Comments Add Comment

कलंकीपछि नयाँबानेश्वर र महाराजगञ्जमा पनि अन्डरपास

चार वर्षभित्रै निर्माण सक्ने सरकारी तयारी


२४ माघ, काठमाडौं । अत्यधिक सवारी चाप रहने कलंकीमा अन्डरपास निर्माण अन्तिम चरणमा पुग्दै गर्दा सरकारले थप दुई ठाउँमा पनि सम्भाव्यता अध्ययन थालेको छ ।

कलंकीजस्तै सवारी चाप रहने महाराजगञ्ज र नयाँबानेश्वरमा पनि सुरुङमार्ग निर्माणको योजना अगाडि बढेको हो । सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भएको छ ।

यसअघि दुवै स्थानमा फ्लाइओभर निर्माण गरेर सवारी व्यवस्थापन मिलाउने सरकारी योजना थियो । काठमाडौं–भक्तपुर ६ लेन सडकको एक मुख्य खण्ड हो, नयाँबानेश्वर चोक । र, चक्रपथमा पर्ने महाराजगञ्ज सडकलाई पनि आठ लेनको बनाउने योजना छ ।

सडक विस्तारसँगै फ्लाइओभर निर्माण असम्भव भएकाले अन्डरपासको योजना अगाडि सारिएको सडक विभागको भनाइ छ ।

विभागका उपमहानिर्देशक अर्जुनजंग थापाका अनुसार चार वर्षभित्र अन्डरपास नै तयार पारिसक्ने सोचअनुसार अध्ययन गर्न लागिएको हो । र, सम्भाव्यता अध्ययन १० महिनामा सक्ने योजना छ ।

‘काठमाडौंको जाम हटाउन सडक विस्तारसँगै अन्डरपासहरुको निर्माण गर्नुपर्ने देखियो, त्यसैले अहिलेलाई दुई स्थानमा अध्ययन गर्न लागिएको हो,’ थापाले भने ।

नयाँबानेश्वरमा कोटेश्वर, तीनकुने, रत्नपार्क, शंखमुल, पुरानोबानेश्वर र अनामनगर आउजाउ गर्ने सवारीसाधनको चाप रहन्छ । महाराजगञ्जमा चक्रपथ, लाजिम्पाट, बालुवाटार, बूढानीलकण्ठ आउजाउ गर्ने सवारी साधनले जाममा फस्नुपर्छ ।

नयाँबानेश्वरमा बन्ने अन्डरपासका कारण पुरानोबानेश्वर, शंखमुल, कोेटेश्वर र बबरमहलतर्फ आउजाउ गर्ने सवारी साधनले जाममा फस्नु पर्दैन । महाराजगञ्जको अन्डरपासले लाजिम्पाट, बूढानीलकण्ठ आउजाउ गर्ने सवारी पनि ट्राफिक जामबाट मुक्त हुनेछन् ।

दुवै सुरुङमार्ग स्वदेशी लगानीमै निर्माण गर्ने विभागको योजना छ । तर, महाराजगञ्जको अन्डरपासका लागि चिनियाँ पक्षले पनि चासो देखाएको छ ।

कलंकीको अन्डरपास चिनियाँ लगानी र कम्पनीबाटै निर्माणाधीन छ । २७ दशमलव दुई किलोमिटरको चक्रपथको विस्तारमा पनि चीन संलग्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment