Comments Add Comment

प्रदेश ४ बैठक: पृथ्वीनारायणको प्रशंसा, संघीयतालाई ‘भालु’ को संज्ञा

पैदल हिँड्ने सांसदको नागरिकता प्रहरीले माग्यो !

२२ माघ, पोखरा । सोमबार बिहान साढे १० बजेदेखि नै नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको गेटमा प्रदेश सांसदहरु लाइनमा उभिएका थिए । खुरुखुरु भित्र छिर्न लागेका सांसदहरुलाई प्रहरीले फर्काउँदै लाइनमा उभ्यायो ।

प्रहरीले रोक्दै गेटबाहिरै लाइनमा उभ्याएपछि प्रदेश सांसदहरु भन्दै थिए ‘हामीलाई पनि लाइन ?’, हामीले पनि यहाँनाम टिपाउनुपर्ने ?’

गेटमा एक जना प्रहरी जवानलाई फाइलमा नाम, ठेगाना, पद, फोन नम्बर टिप्न भ्याईनभ्याई थियो । एकैजनाले फाइलमा सांसददेखि पार्टीका कार्यकर्ता, कर्मचारी र पत्रकारसम्मका नाम टिप्नुपर्दा अव्यवस्थित र अमर्यादित देखिन्थ्यो ।

हिँडेर आएका सांसदको नाम टिप्दा गाडीमा आएका माननीयहरु गेटभित्र छिरेको पत्तै पाएनन् प्रहरीले । सांसदका लागि प्रदेशसभा हलको बाहिर छुट्टै हाजिरी किताब थियो । तर, प्रहरी र व्यवस्थापन पक्षबीच समन्वय नहुँदा सुरुमै अव्यवस्थित देखियो ।

संसद सचिवालयले परिचयपत्र उपलब्ध नगराइसकेको अवस्थामा परिचय खुल्ने कुनै कागजात वा निर्वाचन आयोगले दिएको निस्सा लिएर सांसदलाई बैठकमा आउन आग्रह गरिएको थियो । जनमोर्चाकी पियारी थापाले आफू सांसद हुँ भने पनि प्रहरीले नपत्याएपछि नागरिकता देखाएरभित्र छिर्नुपर्‍यो ।

प्रदेश ४ को प्रदेशसभा बैठक सुरु हुनै लाग्दा भीडभाड बढेपछि प्रहरीले नामै टिप्न छाड्यो ।

सोमबार सम्पन्न प्रदेश नम्बर ४ को पहिलो ऐतिहासिक बैठकमा यस्तै केही रोचन दृश्य देखिए ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सवा एक घण्टामा सकिने भने पनि सांसदले तोकिएकोभन्दा बढी समय बोलेपछि पौने दुई घण्टासम्म चल्यो ।

बैठकमा कर्तव्य ज्यान उद्योगमा दोषी ठहर भएका राजीव गुरुङ ‘दीपक मनाङे’ बाहेक सबै सांसदहरु उपस्थित थिए ।

३६ जना प्रत्यक्ष र २४ समानुपातिक गरी ६० जना सांसद सहभागी संसद बैठकमा ७ जनाबाहेक सबै नयाँ अनुहार थिए । संसदको ड्यासमा बोल्न उभिएका ११ जना सांसदमध्ये २ जनाबाहेक सबैको पहिलो अवसर थियो ।

संघीयताः हिराको सिक्रीले बाँधिएको भालु !

देशमा संघीयताको कार्यान्वयनसँगै भएको प्रदेश सभाको पहिलो बैठकमा बोल्ने सांसदले संघीयताको विरोधदेखि पृथ्वीनारायणको स्तुतिसम्मको भाका हाले ।

संसदमा बोल्न पाएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ भनेपछि सभाहलमा रहेका सांसदले मुखामुख गरे । दर्शकदीर्घामा खासखुस र कल्याङमल्याङ चल्यो ।

संघीयताकै कारण प्रदेश सांसद बनेका थापाले संघीयता अत्यन्तै खर्चिलो र यसबाट जनता असुरक्षित भएको बताएपछि अरु सांसद आश्चर्यमा परेजस्ता देखिन्थे ।

सांसद थापाले फरार सांसद दीपक मनाङेप्रति लक्षित गर्दै यस्ता व्यक्तिलाई संरक्षण गर्ने पार्टी पनि सच्चिनुपर्ने भन्दै एमालेप्रति प्रदेशसभाबाटै व्यंग्य गर्न समेत भ्याए ।

नेकपा एमालेका सांसद एवं मुख्यमन्त्रीका दुईजना दाबेदारले पृथ्वीनारायणको स्तुति गर्दा एमालेकै केही सांसदले मुख बिगारे ।

पहिलो वक्ताका रुपमा मञ्चमा उक्लेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्तव्य नै पृथ्नीनारायण शाहले गरेको एकताको प्रसंगबाट सुरुवात गरेका थिए ।

अर्का सांसद किरण गुरुङले पनि पृथ्वीनारायण शाहको पटक-पटक नाम लिए । ‘देश संघीयतामा गइसक्यो तर, हाम्रा माननीयमा पुरानो हृयाङ अझै गएको छैन,’ दर्शकदीर्घामा रहेका एक नेताले भने ‘संघीयताका लागि लडेका व्यक्तिलाई बिर्सेर पृथ्वीनारायणको स्तुति गाउन कति जरुरी थियो ? त्यो आफैं मूल्यांकन गर्नुपर्ने कुरा हो ।’

पृथ्वीसुब्बा गुरुङले ४ नम्बर प्रदेशलाई ७ नम्बर प्रदेश भनेपछि सांसदकै बीच कानेखुसी चलेको थियो ।

