Comments Add Comment

विश्वका ११ ठूला शहर, जो थोपाथोपा पानीको लागि तड्पिन्छन्

२७ माघ, काठमाडौं । दक्षिण अफ्रिकाको केपटाउन शहर छिट्टै आधुनिक विश्वको पहिलो यस्तो ठूलो शहर बन्ने क्रममा छ, जहाँ पिउने पानीको भारी कमी हुनेवाला छ । आउँदा केही सप्ताहमा यहाँका बासिन्दाहरुलाई पिउने पानी मिल्ने छैन ।

तर दक्षिण अफ्रिकाको यो सुख्खाग्रस्त शहर यस प्रकारको समस्यासँग जुध्ने पहिलो शहर भने होइन । कैयौं विशेषज्ञहरुले पानीको संकटको बारेमा चेतावनी दिँदै आएका छन् ।

हो यो कुरा सत्य हो कि पृथ्वीको सतहमा ७० प्रतिशत हिस्सा पानीले भरीएको छ । तर त्यो समुद्री पानी हो जुन नुनिलो छ । विश्वमा मिठो पानी केबल ३ प्रतिशत मात्र छ र यो सजिलै उपलब्ध छैन ।

विश्वमा एक सय करोड जनालाई पिउने शुद्ध पानी उपलब्ध छैन । जबकी २७० करोड मानिसलाई वर्षमा एक महिना पिउने पानी मिल्दैन ।

सन् २०१४ मा विश्वका ५ सय ठूला शहरमा गरिएको एक अध्ययनमा पाइएको छ कि हरेक चारमध्ये एक नगरपालिका पानी अभावको समस्यासँग जुधिरहेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पानी अभाव तब हुन्छ जब पानीको वितरण वर्षेनी प्रतिव्यक्ति १ हजार ७ सय क्युबिक मिटरभन्दा कम हुन्छ ।

संयुक्त राष्ट्रसँग सम्वन्धित विशेषज्ञहरुको आकलन अनुसार सन् २०३० सम्म विश्वभर पिउने पानीको माग वितरण भइरहेको भन्दा ४० प्रतिशत भन्दा बढी हुनेछ । यसको कारण हो– जलवायु परिवर्तन, विकास गर्न मानिसहरुबीचको प्रतिस्पर्धा र जनसंख्यामा वृद्धि ।

यसमा कसैले आश्चर्य मान्नुपर्दैन कि यस बढ्दो संकटको सामना गर्नेवाला पहिलो शहर केपटाउन हो ।

हरेक महाद्वीपमा भएका शहरसामु यो समस्या छ र समयसँग सामना गर्दै आएका यी शहरसँग जोगिने उपाय निकाल्ने समय छैन ।

यी छन् विश्वका ११ ठूला शहर जहाँ पिउने पानीको भारी संकट छिट्टै आउनेवाला छ ।

साओपाउलो, ब्राजिल

विश्वको सबैभन्दा बढी बस्ती रहेको शहरहरुमध्यको एक हो ब्राजिलको आर्थिक राजधानी साओपाउलो । यहाँ २.१७ करोड भन्दा बढी मानिसहरु बस्दछन् । यस शहरलाई सन् २०१५ मा त्यस्तै स्थिति आयो जो केपटाउनले सामना गरिरहेको छ । यतिबेला यहाँको मुख्य तालको क्षमता मात्र ४ प्रतिशत छ ।

सुख्खाको अवस्था यस्तो भयो कि शहरमा मात्र २० दिनको लागि पानी उपलब्ध थियो । यस दौरान एक ठाउँबाट अर्को ठाउँ पानी पु¥याउने ट्यांकरलाई पुलिसले सुरक्षाका बीच लैजाने गर्दथ्यो ।

भनिन्छ, सन् २०१४ देखि २०१७ को बीच ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा खडेरी प¥यो जसको कारण पानीको भयंकर अभाव भयो । तर संयुक्त राष्ट्र संघको एक मिसले यसका लागि गलत योजना र सही ठाउँमा लगानी नगरेको भन्दै साओपाउलाका अधिकारीहरुको निन्दा गरेको थियो ।

सन् २०१६ मा समस्या समाधान भएको घोषणा गरियो । तर त्यसपछि पनि गत वर्ष शहरका मुख्य तालको क्षमता अपेक्षा गरिएभन्दा १५ प्रतिशत कमसम्म थियो । त्यसपछि सरकारको दावीमा फेरि प्रश्न खडा भयो ।

बंगलुरु, भारत

भारतको शहर बंगलुरुको विकासले प्रशासनलाई ठूलो दवाव दिएको छ । ग्लोबल टेक्नोलोजी सेन्टरतर्फ अघि बढेको यस शहर पानी वितरण र निकास प्रणालीलाई राम्रो बनाउन अग्रसर छ ।

शहरमा पानीको पुराना पाइप मर्मतको तत्काल आवश्यकता छ । सरकारको एक रिपोर्टका अनुसार शहरमा पिउने पानी आधा भन्दा बढी त पाइप चुहिएर खेर जान्छ ।

भारतमा पानी प्रदुषणको ठूलो समस्या छ र बंगलुरुको स्थिति पनि त्यस्तै छ । एक अनुसन्धानको अनुसार शहरमा तालको ८५ प्रतिशत पानी केवल सिंचाइको लागि या कारखानामा प्रयोग गर्न लायक छ तर पिउनको लागि होइन ।

कुनै पनि ताल वा पोखरीको पानी त्यति सफा छैन जसलाई पिउन वा नुहाउन लायक मानियोस् ।

बेइजिङ, चीन

विश्व बैंकका अनुसार पानीको अभाव तब हुन्छ जब वर्षेनी वितरण प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम हुन्छ । सन् २०१४ मा शहरबासी २ करोड जनाले १४६ क्युबिक मिटर पानी पाएका थिए ।

विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा चीनमा छ तर विश्वमा मिठो पानीको ७ प्रतिशत हिस्सा यहाँ छ ।

अमेरिकास्थित कोलम्विया विश्वविद्यालयको एक अनुसन्धानअनुसार २००० देखि २००९ को मध्यमा शहरमा जल संशाधनको क्षमता १३ प्रतिशतभन्दा कम भएको थियो ।

२०१५ मा जारी गरिएका आधिकारिक तथ्यांकअनुसार बेइजिङमा पानी यति धेरै दुषित छ कि त्यो खेतीमा पनि प्रयोग गर्न लायक छैन ।

चीन सरकारले यस समस्या समाधान गर्नका लागि पानीको व्यवस्थित वितरणको योजना बनायो, जागरुकताको कार्यक्रम चलायो र पानीको धेरै खपत गर्नेहरुका लागि धेरै शुल्क पनि निर्धारण गरेको छ ।

कायरो, मिस्र

विश्वको महान सभ्यताको जन्म नाइल नदीको किनारमा भएको थियो । यो पुरानो कुरा हो । तर आजभोलि यो नदी आफै समस्यासँग जुधिरहेको छ ।

मिस्रलाई आवश्यक पर्ने ९७ प्रतिशत पानी नाइल नदीबाट आउँछ । साथै यही नदीमा नै खेतबारीबाट र घरबाट निस्किएको दुषित पानी मिसिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मिस्र ति देशको सूचीमा छ, जहाँ जल प्रदुषणसँग सम्वन्धित मृत्युदर सबैभन्दा धेरै मानिसको औसत आय सबैभन्दा कम छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ सम्म देशलाई पानी अभावको सामना गर्नुपर्ने छ ।

जाकार्ता, इण्डोनेसिया

समुद्री किनारमा अवस्थित विश्वका अन्य शहर जस्तै जाकार्ता सामू पनि समुद्रको जलस्तरको वृद्धि चुनौतीपूर्ण छ । यसका साथै दोस्रो ठूलो समस्या पानीको अभाव हो । यहाँको एक करोड जनसंख्याको आधाभन्दा कम व्यक्तिहरु सार्वजनिक पानीको सञ्जालमा जोडिनबाट बञ्चित छन् ।

यहाँ गैरकानुनी रुपमा इनार खन्ने काम बढिरहेको छ जसको कारण जमिन मुनिको पानीको स्रोतमा दबाव परिरहेको छ ।

यहाँका ताल र पोखरीमा एसफाल्ट अधिक पाइएको छ जसका कारण वर्षाको पानी पूरै सोस्दैन । यो समस्याले पानीको संकट बढ्ने गरेको छ ।

मस्को, रुस

दुुनियाको मिठो पानीको स्रोतमध्ये एक चौथाई स्रोत रुसमा रहेको छ । तर सोभियत कालमा भएको औद्योगिक विकासका कारण यहाँको पानीमा प्रदुषणको समस्या छ ।

मस्कोको सामु आज सबै भन्दा ठूलो चुनौति नै प्रदुशित पानी बनेको छ । किनकी शहरीयाहरुको पिउने पानीको स्रोत तिनै प्रदुशित खोला नाला हुन् ।

इस्तानबुल, टर्की

सरकारको आधिकारिक आँकडालाई मान्ने हो भने टर्कीमा पानीको संकट सामना गर्नुपरेको छ । सन् २०१६ मा पानीको सप्लाई प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम थियो । स्थानिय जानकारका अनुसार २०३० मा हालत निकै खराव हुनसक्छ ।

पछिल्लो समय अत्याधिक आवादी हुन थालेको इस्तानबुलमा १.४ करोड जनसंख्या पानीको संकटमा छ ।

२०१४ को सुरुवातमा शहरमा जल संशाधनको क्षमता ३० प्रतिशत भन्दा कम थियो ।

 

लण्डन, बेलायत

पानी कम हुने शहरमध्ये वेलायतको लण्डन पनि एक हो । यहाँ वर्षमा ६०० मिलिमिटर वर्षा हुन्छ । यो पेरिस र न्युयोर्ककको भन्दा कम हो । शहरलाई आवश्यक पर्नेमध्ये ८० प्रतिशत पानी नदीबाट प्राप्त हुन्छ ।

ग्रेटर लण्डनका अधिकारीका अनुसार शहरको क्षमता लगभग पूरा भएको छ । तर, सन् २०२५ मा लण्डनमा पनि पानीको गम्भिर संकट हुने सम्भावना बढेको छ । २०४० सम्म स्थिति गम्भिर हुने बताइएको छ ।

टोकियो, जापान

जापानको राजधानी टोकियोमा हरेक वर्ष समान्यतया जति वर्षा हुन्छ त्यति वर्षा अमेरिकाको सिएटलमा पनि हुन्छ । उक्त शहरमा वर्षमा केवल चार महिना वर्षा हुन्छ । त्यसैले सिएटललाई ‘रेनी’ शहर पनि भनिन्छ । यदि पानी जम्मा गरेर राख्न सकिएन भने सुख्खायाममा मुस्किल हुनसक्छ ।

पानी समस्या समाधानका लागि अधिकारीहरुले शहरमा ७५० सार्वजनिक एवं निजी स्थानमा वर्षाको पानी जम्मा गर्ने ब्यवस्था गरेका छन् ।

यहाँ ३ करोडभन्दा अधिक मान्छेको बसोबास छ । शहरका ७० प्रतिशत बढी ब्यक्ति पिउने पानीका लागि बरफमा निर्भर छन् । सरकारले हालै मात्रै खानेपानीको पाइप मर्मतको काम सुरु गरेको छ । ता कि पाइपको पानी खेर नजाओस् ।

मियामी, अमेरिका

फ्लोरिडा अमेरिकाको सबैभन्दा धेरै वर्षा हुने शहरको रुपमा चिनिन्छ । तर, मियामीमा पानीको समस्या छ । एटलान्टिक सागरको पानीले मियामीको खानेपानी स्रोतमा केही खराबी गरिदिन्छ । सन् १९३० मा यो समस्या पत्ता लागेको थियो । समुद्रको नुनिलो पानी खानेपानीको स्रोतमा मिसिएपछि समस्या जटिल भएको थियो ।

मेक्सिको सिटी, मेक्सिको

मेक्सिको सिटीमा रहेका २.१ करोड वासिन्दामा पानीको संकट छ । यहाँ हर पाँचमा एक ब्यक्तिले केही घण्टामा पानी पिउन पाउँछन् । शहरमा बस्नेमध्ये २० प्रतिशत जनताले दिनमा केही समय मात्रै पानी पाउँछन् ।

शहरमा बस्नेमध्ये ४० प्रतिशतले पानीको विभिन्न स्रोत प्रयोग गर्छन् । फोहोर पानीलाई शुद्ध बनाउने कुनै प्रविधि छैन । ४० प्रतिशत पानी पाइपबाट चुहिएर खेर जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment