Comments Add Comment

वर्षदिनदेखि रोकिएको त्रिभुवन विमानस्थल विस्तार शुरु

तीन खण्डमा विभाजन गरेर लगाइयो ठेक्का

२३ माघ, काठमाडौं । वर्षदिनयता रोकिएको त्रिभुवन विमानस्थलको विस्तार पुनः शुरु भएको छ ।

स्पेनको कम्पनी सान्जोसेले समयमा काम नथालेकाले सरकारले डिसेम्बर २०१६ मा ठेक्का तोडेको थियो ।

एउटै कम्पनीलाई जिम्मा दिँदा काम प्रभावित भएपछि नागरिक उड्डयन प्राधिकरणले यसपालि तीन भागमा बाँडेर ठेक्का दिएको छ । एनसीबी-०१ अर्थात् विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का ‘चाइना सांगी कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ’ले पाएको छ । ५६ करोड १८ लाख रुपैयाँमा धावनमार्ग विस्तारको जिम्मा दिइएको हो ।

सान्जोसेले विमानस्थल विस्तारको १८ प्रतिशत काम मात्र सकेको थियो । बाँकी काम सक्न प्राधिकरणले नयाँ ठेक्का लगाएको हो । ठेक्का सम्झौता भएको अढाइ महिनापछि चिनियाँ कम्पनीले भौतिकतर्फको काम थालेको छ ।

यस्तै, एनसीबी-०२ अर्थात् विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तारको जिम्मा नेपाली कम्पनी ‘शर्मा प्रेरा आसिसल’ले पाएको छ । त्यसको लागत ८७ करोड आठ लाख रुपैयाँ छ ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार दुवै कम्पनीले काम थालेका छन् । दुवैलाई १८ महिनाको समय दिइएको छ ।

एनसीबी-०३ अर्थात् जेनेरेटर इन्स्टलेसनका साथै बत्तिहरु जडानको जिम्मा नेपाली कम्पनी ‘आशिष एन्ड प्रेरा जोइन्ट भेन्चर’ले पाएको छ । त्यसको लागत २१ करोड ७२ लाख रुपैयाँ छ ।

उक्त आयोजनामा एसियाली विकास बैंकको सहयोग छ । कुल ८० लाख अमेरिकी डलरको आयोजनामा ७० लाख ऋण र १० लाख अनुदान हो ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जहाजहरुको चाप छ । दिनानुदिन चाप बढ्दै गर्दा अहिले जहाजहरुलाई आकाशमै ‘होल्ड’ गर्नुपर्ने बाध्यता छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार पर्यटकीय मौसममा जहाजहरु होल्ड हुने समस्या अझ बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment