुन्छ ।

[sam_list] प्रदेशसभाको पहिलो बैठकमा मधेसवादी दलले हिन्दी भाषा प्रयोग गरे भने अन्य दलले मैथिलीमा बोले । संघीय समाजवादी फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनल र स्वतन्त्र सांसद अब्दुल कलामले हिन्दी भाषामा सम्बोधन गरे । उनीहरु तीनैजना भोजपुरी भाषी बाहुल्य जिल्लाका प्रतिनिधि हुन् ।

उता, एमालेका सत्यनारायण मण्डल, सत्रुघन महतो, कांग्रेसका रामसरोज यादव, माओवादीका भरत साह र संघीय समाजवादी नेपाल पार्टीकी सुमित्रादेवी सहनीले मैथिली भाषामा प्रदेशसभालाई सम्बोधन गरे ।

पहिलो बैठकमा हिन्दी र मैथिली भाषा प्रयोग भए पनि प्रदेश संसदमा भोजपुरी र नेपाली बोल्ने सांसदको संख्या पनि उल्लेख्य छ ।

हिन्दी प्रदेश २ का सबै भाषाभाषीहरुको सम्पर्क भाषा भएकाले यसको प्रयोग गरिएको राजपा सांंसद डा. रिना यादवले बताइन् । एमाले सांसद बेची लुंगेलीले भने एमाले सांसदहरुमध्ये पहाडी समुदायले नेपालीमा बोल्ने र अरुले मैथिली तथा भोजपुरीमा बोल्ने नीति रहेको जानकारी दिइन् । तर, एमाले सांसदले हिन्दी भाषामा भने नबोल्ने उनले स्पष्ट पारिन् ।

अस्तव्यस्त सभा हल

प्रदेश २ को पहिलो बैठक अस्तव्यस्त र लथालिंग प्रकारको थियो । सांसदहरु बस्ने कुर्सीसँगै भीआइपी दर्शक, आम दर्शक र पत्रकारलाई खचाखचरुपमा आफूखुसी बस्ने व्यवस्था गरिएको थियो । क्षमताभन्दा बढी मान्छेहरु हलभित्र पसेर कोही हल्ला गरिरहेका थिए भने कोही आफ्नो दलको सांसदले बोल्दा तालीसमेत बजाउँदै थिए ।

 

संसदको बैठकजस्तो नभएर त्यो हल सार्वजनिक सभा समारोह जस्तो थियो । सांसद र दर्शकका मोबाइलको घण्टी ठूलो स्वरमा बजिरहेका थिए । मर्यादापालक निरीह र मनोबल खस्केको अवस्थामा थिए ।

‘संसदको बैठकजस्तो भन्दा पनि आमसभा जस्तो भयो’ एमालेकी सांसद मञ्जु यादवले अनुभव भनिन् ।

एमालेको रमिता

प्रदेश २ को पहिलो बैठकमा एमालेका दुई गुटले रमिता देखाए । प्रमुख विपक्षी दलको हैसियतमा बस्ने जनादेश पाएको एमाले संसदीय दलले पहिलो बैठकमै आफूलाई कमजोर देखायो । एमालेले आफ्नो पार्टीबाट पहिलो बैठकमा बोल्ने वक्तासमेत तय गर्न सकेन ।

एमालेभित्रको विवादका कारण सत्यनारायण मण्डल र सत्रुघन महतो दुवैले ५/५ मिनेट बोले ।

पहिलो बैठकमा बोल्नका लागि दलको हैसियतअनुसार समय निर्धारण गरिएको थियो । जसमध्ये फोरमले १४ मिनेट, राजपाले १२ मिनेट, एमालेले १० मिनेट, कांग्रेसले ९ मिनेट र माओवादीले ६ मिनेट पाएका थिए । तर, एमालेमा सहमति नभएपछि पार्टीले पाएको १० मिनेट मण्डल र महतोले आधा आधा बाँडेका हुन् ।

एमालेका तर्फबाट सत्यनारायण मण्डलले पहिले बोले । महतोले भने सबैले बोलिसकेपछि अन्तिममा परे ।

प्रदेश २ मा एमाले संसदीय दलको नेताका लागि मण्डल र महतोबीच चुनाव हुँदैछ । प्रदेश २ का संयोजक मण्डल पार्टीभित्र संस्थापन पक्षका हुन् भने पोलिटव्यूरो सदस्य महतो माधव नेपाल पक्षका हुन् । उनीहरु दुवै प्रमुख विपक्षी दलको नेता बन्ने दाउमा छन् ।

पोशाकविहीन मर्यादापालक

सामान्यतः विश्वभर संसद बैठकको मर्यादा कामय गर्न खटिएका मर्यादापालकको समान पोशाक हुन्छ । तर, प्रदेश २ का मर्यादापालक पोशकविहीन भए ।

केन्द्रीय संसदका मर्यादापालकले लगाउने पोशाक अन्य प्रदेशमा प्रयोग भयो । तर, प्रदेश २ मा पुरुषको दौरा सुरुलाल कालोटोपी र महिलाको सारी चोलो कोट मान्य भएन । जसले गर्दा मर्यादापालक आफूखुसी पोशाक लगाउन बाध्य भए ।

आफूले मर्यादापालकका लागि केन्द्रबाटै पोशाक लिएर आए पनि त्यो प्रयोग हुन नसकेको संसद सचिवालयका सहसचिव बंशी पौडेलले बताए ।

मर्यादापालकको पहिचानका लागि ब्याच लगाइएको थियो भने केही पुरुष मर्यादापालकले टोपी लगाएका थिए । तर, मधेसमा टोपी पनि लगाउन नपाइने मधेसवादी दलको अडान छ ।

मर्यादापालको पोशाक पछि बस्ने प्रदेश संसदले आफ्नो अनुकुल कायम गर्ने राजपाका सांसद उपेन्द्र महतोले बताए । दौरा सुरुवाल मधेसको पोशाक नभएकाले प्रदेशसभामा प्रयोग हुन नहुने उनको भनाइ छ ।

पहिलो बैठकमा समृद्ध मधेसको सपना

प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने सबै दलका नेताले सम्मृद्ध मधेस प्रदेश बनाउनुपर्नेमा जोड दिए । उनीहरुले २ नम्बर प्रदेश स्रोत साधनविहीन भए पनि धेरै सम्भावना भएकाले यसलाई विकास गर्नुपर्ने र वीरगञ्जको आवाजलाई सम्बोधन गर्नुपर्ने बताए ।

ठूलो दलको नेताको हैसियतले सम्बोधन गर्दै संघीय समाजबादी फोरम नेता लालबावु राउतले राज्यको विभेदकारी नीतिको कारण मधेस प्रदेश पछाडि परेको बताए । विभेदकारी नीतिका कारण यो प्रदेश अहिले गरीव प्रदेश बनेको राउतले बताए ।

सभामा हिन्दी भाषामा सम्बोधन गर्दै प्रदेश संसद राउतले यो प्रदेशलाई सबै मिलेर मोडेल प्रदेशका रुपमा लौजानुपर्ने बताए ।

सम्बोधनका क्रममा उनले वीरगञ्जका जनता आन्दोलनमा रहेको चर्चा गर्दै त्यहाँका जनताको भावना समेटेर जानुपर्ने बताए । बीरगञ्जले हामीलाई धेरै सहयोग गरेको छ, अहिले ८ वटै जिल्लाको भवनालाई समेटेर सम्बोधन गर्नुपर्ने बताए ।

त्यस्तै राजपा नेता सांसद जितेन्द्र सोनलले बैठकमा बोल्दै वीरगञ्जले मधेस आन्दोलनका बेला नाकाबन्दी गरेको सम्झाउँदै वीरगञ्जसँग प्रदेश सरकारले सम्वाद गरेर उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए ।

एमाले नेता सत्यनारायण मण्डल र सत्रुघन महतो दुवैले समृद्ध मधेस प्रदेश निर्माणमा प्रमुख विपक्षमा बसेर एमालेले रचनात्मक सहयोग गर्ने बताए ।

नेपाली कांग्रेसका संसद रामसरोज यादवले चुरे दोहनका कारण प्रत्येक वर्ष मधेसले क्षति व्यहोरेको भन्दै चुरे संरक्षण नगरे मधेस मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गरे । चुरे बचे मात्रै मधेस बाँच्ने भन्ने भन्दै त्यसका लागि दीर्घकालीन काम गर्न उनले बैठकमा आग्रह गरे ।

प्रदेश दुईको अर्को बैठक आगामी माघ २९ गते बस्नेछ भने सभामुखको निर्वाचन फागुन २ गतेका लागि तोकिएको छ ।

प्रदेशसभाको पहिलो बैठकसँगै विभिन्न दलहरु आआफ्नो संसदीय दलको नेता छनोट गर्नेतिर लागेका लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment