२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
चुनावअघिदेखि नै उपाध्यक्ष एवं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर, मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि दलको नेता छान्न चुनाव भयो, जसमा पौडेलले बाजी मारे ।
प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । जसमध्ये ३४ मत पौडेलले पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।
मुख्यमन्त्रीका अर्का दाबेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । अर्का दाबेदार केशव स्थापित, पौडेलको प्रस्तावक बसे भने सानु श्रेष्ठलाई सभामुख बनाउने सहमति संस्थापन गुटले गरेको थियो ।
दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए ।
प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।
प्रतिक्रिया 4