सुरुमै झुक्किए सभामुख

मर्यादापालकले सभामुखलाई ड्यासमा पुर्‍याएसँगै सभाका सबै सांसदहरु उठेर सम्मान व्यक्त गरे । लगत्तै, राष्ट्रिय धुन बज्यो । त्यसपछि शहीदप्रति १ मिनेट मौनधारण गरेसँगै प्रदेश प्रमुखबाट बैठकका लागि आएको पत्रवाचनमै सभामुख अल्मलिए ।

पत्रको अन्तिममा लेखिएको स्थान, मिति र समय पढेपछिमात्रै उनले त्योभन्दाको निम्न स्थान, मिति र समयमा बैठक बस्न आहृवान गर्दछु भन्ने वाचन गरे ।

प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्ने बेलामा यस प्रस्तावको पक्षमा हुन्छ भन्ने माननीयले हुन्छ भन्नुहोला मात्रै भनेर सभामुखले हुँदैन भन्ने ध्वनि मतका लागि अवसर नै दिएनन् । यो प्रस्तावको पक्षमा हुँदैन भन्ने माननीयले हुँदैन भन्नुहोला भन्ने अवसर नै नदिई हुँदैन भन्नेमा आवाज नसुनिएको भन्दै सभामुखले पारित गरिदिए । यो उनको पहिलो अनुभव भएकाले हुन गएको गल्ती हो ।

बैठक सञ्चालन गर्न गएका संसदीय कर्मचारीले सभामुखलाई सिकाएपछि फेरि हुँदैन भन्ने पक्षका लागि उनले अवसर दिए । तर, हुँदैन भन्नेमा आवाज आएन ।

कांग्रेस सांसदको लिखित मन्तव्य

प्रदेशसभाको पहिलो बैठकमा बोल्ने कांग्रेसका सबै सांसदले लिखित मन्तव्य राखेका थिए । कांग्रेसका तर्फबाट कृष्णचन्द्र नेपालीले लिखित मन्तव्य राखेर समय सकिनुभन्दा अघि नै आफ्नो भनाइ सके ।

कांग्रेसका दोबाटे बिकले पनि मन्तव्यको केही समय बाँकी रहँदै आफ्नो मतव्य टुंग्याए भने ललिलकला गुरुङले पनि आफूले पाएको ५ मिनेट समयमा केही सकेन्ड मात्रै बढी समय लिइन् ।

अन्य सांसद भने सोमबारको बैठकमा कांग्रेसजतिको व्यवस्थित देखिएनन् । कांग्रेसदेखि बाहेक सबै सांसदले तोकिएकोभन्दा धेरै समय बोले ।

कसरी बैठक बस्ने भन्ने अभ्यास अघिल्लो दिन नै गराइएको भए पनि संसदभित्र मोबाइल बज्नेदेखि सेल्फी खिच्नेसम्मका दृश्य देखिए ।

सभामुखको दाँयापट्टी पहिलो भागमा पहिलो पार्टी एमालेका सांसद र त्योभन्दा पछाडि तेस्रो पार्टी माओवादीका सांसद बस्ने गरी सिकाइएको भए पनि सांसद अघिपछि मिसिएर बसेका थिए । बायाँपट्ट िभने दोस्रो दल नेपाली कांग्रेसका सांसद बसेका थिए ।

भित्र प्रदेश सांसदको मन्तव्य, बाहिर केन्द्रीय सांसदको हल्ला

प्रदेशसभाको पहिलो बैठक हेर्न यस प्रदेशबाट प्रतिनिधिसभाको चुनाव जितेका सांसद पनि पुगेका थिए । सांसद पदम गिरी, केदार सिग्देल, पद्मा अर्याल, प्रेम तुलाचन र रवीन्द्र अधिकारीदेखि देव गुरुङसम्म उपस्थित भए ।

[sam_list] प्रतिनिधिसभा सदस्यहरु कतिपय पुरानै थिए भने कति पहिलोपटक संसदको अभ्यास नियालिरहेका थिए ।

भित्र प्रदेश सांसदले बोलिरहँदा त्योभन्दा पडाडि प्रतिनिधिसभाका सांसद, मेयर, उपमेयर, पार्टीका प्रतिनिधि, पत्रकार र पर्यवेक्षकका लागि दर्शकदीर्घा बनाइएको थियो ।

प्रदेश सभाका सांसदहरुले आफ्नो भनाइ राखिरहँदा दर्शकदीर्घामा रहेका प्रतिनिधिसभाका सांसदले गरेको हल्लाप्रति एक कर्मचारीले गुनासै गरे ।

कांग्रेसका एकमात्र प्रतिनिधिसभाका सांसद शशांक कोइराला र एमालेका खगराज अधिकारी, सूर्य पाठक, नारायण मरासिनी, नयाँ शक्तिका बाबुराम भट्टराईबाहेक प्रतिनिधि सभाका १३ जना सांसदहरु दर्शकदीर्घामा उपस्थित थिए ।

केही रोचक विषयबाहेक प्रदेशसभाको सोमबारको बैठक कुनै अवरोध र झन्झटबिना मर्यादितरुपमा सकिएको छ ।

प्रदेशसभाको बैठक गराउन आएका सांसदीय कर्मचारीको टोलीले पनि अहिलेसम्म अन्य प्रदेशमा भएका बैठकभन्दा व्यवस्थित र मर्यादितरुपमा बैठक सकिएको दाबी गरेका छन् ।

सोमबारको बैठकले कार्यविधि पारित गर्नुका साथै फागुन ३ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेको छ । बैठकले पाँच पार्टीका ५ प्रतिनिधिलाई समेटेर ५ सदस्यीय अध्यक्षमण्डल पनि गठन गरेको छ ।

तस्वीरहरु : युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment