Comments Add Comment

आजको अखबारः प्रधानन्यायाधीशका चार थरी जन्ममिति, प्रदेश सांसदलाई किस्तामा घडेरी

राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च

२७ माघ, काठमाडौं । आज शनिबार भएकाले सबैजसो पत्रिकाहरुले शनिबारीय अंक प्रकाशित गरेका छन् । त्यससँगै फरक फरक समाचारहरुले पहिलो पृष्ठमा स्थान पाएका छन् ।

दोहोरो नागरिकता लिएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश गोपाल पराजुलीका चार थरी जन्ममिति सरकारी अभिलेखमा फेला परेको, राष्ट्रियसभामा तीन सदस्य सरकारले सिफारिस गरेको लगायतका समाचारहरु आजका पत्रिकामा छन् ।

प्रधानन्याधीश पराजुलीका चार थरी जन्ममिति

सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको विषयलाई कान्तिपुर दैनिकले तस्वीरसहित छापेको छ ।

न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि उनले बिभिन्न निकायमा पेस गरेका फरक फरक चार थरी जन्ममिति फेला परेका समाचारमा उल्लेख छ ।

समाचारअनुसार न्यायपरिषदका बुलेटिनहरुमा पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । २०७० साल र त्यसअघिको न्यायपरिषद बुलेटिनमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ ।

यसैगरी २०५८ सालमा प्रकाशित न्यायपरिषद बुलेटिनमा तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीको जन्ममिति २०१० बैशाख १३ गते उल्लेख छ । पुनरावेदन अदालतका न्यायाधीशहरुको क्रमसंख्या २९ उल्लेख गरी पृष्ठ १४ मा उनको जन्ममिति र सेवा प्रवेशको मिति उल्लेख छ ।

पराजुलीको तेस्रो जन्ममिति २०१० बैशाख १६ गते हो । २०६७ कात्तिक २५ मा पेस गरेको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पराजुलीले प्रतिलिपि नागरिकता लिए । त्यसमा जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । शैक्षिक प्रमाणपत्रमा आधारित भएर उनले प्रतिलिपि नागरिकता पाऊँ भनि दिएको निवेदनको आधारमा काठमाडौं जिल्ला प्रशासनले अभिलेखकै विवरण सच्याएर प्रतिलिपि नागरिकता जारी गरेको थियो । ‘जिल्ला प्रशासन कार्यालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘प्रतिलिपि नागरिकता लिँदा पुरानो अभिलेख फरक पार्न पाइँदैन । उहाँको हकमा फरक परेको देखियो ।’

पराजुलीको चौथो जन्ममिति हो २०११ साल बैशाख १३ गते । नेपाल ल क्याम्पसबाट जारी भएका शैक्षिक प्रमाणपत्रमा प्रधान्याधीश पराजुलीको जन्ममिति उनले दावी गरेअनुसारकै देखिन्छ । तर, प्रवेशिकाको मार्कसिटमा २०११ बैशाख १३ गते उल्लेख छ । उनको प्रवेशिका मार्कसिट सार्वजनिक भए पनि जन्ममिति उल्लेख हुने चारित्रिक प्रमाणपत्र सार्वजनिक भएको छैन । उनले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको मार्कसिट न्यायपरिषदमा परे पनि त्यहाँबाट प्राप्त हुनुपर्ने चारित्रिक प्रमाणपत्र पेस गरेका छैनन् ।

राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च

सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंकी चाँदनी जोशी र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई सिफारिस गरेको समाचारमा उल्लेख छ ।

सिफारिसमा परेका बस्नेत कांग्रेस विभाजित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति थिए ।

यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभाकालागि निर्वाचनबाट हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना चुनिन्छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको समाचारमा उल्लेख छ ।

प्रदेश सांसदलाई किस्तामा घडेरी

नेपाल समाचार पत्र दैनिक
का अनुसार प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेको समाचार छ ।

हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको समाचारमा उल्लेख छ ।

सांकेतिक तस्वीर

 

उपमहानगरका मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरुलाई घडेरी दिने निर्णय भएको हो । हेटौंडा-८, कमानेमा रहेको सात बिघा जग्गामध्ये प्रदेश सांसदहरुलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ ।

यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइने छैन । मकवानपुरबाहेकका प्रदेश सांसदहरुलाई दश धुर -आधा कठ्ठा)को दरले घडेरी दिइने मेयर महतले जानकारी दिएका छन् । यस्तै प्रदेश सांसदहरुलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराइने छ ।

जातीय विभेदको शिकार बने शिक्षकः जागिर खोसियो, घर जलाइयो

नयाँ पत्रिका दैनिकमा जातीय भेदभाव गर्दै बैतडीका एक शिक्षक दम्पतीको जागिर खोसिएको र घर जलाइदिएर गाउँ निकाला गरिदिएको कारुणिक समाचार छ ।

नेपालको संविधानले जातीय विभेदलाई अपराध माने पनि बैतडीको शिवनाथ गाउँपालिका-६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ ।

यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् ।

करनले नयाँपत्रिकासँग भनेका छन्, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’

किशोरीका बुवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’

प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ ।

ऊर्जाबिनै १२० मिटर तलको पानी बस्तीमा

बिनाऊर्जा पानी १ सय मिटर माथि चढ्छभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य सावित भएको छ ।

राजधानी दैनिकका अनुसार भोजपुरको नगरपालिकाको सुन्तलेमा बिनाऊर्जा मुहानबाट उकालो पानी निकालिएको छ । जसको शुक्रबार सफल परीक्षणसमेत भएको छ ।

इन्जिनियर एकराज भट्टराई आफैंले उपकरण तयार गरी पानीलाई लिफ्ट गरेर एक सय मिटरमाथि बस्तीसम्म निकालेका हुन् । पानी माथि तान्न उनले इन्धन प्रयोग गरेका छैनन् ।

पानीलाई मुहान रहेको स्थानबाट २० मिटर तल खसाएर त्यसलाई पनुः १२० मिटर माथि निकालिएको छ । सुन्तले बजारको पानी अभाव क मगर्न इन्जिनियर भट्टराईले हाइड्रोलिक र्याम्पको प्रयोग गरी पानीलाई वस्तीसम्म पुर्याएको राजधानीको समाचारमा उल्लेख छ ।

र यो पनि– आर्यघाटमा पनि कमिसन !


नागरिक दैनिकले आज पशुपति आर्यघाटमा पनि कमिसनको खेल हुने गरेको समाचार लेखेको छ ।

समाचार अनुसार, पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामग्री पशुपति क्षेत्र विकास कोषले तोकेका पसलमा किन्नुपर्ने बाध्यता छ । दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामग्री चाहिन्छ । कोषका कर्मचारीले यी सामग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ ।

शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् । शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो । पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएका सामानको मूल्यअनुसार कमिसन लिने गरेको समाचारमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment