Comments Add Comment

डडेल्धुराका किसान गाई पालनमा आकर्षित

२२ माघ, डडेल्धुरा । डडेल्धुराको भित्री मधेसका किसान गाईपालनतर्फ आकषिर्त भएका छन् ।

पछिल्लो समयमा भित्री मधेसमा पर्ने आलिताल गाँउपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा चिस्यान तथा दुग्ध संकलन केन्द्रको स्थापना भएपछि किसानहरु गाईपालन पेशातर्फ आकर्षित  भएका हुन ।

पहिले दुध उत्पादन गरेर पनि बिक्री गर्न नपाउने समस्या रहेको र अहिले आफूले उत्पादन गरेको दुध छिमेकी जिल्ला कैलालीसम्म जाने बताउँछिन् परशुराम नगरपालिका जल्गडाकी अम्मरादेवी धामी । ‘पहिले सामान्य आफै दुध खान गाईपालन गर्थे र १ वर्षसम्म मात्र गाईले दिन्थ्यो’ उनले भनिन ‘अहिले जर्सी गाईपालेको तीन वर्ष भयो, केटाकेटीको किताब कापी तथा दैनिक आवश्यक साबुन मसला यसैबाट जोहो हुन्छ ।’

तीन वर्ष पहिले जिल्ला पुश सेवा कार्यालय तथा एकीकृत विकास समाजको सहयोगले चितवनबाट २ वटा जर्सी गाई ल्याएकी उनी अहिले महिनाको ८ देखि १० हजारसम्म कमाउँछिन । अरु सामान्य गाईले १ वर्षसम्म मात्र दुध दिने र त्यसपछि १ वर्ष खाली रहनेे तर जर्षी गाई २ महिना मात्र खाली रहने भएकाले गाउँमा धेरैले जर्सी गाई पालेको छन् ।

त्यस्तै आलिताल गाउँपालिका ४ घरेलुका जगन सिँह मडैले २०६३ सालमा चितवनबाट एउटा मात्र जर्सी गाई मात्र ल्याएका थिए । तर, अहिले त्यसै गाईबाट संख्या बढाएर ४ पुगाएका छन । उनी दिनमा ३५ देखि ४० लिटरसम्म दुध बेच्ने गरेको बताउँछन । ‘छाकमा २२ देखि २५ लिटरसम्म गाईले दुध दिन्छ,’ उनले भने,’दिनमा एक हजारदेखि एक हजार दुई सयसम्म आम्दानी हुन्छन ।’

आफूलाई जिल्ला पशु सेवा र एकीकृत विकास समाज अन्तर्गतको एमरेड परियोजनाले आफूलाई जर्सी गाई पालनमा सहयोग गरेको बताउने जगन सिँह अब गाईको संख्या अझ बढाउने बताउँछन । ‘मैले २० वटा गाईपाल्ने गोठ बनाएको छु,’ उनी भन्छन्, ‘अहिले बजारको समस्या छ, यदी बजारको अवस्था राम्रो भयो भने छिट्टै गाई संख्या बढाउछु ।’

अर्की आलिताल गाँउपालिका सैनकी कलावती नाथ आफ्नो देखासिखी गरेर आफ्नो गाउँ तथा छिमेकी गाँउका किसानहरुले पनि गाईपालन गरेको बताउँछिन । ‘पहिले दुध बेच्न कठिन हुन्थ्यो, होटल तथा कर्मचारीलाई दुध बेच्नु पर्ने अवस्था थियो,’ छेउमै रहेको गाईलाई मसार्दै उनले भनिन्, ‘नजिकै रहेको धुम्ती मोडमा दुग्ध संकलन केन्द्र स्थापना भएको छ, अहिलेे त हामीले उत्पादन गरेको दुध कैलालीसम्म पुग्छ ।’

महिनाको ६ देखि ८ हजारसम्म दुधबाट आम्दानी हुने गरेको उनले बताइन । नाथले केटाकेटीको पढाई खर्च कटाएर बैंकमा कोष समेत जम्मा गदैछिन् ।

उत्पादन गरेको दुध बेचिन थालेपछि अहिले गाँउमा २१ वटा उन्नतखाले जर्सी गाई भित्रिएको समेत उनले बताइन् ।

आलिलात गाँउपालिकाको घरेलुमा मष्टो गाईपालन तथा दुग्ध संकलन केन्द्र संचालन गर्दै आइरहेका कमल सिँह ऐरीले दिनमा ७०० लिटरसम्म कैलालीको खप्तड डेरीमा दुध निर्यात गर्ने बताए ।

जम्मा २०० जनाले आफ्नो संकलन केन्द्रमा दैनिक दुध ल्याउने उनी बताउँछन् । जिल्ला पशु सेवा कार्यालय, एकीकृत विकास समाज अन्तर्गतको एमरेड परियोजना र खप्तड डेरीको सहयोगमा स्थापना गरिएको दुग्ध संकलन केन्द्रमा अहिले घरेलु, सेरी र बसोनीबाट दुध आउने समेत उनले बताए । ‘गाई पालेर फाइदा हुँदो रहेछ भन्दै ग्राहक संख्या दिनप्रतिदिन बढ्ने क्रममा छन्,’ उनले भने, ‘पहिले ५०/६० मात्र गाई भएकेा गाँउमा अहिले २/३ गाई नभएको घरनै छैन ।’

अत्तह उजाड देखिने भित्री मधेसमा अहिले हरियाली छाएको छ, कारण हो गाई पालन गरेका किसानले लगाएको नेपीएर घास ।

उत्पादन गरेको दुधले बजार पाएपछि अहिले धेरैजसोको घरमा गाईभैँसी छन् । सुरुमा सरकारी निकाय तथा संघसस्थाबाट अनुदान पाएर गाई पालन पेसा अपनाएका किसान अहिले आफ्नै बलबुतामा व्यवसायिक पेसालाई बढावा दिन सक्ने भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment