शनिबार, १२ फागुन, २०७४
OnlineKhabar.com

कथाः ‘पागल’ पाइलट

अशोक सिलवाल


फाट्टफुट्ट सेता बादलहरुसहितको नीलो आकाशमा छिनछिनमा प्लेनहरु उडिरहेका थिए । हामी एयरपोर्ट नजिकै पशुपतिको बनकालीमा थियौं ।

‘अबको केही घन्टामा तिमी पनि प्लेनमा उड्दै छौ’, मैले माइकललाई भनें ।

‘हो । म पेसेन्जरको रुपमा उड्दैछु’, उसले भन्यो ।

‘त्यसो भए तिमी पाइलट हौ’, मैले अनुमान गरें ।

‘तिमीले ठिक भन्यौ’, टाउको हल्लाउँदै उसले भन्यो ।

‘तिमीसँग पेसेन्जर र पाइलट दुवैको अनुभव रहेछ । यी दुईबीचको फरक तिमीलाई के लाग्छ ?’, मैले सोधें ।

‘प्लेनमा पेसेन्जरलाई रक्सी खाने वैधानिक अनुमति प्राप्त हुन्छ । पाइलटलाई त्यो सुविधा हुँदैन’, उसले तत्कालै रक्सीलाई केन्द्रविन्दु बनाएर उत्तर दियो ।

‘तर, कहिलेकाँही पाइलटको सीटमा बसेर तिमी त्यो नपाएको सुविधा पनि प्रयोग गर्छौ कि ?’, आशंका र ठट्यौली मिसाएर मैले सोधें ।

‘गर्दिनँ । किनभने, जब म रक्सी खान्छु तब पागल हुन्छ । उडिरहेको प्लेनमा पाइलट पागल भयो भने स्थिति कति खतरनाक होला, मैले भनिरहनु नपर्ला’, उसले हाँस्दै भन्यो ।

एउटा पोलिसले एक बर्षमा औसत बयानब्बे लिटर बियर पिउने गरेको तथ्यांक पाइन्छ । युरोपमा जर्मनी र चेक रिपब्लिकपछि पोल्यान्ड बढी बियर खपत हुने देश हो । र, माइकल त्यो देशको नागरिक हो ।

श्रीमती आगासित एयरलाइन्सको स्टाफ टिकटमा माइकल नेपाल आएको थियो । नेपाल बसाईको अन्तिम दिन उनीहरु ओमानको राजधानी मस्कट उड्दै थिए । पछिल्लो पाँच बर्षदेखि पेशाले पाइलट उसले मस्कट पुगेको भोलिपल्टदेखि थुप्रै पेसेन्जरसहितको प्लेन उडाउनु पर्नेछ ।

‘पछिल्लो दुई बर्षदेखि म ओमान एयरलाइन्समा काम गर्छु र हामी मस्कटमा बस्दै आएका छौं’, थोरै पर रहेकी आगालाई नजिक तान्दै उसले भन्यो ।

‘त्यसअघि हामी चेक रिपब्लिकमा थियौं । उसले त्यहाँको एयरलाइन्समा पनि दुई बर्ष काम गर्‍यो । त्यसअघि पोल्यान्डको राजधानी वार्सास्थित पोलिस एयरलाइन्समा पनि उसले एक बर्ष काम गरेको थियो । तर, अहिले त्यो एयरलाइन्स अस्तित्वमा छैन’, आगाले थपी ।

मृगस्थलीमा मधेसी मूलका घुमन्ते केटाकेटीहरु जालीभित्रका मृगहरुलाई बिस्कुट दिइरहेका थिए । पोलिस दम्पतिले त्यो मन पराएनन् । आगाले भनी, ‘जंक फुड इज पोइजनस फर डियर ।’

‘माइकल Û के तिमीसँग सानैदेखि पाइलट बन्ने सपना थियो ?’, म फेरि पुरानै प्रसंगमा फर्किएँ ।

‘थियो । तर, मैले तीस बर्ष कटेपछि मात्र यो काम सुरु गरें । त्यसअघि मेरी आमाको कारणले म यो क्षेत्रमा आउन सकिनँ । आमाले भने अनुसार पाइलट हुनलाई पहिले आर्मीमा जानुपथ्र्यो । त्यसपछि मात्र पाइलट हुन सकिन्थ्यो । तर, मलाई आर्मीमा जाने इच्छा कहिल्यै भएन । त्यसैले मैले सुरुमा पाइलट हुने प्रयास नै गरिनँ । पछि थाहा पाएँ, सीधै पाइलट हुन सकिँदोरहेछ । ढिलै भए पनि मैले पाइलटिङ सुरु गरें । मेरो बाल्यकालदेखिको सपना पुरा भयो । तर, जीवनमा मैले धेरै हण्डर र ठक्कर खाएको छु । मैले के गरिनँ ? सेल्स ब्वाई भएँ । ट्रक डाइभर भएँ । अरु थुप्रै काम गरें । म निकै थाकेको छु’, उसले भावुक बनाउने खालको विवरण सुनायो ।

‘पाइलट सीटमा पनि निदाउने गर्छौ कि क्या हो ?’, मैले थोरै हाँस्य मिसाउन खाजें ।

‘हो, कहिलेकाँही त निदाउन मन लाग्छ’, उसले एक निमेष आँखा चिम्लेरै भन्यो ।

माइकलले पाइलटका रुपमा चार हजार घन्टा आकाशमा बिताइसकेको रहेछ । आकाशका ती पेशागत घन्टाहरु उसले दुनियाँलाई निकै माथिबाट हेर्‍यो ।

‘त्यसले मेरो दृष्टिलाई फराकिलो बनायो । माथिबाट हेर्दा सबै चीज सजिलै देखिन्छन् र हामीले ठूला ठानेका चीजहरु निकै साना देखिन्छन् । तर, पनि मैले जीवनका जटिलताहरु अझ बुझ्न सकेको छैन । हाम्रो भाषा जस्तै जटिल छ जीवन’, उसले भन्यो ।

आगाले थपी, ‘पोलिस विश्वकै एक कठिनतम भाषा हो । माइकलले भने जस्तै यो निकै जटिल छ ।’

‘पोल्यान्डको भाषा पोलिस मात्र होइन, पोल्यान्डका नागरिक पोलिस झन् जटिल छन्’, माइकलले थप्यो ।

‘किन ?’, मैले आश्चर्य मान्दै सोधें ।

‘हामी पोलिस आकाँक्षी र महत्वाकाँक्षी छौं । तर, सँगसँगै उस्तै अल्छी पनि छौं । यही विरोधाभाषले हामीलाई थप जटिल बनाइरहेको छ’, माइकलले मलाई बुझाउने प्रयास गर्‍यो । समुद्री सतहभन्दा दुई मिटर तलबाट सुरु भएर दुई हजार उनान्सय मिटरसम्म अग्लिएको पोल्यान्डबारे त्यसअघि मेरो कुनै धारणा थिएन तर उनीहरुले मलाई पोल्यान्डबारे थप उत्सुक बनाइदिए ।

बाँदरहरु मात्र होइन, परेवाहरु पनि हामै्र आसपासमा उडिरहेका थिए ।

‘नेपालका राष्ट्रिय चरा हुन् ?’, ती परेवाहरु देखाउँदै आगाले सोधी ।

मैले उत्तर दिनुभन्दा पहिल्यै माइकलले भन्यो, ‘परेवा मलाई पखेटा भएको मुसाजस्तै लाग्छ ।’

प्रत्येक शिव मन्दिरअगाडि साँढे देख्दा उसले सोध्यो, ‘किन ?’

‘भगवानको पालामा अहिलेजस्तो यातायातको साधन थिएन । प्लेन, कार, मोटरसाइल र साइकलहरु थिएनन् । त्यसैले त्यसताका प्रत्येक भगवानको आ-आफ्नै बाहन थिए । उनीहरु तिनै बाहन चढेर यात्रा गर्थे । शिवको बाहन साँढे हो । त्यसैले शिव मन्दिर अगाडि साँढे देख्न सकिन्छ’, मैले प्रस्ट्याउने प्रयास गरें ।

अघि माइकलले परेवालाई पखेटा नभएको मुसा भनेको मलाई मन परेको थिएन । त्यसैले मैले उसलाई गणेशको मन्दिर लगेर मुसा देखाउँदै भने, ‘अनि यो चाहिँ गणेशको बाहन । मुसालाई तिमी पखेटा काटिएको परेवा भनेर पनि बुझ्न सक्छौ ।’

मेरो कुरा सुनेर माइकल मस्तीले हाँस्यो । आगा झन् बढी हाँसी । मैले पनि हाँसो रोक्न सकिनँ ।

जब हामी बनकालीबाट तल आर्यघाटतिर ओर्लदै थियौं, बीचतिर आइपुग्दा हामीले हात र खुट्टा नचल्ने एकजना मानिस देख्यौं । भुईंमा लम्पसार ऊ थोरै टाउको उठाएर बडो करुण आवाजमा माग्दै थियो, ‘ए, हजुर Û दुई पैसा दिएर म दीनहीनलाई सहयोग गर्नुस् ।’

माइकल क्रोधित भयो । तर, ऊ त्यो दीनहीन मानिससँग क्रोधित भएको थिएन । आँखा रातो पारेर निकै ठूलो स्वरमा उसले मलाई सोध्यो, ‘तिम्रो सरकार कहाँ छ ?’

ऊ त्यतिमै रोकिएन, उस्तै क्रोधित मुद्रामा उसले फेरि सोध्यो, ‘तिम्रो देशको बेइमान सरकार कहाँ छ ?’

म केही नभनी उसलाई सुनिमात्र रहेको थिएँ ।

‘तिम्रो देशको मानवता कहाँ छ ?’, उसले अझ चिच्याएर सोध्यो ।

ऊ अझ त्यस्तै रातो थियो र रोकिएको थिएन, ‘तिम्रो भगवान कहाँ छ ? अनि तिम्रो पशुपतिनाथ कहाँ छ ? तिम्रो लुम्बिनी कहाँ छ ?’

फेरि पनि म केही बोलिनँ ।

त्यसपछि एकाएक शीतल हुन खोजे झैं गरी माइकलले भन्यो, ‘मैले नेपालको मात्र कुरा गर्न खोजेको होइन । पोल्यान्डको हालत पनि यस्तै छ । विश्वको हालत पनि यस्तै छ ।’

फेरि पनि म उसलाई केही उत्तर दिन सकिरहेको थिइनँ ।

हामी आर्यघाटको ठिक पारिपटि्ट पुग्यौं । पारिपटि्ट शवहरु र वारिपटि्ट हाम्रै वरिपरि घुमिरहेको धुँवाबीच म उनीहरुलाई कुनै बेला नेपालमा सती प्रथा रहेको बताउँदै थिएँ ।

‘त्यो कुनै बेलाको के कुरा ! यो एक्काइसौं शताब्दीमा पनि बलात्कृत महिलालाई ढँुगाले हानिहानी मारिन्छ । कारण दिइन्छ, किनकी उसले परपुरुषसँग सम्पर्क गरी । तर, केही डलर खर्च गरेर पुरुषहरु वेश्यालय जानुलाई भने सामान्य मानिन्छ’, उसले सुस्केरा हालेर भन्यो ।

‘क्याथोलिकमा पनि केही सय बर्ष अगाडि त्यस्तै थियो, सती जानु पर्ने’, उसले थप्यो । सतीबारे चर्चा गर्दागर्दै ‘बाटर सिस्टम इन इन्टरनेट: इज इट रिलेसन अर ट्रान्जिक्सन’ विषयमा पिएचडी गर्दै गरेकी आगाले आफ्नो आइफोनबाट हामी तीनजनाको एउटा सेल्फी लिई । त्यसपछि लगाइरहेको चश्मा फुकाली र ब्यागबाट अर्को चश्मा झिेकर लगाउँदै भनी, ‘मसँग दुईटा चश्मा छन् । फोटो खिच्दा एउटा चश्मा लगाउनु पर्छ । फोटो हेर्न अर्को चश्मा लगाउनु पर्छ ।’
‘यदि उसको आँखा कमजोर नभएको भए उसले मलाई मन पराउँथिन् । त्यसपछि मैले उसको माया पनि पाउँथिन्’, माइकलले भन्यो ।

रमाइलो के भने उनीहरुले एक अर्कालाई प्लेनमै भेटेका रहेछन् ।

‘म दुबाई जाँदै थिएँ । ऊ पनि त्यतै जाँदै रहिछ । तर, दुबाई उसको ट्रान्जिट मात्र परेको रहेछ । ऊ थाइल्यान्डमा टे्रकिङ गर्न हिंडेकी रहिछ’, माइकलले भन्यो ।

‘प्लेनमा हामी सँगैको सीटमा थियौं । हेराहेर भयो । थोरै कुराकानी पनि भयो । हामीले इमेल लियौंदियौं । त्यसको एक महिनापछि एक दिन मैले माइकललाई इमेल गरें’, आगाले सम्झी ।

‘त्यसपछि बिस्तारै हामीले सँगै नयाँ जीवन सुरु गर्‍यौं’, माइकलले भन्यो ।

‘जीवनमा अब तिमीहरुको योजना के छ ?’, मैले सोधें ।

आगा केही बोलिन । बरु माइकलतिर हेरी । मैले फेरि उही प्रश्न गरें तर माइकललाई मात्र, ‘जीवनमा अब तिम्रो योजना के छ ?’

‘स्वस्थ जीवन र मृत्यु’, माइकलले त्यसो भनिरहँदा ठिक पारिपटि्ट अर्को एउटा नयाँ शव ब्रम्हनालमा लम्पसार थियो । अरु शवहरु जलिरहेका थिए ।

२०७४ माघ २७ गते १२:०७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this