Comments Add Comment

सलमानसँग सित्तैमा नाच्न नेपाली नायिकालाई अफर !


बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँदैछन् । मार्च १० मा आयोजना हुन लागेको ‘दबंग टुर’मा उनी आफ्नो टिमसहित नेपाल आउँदैछन् । सलमानको यो शो हेर्नका लागि ५० हजार दर्शक हुने अपेक्षा आयोजक ओडीसी गुप्रले गरेको छ ।

तर, यो शोका लागि नेपाली चलचित्रका चर्चित नायिकाहरुलाई सित्तैमा कोरस नृत्यका लागि प्रस्ताव गरिएको दाबी गरे । जुन, प्रस्तावलाई नेपाली नायिकाहरुले अस्विकार गरेको बताए । यसै सन्दर्भमा अनलाइनखबरले आयोजक ओडीसी नेपालसँग सम्पर्क गर्दा ‘कुनैपनि कलाकारलाई निशुल्क रुपमा नृत्यको लागि प्रस्ताव नगरिएको’ जिकिर गरे ।

नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिसा राइलाई सलमानसँग कोरस नाच्नका लागि अफर गरिएको ति अभिनेत्रीहरुले बताए । सेलेब्स म्यानेजमेन्ट कम्पनीले यो कार्यक्रमको लागि नेपाली सेलिब्रेटीको व्यवस्थापन मिलाउनेे जिम्मा लिएको छ ।

वुझिएअनुसार ८ जना नायिकालाई यो अफर गरिएको थियो । जसमा,४-४ जनाले पृष्ठभूमीमा नाचेर सलमानलाई साथ दिनुपर्नेछ । नायिका स्वस्तिमा खड्काले अनलाइनखबरसँग भनिन्-‘हामीलाई निकै तल्लो स्तरको व्यवहार गरियो । सलमानको शो भनेपछि नेपाली नायिकाहरु त्यसै दौडिएर आउँछन् भन्ने वुझाई आयोजकमा रहेछ ।’

स्वस्तिमाले आफूले कोरस नाच्न अस्वीकार गरेको बताइन् । स्वस्तिमाले भनिन्-‘हामीले कोरस नाँच्दैनौ, सिंगल गीतमा हो भने नाच्छौं भनेपछि २५ जना कोरस, उनीहरुको ड्रेस र उनीहरुलाई पारिश्रमिकको व्यवस्था पनि हामी आफैले गर्नुपर्ने भनियो । जुन स्वीकार गर्न सक्ने कुरै थिएन ।’

स्वस्तिमा अनुसार, आयोजकले सलमान ६ बजे स्टेजमा उक्लनेे तर ११ बजेबाट फिलरका रुपमा नाच्न प्रस्ताव गरेको थियो । स्वस्तिमाले सलमानले नेपाली गीतमा नाच्ने हो भने उनको साथमा नाच्न आफू तयार भएको जवाफ दिएको बताइन् । तर, नेपाली नायिकाहरुलाई आयोजकले सलमानसँग हिन्दी गीतमा कोरसको रुपमा नाच्न अफर गरेको हो ।

नायिका प्रियंका कार्कीले पनि आयोजकलाई ‘सलमान आफ्नो ठाउँमा चर्चित होलान्, नेपालमा हाम्रो आफ्नै स्थान र इज्जत छ’ भन्दै आयोजकलाई जवाफ दिएको वुझिएको छ ।

नेपाली कलाकारलाई निशुल्क अफर गरेका छैनौं
‘सलमान दबंग टुर’ को आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले भने कुनैपनि कलाकार्मीलाई निशुल्क रुपमा पर्फमेन्सको लागि अफर नगरिएको दाबी गरेको छ । ओडीसीका सिइओ सिमान्त गुरुङले भने, ‘हामीले नेपाली कलाकारलाई सित्तैमा काम लगाउने भन्ने कुरै छैन । सबैलाई उचित पारिश्रमिक दिने हो ।’

कार्यक्रमले नेपाली पर्यटन प्रवर्द्धनमै सघाउने भएकाले यसका लागि सबैले एक ढिक्का भएर सहयोग गर्नुपर्ने चाहि आफ्नो आशय रहेको गुरुङको भनाई छ । उनले थपे, ‘यो कार्यक्रम समग्र नेपालकै लागि हो । यसमा नेपाली कलाकर्मीलाई अपहेलना गर्ने भन्ने कुरा आउँदैन । हामी सबैको उचित सम्मान गर्छौं ।’

ओडीसी इन्टरटेनमेन्टले नेपाली कलाकर्मीसँग सहकार्यका लागि भने छुटै संस्थालाई जिम्मा दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment