Comments Add Comment

पर्सामा चैतबाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

चैतबाट दर्ता सुरु, जेठबाट सेवा प्रदान गरिने

२३ माघ, वीरगञ्ज । नेपाल सरकारले सञ्चालन गरेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम पर्सामा पनि सुरु गरिने भएको छ ।

नेपाली जनताको स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्यका साथ नेपाल सरकारले आर्थिक वर्ष २०७२/०७३ बाट सुरु गरेको कार्यक्रम पर्सामा सञ्चालन गर्न लागिएको हो ।

२०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट सुरु गरिएको कार्यक्रम अहिले २५ जिल्लामा सञ्चालनमा छ । चैतसम्म २९ वटा र ०७५ असारसम्ममा ३९ वटा जिल्लामा सेवा बिस्तार गर्ने लक्ष्यका साथ काम अघि बढीरहेको छ ।

पर्सामा चैत महिनादेखि दर्ता सुरु हुने र जेठबाट लागू हुने गरी कार्यक्रम सुरु गर्न लागिएको स्वास्थ्य बीमा बोर्डका व्यवस्थापक नरेश चौधरीले जानकारी दिए । ‘पर्सामा छिट्टै सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । जिल्लामा अहिले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने र स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार भइरहेको छ,’ बोर्डका व्यवस्थापक चौधरीले भने, ‘चैत १ गतेबाट दर्ता सुरु गर्छौै र जनताले जेठ १ गतेबाट सेवा पाउनेछन् । ‘

पर्साको १४ वटा स्थानीय तह मध्ये पोखरीया र छिपहरमाई नगरपालिका, विन्दवासीनी, पकाहमैनपुर र धोविनी गाउँपालिका गरी ५ वटा स्थानीय तहका जनप्रतिनीधिलाई प्रशिक्षण दिइसकेको चौधरीले बताए ।

उनका अनुसार वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिहरुलाई माघ २८ गते प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
जिल्लामा सञ्चालित ९ वटा एफएम मार्फत भोजपुरी र नेपाली दुवै भाषमा स्वास्थ्य बीमा कार्यक्रमको जिङगल प्रशारण भइरहेको नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले बताए ।

बीमाका लागि स्थानीय वडाबाट छनौट भएर आएका दर्ता सहयोगीहरुले घरदैलोमै आएर फोटो भएको परिचयपत्र हेरेर दर्ता गर्नेछन् ।

सरकारले उपलब्ध गराएको गरीबीको परिचय पत्र भएकाहरुले योगदान रकममा पनि छुट पाउनेछन् ।

अति गरिबलाई निःशुल्क बीमा गराइनेछ भने गरीबलाई ७५ प्रतिशत र सीमान्तकृत गरीबलाई योगदान रकममा ५० प्रतिशत छुट पाउनेछन् ।

किन गर्ने स्वास्थ्य बीमा ?

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लगि स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति लिइएको छ । कार्यक्रम मार्फत नागरिकले चेकजाँच मात्रै नभएर तोकिएका ९ सय २८ प्रकारका औषधि निःशुल्क पाउनेछन् ।

योगदानमा आधारित स्वास्थ्य जोखिमको अगि्रम व्यवस्थापन गर्ने अवधारणा अनुरुप कार्यक्रम अन्र्तगत ५ जनासम्मको परिवारले वाषिर्क रुपमा २ हजार ५ सय रुपैयाँ तिरेपछि आवश्यक पर्दा ५० हजारसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् ।

एक परिवारले दैनिक ७ रुपैयाँ जम्मा गर्दा एक वर्षका लागि तोकिएको योगदान रकम बराबर हुन आउँछ ।

५ जना भन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि ४ सय २५ रुपैयाँका दरले थप रकम तिर्नुपर्ने हुन्छ र प्रति थप सदस्य १० हजार रुपैयाँ थैलोमा थपिनेछ । यसको सीमा १० लाखम्म छ । आवश्यक परेको समयमा एकै सदस्यले पनि तोकिएको सबै सेवा सुविधा उपभोग गर्न पाउने नियम छ ।

कुन-कुन सेवा पाइन्छ ?

तोकिएको सेवा प्रदायक संस्थाबाट बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान हुने सेवाहरु प्राप्त गर्न सकिने छ ।

यस्तै कार्यक्रमले तोकेको निदानात्मक र परीक्षण सेवाहरु, ४० वर्ष माथिका सदस्यहरुले नजिकको स्वास्थ्य संस्थाबाट वर्षर्को एक पटक अतिरिक्त सेवाको रुपमा स्वास्थ्य जोखिम परीक्षण सेवा पनि प्राप्त गर्नेछन् ।

चेकजाँच, प्रयोगशाला, औषधि र शल्यक्रियासम्मका सुविधा र रोजेको स्वास्थ्य संस्थामा उपचार सेवा दिइने छ ।

सेवा विस्तार गर्ने तयारी

स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्दै योगदान रकम र सेवा रकम बढाउने तयारी भइरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

पाँच जनाको परिवारका लागि योगदान रकम २५०० बाट बढाएर ३५ सय पुर्‍याउने र आवश्यक पर्दा १ लाख रुपैयाँसम्मको सेवा लिन पाउने व्यवस्था मिलाउने तयारी भइरहेको व्यवस्थापक चौधरीले बताए ।

त्यस्तैगरी सरकारी कर्मचारी र वैदेशिक रोजगारीमा जाने व्यक्तिको परिवारका सदस्यलाई अनिवार्य बीमा गराउनुपर्ने व्यवस्था ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment