Comments Add Comment

भूकम्पपीडितले दोस्रो किस्ता पाउने म्याद थपियो

२६ माघ, काठमाडौं । सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो ।

दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले आगामी चैत मसान्तसम्म दोस्रो किस्ताको रकम लिन सक्नेछन् । यसअघि अघिल्लो वर्ष पुस मसान्तसम्म पहिलो किस्ता बुझेका लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने यस्तो म्याद पुस मसान्तसम्म तोकिएको थियो ।

दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै लाभग्राही छुट्ने स्थिति भएपछि प्राधिकरणले म्याद थप गरेको सीईओ युवराज भुसालले बताए । तेस्रो किस्ताको अनुदान वितरणको अवधि भने साविककै असार मसान्तसम्म कायम छ ।

प्राधिकरणका अनुसार हालसम्म पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार पाँच सय ७७ छ । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका घर संख्या दुई लाख ३३ हजार ६ सय ७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार पाँच सय ७७ मात्र छ ।

हालसम्म प्राधिकरणको अनुदान लाभग्राहीको सूचीमा सात लाख ६७ हजार सात सय पाँच भूकम्पपीडित छन् । त्यसमा ५ लाख ८४ हजार चार सय ६८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

हालसम्म करीव एक लाख भूकम्पपीडितको घर बनिसकेको प्राधिकरणको तथ्यांक छ । आगामी असार मसान्तसम्म साढे चार लाख घर पुनर्निर्माण गर्ने लक्ष्य प्राधिकरणको छ ।

निर्देशक समितिको शुक्रवारको बैठकमा प्रधानमन्त्री देउवाले पुनर्निर्माणको कामलाई तिब्रता दिन निर्देशन दिएको सीईओ भुसालले बताए ।

यो पनि पढ्नुहोस् 

बालुवाटारमा अर्थमन्त्री र एमाले नेता रावलबीच पाखुरा सुर्कासुर्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment