Comments Add Comment

देहरादूनमा इन्डो -नेपाल व्यापार मेला सुरु

२२ माघ, काठमाडौं । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा दोस्रो नेपाल-भारत व्यापार मेला तथा पर्यटन महोत्सव-२०१८ सुरु भएको छ । नेपाल र भारत सरकारका विभिन्न निकाय तथा नेपाल उद्योग वाणिज्य महासंघ तथा कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा उक्त मेला सुरु भएको हो । उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उक्त मेलाको उद्घाटन गरे ।

नेपालमा उत्पादित निकासीयोग्य बस्तुको पहिचान एवं बजार प्रबर्द्धन गर्ने, नेपालका पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरुलाई बजार पहुँचको अवसर प्रदान गर्ने र नेपाल भारत बीचको संस्कृति सम्बन्धलाई थप उजागर गर्नु मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

मेलामा ५६ वटा स्टलहरु मार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ ।
यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकिय क्षेत्रहरुको विस्तृत जानकारी, टुर्स एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकिय सम्पदाहरुको प्रचारप्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी/नेपाली खाद्य परिकारहरु रहेका छन् ।

मेला उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उत्तराखण्ड राज्यका मुख्यमन्त्री रावतले नेपाल भारत बीचको विभिन्न आयामका सम्बन्ध संसारमै एक अनुपम रहेको बताउंदै समग्र नेपालको समृद्धिमा भारत सदैव सहयोगी रहने विश्वास दिलाए । उनले भारतीय सरकारले नेपाल -भारत बीचको यातायात व्यवस्थालाई सजह र सवल बनाउन प्रयास गरिरहेको बताए ।

आर्थिक, व्यापारिक सम्बन्ध र सहकार्यलाई उचाईमा पुर्‍याउन मेला कोशेढुंगा हुने विश्वास उनले प्रकट गरे । मेलाले उत्तराखण्ड र नेपालको सिमा क्षेत्रका जिल्लाका उद्यमी व्यवसायी बीचको व्यवसायिक सम्बन्ध मजबुत बनाउन सहयोगी भएको उनको भनाई थियो । मन्त्री रावतले दुई देशबीचको पर्यटन अगाडी बढाउन उत्तराखण्ड सरकार सदैव तयार रहेको बताए ।

नेपाल सरकारका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले बढ्दो व्यापार घाटा कम गर्न भारतमा नेपाली वस्तुहरुको निर्यात बढाउनुपर्नेमा जोड दिए । राज्यमन्त्री चन्दले अन्र्तराष्ट्रिय स्तरमा हुने यस्ता मेलाले व्यापारिक सम्बन्ध प्रगाढ हुनुका साथै नेपालमा उत्पादन भएका वस्तुले अन्र्तराष्ट्रिय बजार पाउने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले दुई देश बीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने धारणा राखिन् । मेलाले नेपाल र उत्तराखण्ड बीच धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने राणाको भनाई थियो । नेपाल र उत्तराखण्डलाई वौद्ध सर्किट र रामसीता सर्किटको रुपमा विकास गर्नुपर्ने सुझाव उनको थियो । नेपालमा कृषि तथा जडीबुटीमा आधारित उद्योगहरुमा लगानी गर्न अध्यक्ष राणाले उत्तराखण्डका निजी क्षेत्रसँग आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment