Comments Add Comment

बजारमा नयाँ सरकारको अपेक्षाः १४ सयकै वरिपरि घुम्दै नेप्से


२७ माघ, काठमाडौं । नेप्से परिसूचक सातागत आधारमा २२ दशमलव ४७ अंकले घटेको छ । अघिल्लो साताको बिहीबार १४ सय चार विन्दुमा थियो भने यस साता अन्तिम दिन १३ सय ८२ विन्दुमा आइपुगेको छ ।

साताको पाँचै दिन बजार खुल्यो, कारोबार रकममा १३ प्रतिशतले वृद्धि देखियो । सातामा एक अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भयो ।

फागुन पहिलो साता सरकार निर्माण हुन सक्ने सम्भावनाका कारण बजार सकारात्मक दिशामा देखिएको विश्लेषकहरुको भनाइ छ । साताको मध्यमा बजारमा लगानी घट्दो क्रममा देखिएको थियो, अन्तिम दिनमा भने केही वृद्धि देखियो ।

यद्यपि, कारोबार करिब २७ करोड छ । अघिल्लो महिना औसत दैनिक कारोबार ६४ करोड थियो ।

पुँजी अभावको अवरोध कायमै

बैंकहरुमा हाल देखिएको पुँजी अभावको समस्या हल नभएसम्म सरकार गठनको दीर्घकालीन प्रभाव देखिने छैन ।

यस्तै, सूचीकृत संस्थाहरुको वाषिर्क नाफा/नोक्सानको आकलन चैतपछि गर्न सकिने भएकाले बजार बढ्न अझै दुई महिना पर्खिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी राष्ट्र बैंकले तोकेअनुसार नै पुगेकाले बोनस सेयर बिक्रीको सम्भावना पनि उत्तिकै देखिन्छ । तर, त्यसको आकारबारे अड्कल काट्न लगानीकर्ताहरुले सकेको देखिँदैन ।

लामो समय नेप्से १४ सय विन्दुको टेवा परीक्षणमा देखिएको छ, जसलाई मनोवैज्ञानिक तह मान्न सकिन्छ । लगानीकर्ताहरु मूल्य घटेर सेयर बिक्री गर्न इच्छुक देखिँदैनन् ।

नेप्सेमा बियरिस (घट्ने) टे्रन्ड शुरु हुन लागेको छ । नेप्से हालसम्मको उच्च विन्दु १८ सय ८१ बाट २६ प्रतिशत तल झरिसकेको छ ।

गत साता नेपाल बैंकको कारोबार सबैभन्दा बढी देखियो । सरकारी स्वामित्वको बैंकले एक अर्बको एफपीओ -नयाँ सेयर) जारी गर्दैछ । यस्तै, सरकारको स्वामित्व घट्ने, पि्रमियम मूल्यमा सेयर जारी गरेपछि संस्थासँग लाभांश बाँड्न मिल्ने पुँजी थपिनेलगायत कारण कारोबार बढेको हो ।

सातामा उक्त बैंकको १६ करोड ४७ लाख रुपैयाँ कारोबार भयो ।

यस्तै, सूर्योदय लघुवित्तको सबैभन्दा बढी नौ दशमलव ९६ प्रतिशतले मूल्य बढ्यो । आरएसडीसी लघुवित्तको सबैभन्दा बढी १२ दशमलव ५४ प्रतिशतले मूल्य घट्यो ।

गत साता बजारमा एक करोड ९७ लाख कित्ता नयाँ सेयर थपिए । बैंक अफ काठमाडौंको एफपीओसहित आरएसडीसी लघुवित्त, छिमेकी लघुवित्त, आईसीएफसी फाइनान्स, सोल्टी होटेल र स्वदेशी लघुवित्तका बोनस सेयर सूचीकृत भए । नयाँ सेयर सूचीकरणसँगै बजारमा आपूर्ति पक्षमा उच्च वृद्धि हुँदै गएको छ ।

पिभट विश्लेषण

नेप्से परिसूचकका आधारमा निकालिएको पिभट विश्लेषणले नेप्सेले फागुनभित्र १४ सय ३१ को पहिलो लक्ष्य -प्रतिरोध) पाउने संकेत गरिरहेको छ ।

उक्त विन्दुमा नेप्सेले लक्ष्य पूरा गरेमा १४ सय ८० मा अर्को प्रतिरोधको सम्भावना देखिन्छ । तर, घट्ने क्रममा रहेमा १३ सय ५७ विन्दुमा पहिलो टेवा पाउने सम्भावना पनि छ ।

उच्च, न्यून र अन्तिम विन्दुका आधारमा पिभट, टेवा र प्रतिरोध विन्दुहरु पत्ता लगाइन्छ । गत महिना नेप्सेले १४ सय ५६ मा उच्च तथा १३ सय ८२ मा न्यून र अन्तिम विन्दु बनाएको थियो ।

आरएसआई विश्लेषण

यस्तै, नेप्से परिसूचक ओभर सोल्ड अर्थात् अवमूल्यन क्षेत्रमा आएको आरएसआई सूचकले देखाउँछ । आरएसआई स्केलको २४ अंकमा पुगे पनि अन्तिम दिन २९ मा आइपुगेको छ ।

आरएसआई विश्लेषणबाट बजार सन्तुलित अवस्थामा आउन लागेको संकेत पाइन्छ ।

स्केल ३० भन्दा माथि र ७० भन्दा मुनि रहँदा बजार न्युट्रल जोन तथा ७० भन्दा माथि रहँदा ‘ओभर बट’ क्षेत्रमा रहेको मानिन्छ । नेप्से परिसूचकले १४ दिनमा जोडेको र गुमाएको अंकलाई आधार मानेर गरिने यो विश्लेषणले बजारमा खरिद-बिक्रीको चाप कस्तो छ भन्ने संकेत गर्छ ।

सिम्पल मुभिङ एभरेज

नेप्सेको सात र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा आपसमा केही दूरीमा छन् । २१ दिने रेखा सातदिनेभन्दा माथि नै छ ।

यी दुई रेखा नजिकिन लागेमा भने लगानी बढाउन सकिन्छ । यदि २१ दिने रेखालाई सातदिनेले काटेर माथि लागेमा बजार थप बढ्ने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment