Comments Add Comment

पोखरामा कराँते प्रशिक्षण भवन बन्ने

२६ माघ, पोखरा । पोखरामा कराँते प्रशिक्षण भवन थपिने भएको छ । कराँते खेलको विकासका लागि अमेरिकाको न्यू-योर्कस्थित हिमालयन फाउण्डेसनको सहयोगमा नेपाल सितोरियो सेईको-काई कराँते संघ कास्कीले कराँते प्रशिक्षण भवन बनाउने भएको हो । यसअघी पोखरा रंगशालामा कराँते प्रशिक्षण भवन थियो ।

संघले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ चाउथे चोकबाट केही तल देउराली मार्गमा ७ आना जग्गामा कराँते प्रशिक्षण भवन बनाउन लागेको संघका संस्थापक तथा कराँते प्रशिक्षक फत्तबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार जग्गा १० वर्षका लागि लिजमा लिइएको छ । भवन एक तले हुनेछ भने सो भवन एकैपटक ५० जना खेलाडी खेल्न सक्ने क्षमताको हुने गुरुङले बताए । पछि तला थप्न मिल्ने गरी ढलान भवन बनाईने उनको भनाइ छ ।

यसैबीच, कराँते प्रशिक्षण भवन निर्माणका लागि हिमालयन फाउण्डेसन अमेरिका क्यालिफोर्नियाले ३० लाख प्रदान गरेको छ ।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका संस्थापक तथा पूर्व कराँते खेलाडी यज्ञलाल श्रेष्ठले संघका अध्यक्ष सुष्मा गुरुङलाई सो रकम बराबरको डमी चेक तथा चेक हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण पछि बोल्दै हिमालयन फाउण्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले खेलाडीले पानीमा भिज्दै प्रशिक्षण लिन र खेल्न नपरोस् भन्ने उद्धेश्यले सहयोग गरेको बताए ।

संस्थाको पाचौं प्रोजेक्ट अन्तर्गत पोखरामा सहयोग गर्न आएको र यसअघी आफू पढेको विद्यालय, भुकम्प पीडित लगायतलाई सहयोग गरेको जानकारी दिए ।

यस प्रोजेक्टमा आफ्नो संस्थाबाट १५ लाख र अमेरिका बस्ने आफ्ना साथीहरुबाट १५ लाख गरी ३० लाख रुपैयाँ सहयोग गरेको उनले प्रष्ट्याए ।

संघका अध्यक्ष सुष्मा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेन्द्र गुरुङले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment