+
+

कम सुत्दा हृदयघातको खतरा ! यस्तो छ निद्रा र स्वास्थ्यको सम्वन्ध

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १०:३८

स्वस्थ्य जीवनका लागि खाना, पानी, हावा जति अपरिहार्य छ, उत्तिनै आरम पनि । आरम गर्ने अवस्था प्राकृतिक रुपमै मिल्छ । खासगरी रातको समय शरीरले विश्राम गर्ने हो । यतिबेला हामी निदाउँछौं ।

भनिन्छ, दैनिक ७ देखि ८ घण्टासम्म मस्त सुत्नुपर्छ । तर, हामी चाहेर पनि सुत्न सकिरहेका छैनौं । निदाउन सकिरहेका छैनौं । किन ?

यसमा हाम्रो शारीरिक तथा मानसिक कारण छन् । जब हामी शारीरिक र मानसिक रुपले रोगी हुन्छौं, हाम्रो निन्द्रा भाग्छ । जबकी स्वस्थ्य जीवनका लागि निन्द्रा अपरिहार्य हुन्छ ।

हाम्रो मन–मस्तिष्कलाई ताजा राख्नका लागि पर्याप्त निद्राको ठूलो महत्व छ । गहिरो निद्रामा हुँदा हाम्रो शरीरले विषाक्त पदार्थहरुलाई सफा गर्ने काम गर्छ, जसले गर्दा सुतेर उठ्दा हामी हल्का महसुस गर्छौं ।

राम्रो निद्रा हाम्रो छाला लागि पनि अति आवश्यक हुन्छ । राम्ररी नसुत्दा यसको पहिलो असर छालामा नै देखिन्छ । आँखामुनि कालो घेराले निद्रा पुरा नभएको संकेत दिन्छ ।

मानसिक असन्तुलन

निद्रा राम्रो परेन भने हाम्रो मानसिक अवस्थामा असर गर्छ । लगातार धेरै दिनसम्म यस्तो भयो भने ‘मुड डिसअर्डर’ को शिकार हुने खतरा हुन्छ । जब हामी सुत्छौं, त्यतिबेला हामी आफ्नो भावनात्मक सूचनाहरुलाई प्रसोधन गरिरहेका हुन्छौं । यसले गर्दा यी सुचनाहरु स्मरणका रुपमा हाम्रो मस्तिष्कमा स्टोर हुन्छन् ।

हाम्रो निद्रा पुरा नभएको अवस्थामा यो प्रक्रिया गडबड हुन्छ र मुड डिस्अर्डर तथा अन्य भावनात्मक समस्याहरुले हामीलाई सताउँछ । अर्थात्, निद्राको कमिले हाम्रो मानसिक अवस्थामा असर गर्छ ।

मधुमेहको खतरा

जब हामी राम्ररी निदाउँदैनौं, त्यतिबेला जानेर–नजानेर जंक फुड तथा चिनीको अधिकता भएका खाद्यपदार्थ बढि मात्रामा सेवन गरिरहेका हुन्छौं । यसबाट हामी डाइबिटिज जस्ता जीवनशैलीसँग जोडिएका रोगहरुलाई निमन्त्रणा गर्न पुग्छौं ।

स्मरणशक्ति ह्रास

धेरै अनुसन्धानबाट पुष्टि भइसकेको छ कि निद्रा पुरा नहुँदा हाम्रो स्मरणशक्ति कमजोर हुन्छ । गहिरो निद्रामा रहेको बेला हाम्रो दिमागले आफूलाई ‘रि–सेट’ गर्छ । निद्रा पुरा नहुँदा दिमागको यो प्रक्रियामा बाधा पुग्छ ।

निद्राको कमीले तन्तुहरुमा क्षति पुग्छ र तिनीहरुको कार्यक्षमता प्रभावित हुन्छ । यसले अन्तत: हाम्रो स्मरणशक्तिलाई हानी पुर्‍याउँछ । लामो समयसम्म भरपुर निद्रा लिइएको छैन भने अल्जाइमर जस्तो बिमारीको चंगुलमा पर्न सकिन्छ ।

मोटोपना बढ्न सक्ने

राति अबेरसम्म निद्रा लागेन भने बिहान समयमा उठ्न सकिदैन । यस्तो अवस्थामा खानपानको सेडय्ूल प्रभावित बन्छ । निद्रा पुरा नभएको बेलामा हाई क्यालोरीको खानेकुरा खान मन लाग्छ । अध्ययनहरुले देखाएका छन् कि बिहान ढिला उठ्ने व्यक्तिहरु बिहानै करिब ६ सय ७० क्यालोरीभन्दा बढि खाइदिन्छन् । यति मात्र होइन, निद्राको कमिले गर्दा शरीरको वजनलाई नियन्त्रण गर्ने लेप्टिन नामक हार्मोन्को स्तर कम हुन्छ र मोटोपना तीव्ररुपमा बढ्छ ।

दिनभर थकान

राति रामरी सुतिएन भने शरीरमा थकान पैदा गर्ने केमिकलको उत्पादन बढ्छ । शरीरको अंग शिथिल भएको महसुस हुन्छ । दिनभरी नै थकाई लाग्छ । बारम्बार हाई आउँछ । आँखा दुख्ने, टाउको भारी हुने, भोक नलाग्ने, काममा मन नलाग्ने, पेट सफा नहुने जस्ता थुप्रै समस्याहरु उत्पन्न हुन सक्छन् ।

हृदयघातलाई निम्तो

पर्याप्त रुपमा शरीरलाई आराम नमिलेको खण्डमा शरीरमा खराब कोलस्ट्रोलको मात्रा बढ्छ । यसले गर्दा उच्च रक्तचापको समस्या उत्पन्न हुन सक्छ । पछि गएर हार्ट अट्याक, हार्ट फेलियर र अनियमित धड्कनको खतरा पनि उत्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?