Comments Add Comment

आजको पत्रिकाः सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, २०२२ सम्ममा रेल्वे लिंक काठमाडौं आइपुग्ला ?

सम्बन्धन अनियमितता: ४३ लाई कारबाही सिफारिस


२४ माघ, काठमाडौं । आज बुधबार, राजधानीबाट प्रकाशित अखबारहरुले विविध विषयहरुलाई समाचार बनाएर छापेका छन् । यद्यपि, पहिलो पृष्ठमा छापिएका केही समाचारहरुमा समानता छ ।

आज हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको विषयलाई कान्तिपुरबाहेकका सबै दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् । अन्नपूर्ण पोस्ट, नागरिक र राजधानी दैनिकले यसलाई मुख्य समाचार नै बनाएका छन् भने नयाँ पत्रिकाले पनि पहिलो पृष्ठमा समेटेको छ । कान्तिपुरले भने यो समाचारलाई चौथो पृष्ठमा लेखेको छ ।

सर्वोच्च अदालतले अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्र बैंकका नाममा मंगलबार जारी गरेको अन्तरिम आदेशलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर समाचार लेखेका छन् । राष्ट्र बैंकले लामो समयदेखि व्यवसायी सुमार्गीले स्याटेलाइटको नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो । सर्वोच्चको आदेशपछि उनले उक्त रकम निकाल्न पाउने भएका छन् ।

केरुङबाट काठमाडौं रेल ल्याउने चर्चा लामो समयदेखि हुँदै आएको छ । अब भने सिगात्सेबाट केरुङसम्म रेल ल्याउने काम सुरु हुन लागेकाे छ ।  केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । उसले आठ महिनापछि भारतीय रेलमार्ग नेपालमा जोडिन लागेको समाचारलाई पनि लेखेको छ ।

यसका अतिरिक्त धुर्मुस सुन्तलीले निर्माण गरेको नमूना सन्तपुर मुसहर बस्ती राष्ट्रपतिले मंगलबार हस्तान्तरण गरेको, सम्बन्धन अनियमिततामा ४३ लाई कारबाही सिफारिस गरिएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरूले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

कहिले आउला चिनियाँ रेल ?

चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्ने समाचार आजको नयाँ पत्रिकामा छ ।

चिनियाँ योजनाअनुसार २०२० सम्म सीमावर्ती तिब्बती सहर केरुङसम्म रेल आइपुग्नेछ । त्यसपछिका दुई वर्ष अर्थात् सन् २०२२ मा रेल्वे लिंक काठमाडौंसम्म जोड्न सकिने चिनियाँ विज्ञले बताउँदै आएका छन् ।

समाचार अनुसार चालू आर्थिक वर्ष ०७४–७५ मै नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्यन अघि बढाइने भएको छ । चालू आवको बजेटमा विनियोजित पाँच करोड रुपैयाँले सम्भाव्यता अध्ययनको थालनी गर्ने तयारीमा रेल विभाग पुगेको महानिर्देशक अनन्त आचार्यले नयाँ पत्रिकालाई बताएका छन् ।

काठमाडौंदेखि केरुङसम्मको अनुमानित सय किलोमिटर लामो रेलमार्ग निर्माणका लागि २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गरेका चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीहरुले सो अनुमान गरेका हुन् । समाचार अनुसार नेपाल–चीन जोड्ने रेल प्रतिघन्टा १२० देखि १६० किलोमिटर गतिमा गुड्नेछ ।

चिनियाँ रेल नेपाल भित्रिन केही समय लाग्ने देखिए पनि भारतीय रेल भने अबको आठ महिनापछि नेपालमा जोडिँदै छ ।

नयाँ पत्रिका दैनिकका अनुसार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ ।

सम्बन्धन अनियमितता: ४३ लाई कारबाही सिफारिस

मेडिकल कलेज सम्बन्धन र सिट निर्धारण अनियमिततामा मुछिएका ४३ जनालाई कारबाही सिफारिस गरिएको समाचार कान्तिपुर दैनिकले छापेको छ । समाचार अनुसार अख्तियारका विवादास्पद तत्कालीन प्रमुखदेखि विभिन्न विश्वविद्यालयका चार उपकुलपति र अन्य पदाधिकारी कारबाही सिफारिसमा परेका छन् ।

काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा र नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोपमा अख्तियारको विवादास्पद पूर्वप्रमुख लोकमानसिंह कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी सफारिस गरिएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुलाई सचेन गराउन भनिएको छ ।

कान्तिपुरका अनुसार त्रिभुवन विश्वविद्यालयको पूर्वउपकुलपति हीराबहादुर महर्जन भविष्यमा सरकारी पदका लागि अयोग्य भनी सिफािरसमा परेका छन् ।

फोरमले मानेन राजपाको आलोपालो प्रस्ताव


राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच प्रदेश २ मा मिलेर सरकार बनाउने सहमति भए पनि मुख्यमन्त्री आलोपालो गर्ने विषयमा सहमति हुन सकेको छैन ।

राजधानी दैनिकका अनुसार, प्रदेश सरकार निर्माणक लागि दुई दलका बीचमा जनकपुरमा भएको छलफलमा सिट बाँडफाँट हुन सकेन । बैठकमा राजपा नेपालले प्रदेश सरकार निर्माण गर्दा मुख्यमन्त्री दुवै पार्टीले आलापालो गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

समाचार अनुसार फोरमले भने मुख्यमन्त्रीमा आफ्नो एकल दाबी प्रस्तुत गरिसकेको छ । फोरम नेपालकी उपाध्यक्ष उवं प्रदेश २ की संयोजक रेणु यादवले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपाबाट आए पनि कुनै सहमति हुन नसकेको राजधानीसँग बताएकी छन् ।

बालिका बलात्कार महिना दिनसम्म गुपचुप

बलात्कार घटना प्रशासनकै मिलेमतोमा गुपचुप राखिएको एकपछि अर्का घटना सार्वजनिक भइरहेका बेला भक्तपुरमा बालिका बलात्कृत भएको घटना प्रकाशमा आएको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार भक्तपुरमा बालिका बतात्कार भएको विषय महिना दिनपछि सार्वजनिक भएको छ ।

‘बालिका बलात्कार महिना दिनसम्म गुपचुप’ शीर्षकमा अन्नपूर्णले लेखेको छ– भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) बलात्कृत भएकी हुन् । तर, यो घटना एक महिनापछि प्रकाशमा आएको छ ।

राष्ट्रियसभा सांसदको पदावधि गोलाप्रथाद्वारा

राष्ट्रियसभाका निर्वाचित सांसदहरु कति अवधिका लागि हुने भन्ने गोलाप्रथाद्वारा किटानी गरिनेछ । संधिवानको धारा ८६ मा राष्ट्रियसभा सदस्यको पदावधिबारे उल्लेख छ । उक्त धारामा राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने उल्लेख भए पनि एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने स्पष्ट गरेको छ ।

अन्नपूर्ण पोसट दैनिकका अनुासर, पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षको हुने गरी पदावधि कायम हुनेछ ।

विवाह गर्ने वाचा तोडेपछि बलात्कार मुद्दा !

विवाह गर्ने वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार गप्ताले २२ वर्षीय युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि गुप्तालाई प्रहरीले पक्राउ गरेको र उनी अहिले विशालबजारस्थित प्रहरी वृत्तको जनसेवाको हिरासतमा रहेको समाचारमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने घटे, विप्रेषण प्रभावित


नेपाल आउने विप्रेषणको प्रमुख स्रोतका रुपमा रहेको वैदेशिक रोजगारमा आएको गिरावटले विप्रेषण आयातमा असर परेको छ । वैदेशिक रोजगारीमा आएको गिरावटसँगै विप्रेषण आयात वृद्धिदर खस्किएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रुपमा रहेको (रेमिटेन्स) विप्रेषण चालू आवको पहिलो पाँच महिनामा ०.८ प्रतिशतले वृद्धि भएको छ । आव ०६८–०६९ मा विप्रेषण वृद्धिदर ४१.९ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment