Comments Add Comment

टेलिकमको उल्टो यात्राः तामाको तार मोह, एडीएसएलमै लगानी थप्दै

सरकारी कम्पनीलाई उछिन्दै निजी सेवा प्रदायकहरु


२८ माघ, काठमाडौं । सरकारको ब्रोडब्यान्ड नीतिको पहिलो लक्ष्य छ, ‘शहरी क्षेत्रमा माग भएमा १० एमबीपीएस गतिको ब्रोडब्यान्ड सेवाको उपलब्धता विस्तार गर्ने ।’ तर, सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको गति यो नीतिको ठ्याक्कै उल्टो छ ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणको भनाइमा टेलिकम अझै पनि तामाको तार प्रविधिमा आधारित एसिमेटि्रक डिजिटल सब्स्क्राइबर लाइन (एडीएसएल) सेवामै ‘अस्वाभाविक मोह’ देखाइरहेको छ ।

टेलिकमको एडीएसएल प्रविधिमा एक एमबीपीएसको इन्टरनेटले पनि राम्रो ‘पर्फम’ गरिरहेको छैन । त्यसलाई अधिकतम पाँच एमबीपीएससम्म पुर्‍याउन टेलिकमले पुराना तामाको तार फेर्नेलगायत काम तीव्र बनाएको छ ।

सुस्त भएको र पटक-पटक समस्या आइरहने कारणले एडीएसएललाई उपभोक्ताले रुचाएका छैनन् ।

टेलिकमको एडीएसएल प्रविधि व्यापक आलोचित हुँदा इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरु आक्रामक रुपमा फाइबर सेवा विस्तार गर्दैछन् । टेलिकम पुरानै गतिमा तामाको तार च्यापेर हिँडिरहेको छ ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले टेलिकमको वाषिर्कोत्सवमा कटाक्ष गरेका थिए, ‘टेलिकमले लगातार बजार हिस्सा गुमाउँदैछ । हामी नियामकहरु ब्रोडब्यान्ड इन्टरनेटको कुरा गरिरहेका छौं । टेलिकम एडीएसएलप्रति अगाध मोह देखाउँदैछ । र, यो अनौठो छ ।’

तामाको तारमा आधारित एडीएसएल सेवा विश्वभरबाटै विस्थापनको क्रममा छ । यसको विकल्पमा छाइरहेको छ, ‘फाइबर टु दी होम’ (एफटीटीएच) । तर, सिलिका ग्लासयुक्त फाइबरको विस्तारमा सुस्त छ, टेलिकम ।

बरु, एडीएसएलको सुधारमा खर्च थपिरहेको छ टेलिकम, जसलाई प्राधिकरण अध्यक्ष झाले सार्वजनिक रुपमै ‘टेलिकमको उल्टो गति’ भनेका छन् ।

टेलिकम एडीएसएललाई नै कायम राख्न चाहन्छ । र, पुरानै प्रविधिमोह निरन्तर प्रकट गरिरहेको छ । प्राधिकरण भने यो प्रविधिलाई परम्परागत मान्छ । र, टेलिकमको यो लगानीलाई ‘बालुवामा पानी’ को संज्ञा दिन्छ ।

तामाको तारबाट प्रवाह हुने ब्यान्डविथले अबको ब्रोडब्यान्डको मर्मलाई बोक्न नसक्ने प्राधिकरणको तर्क छ । इन्टरनेट सेवा चुस्त गरेर नागरिकको दैनिकी अझ सरल बनाउने नीति छ, सरकारको ।

त्यसैले टेलिकमलाई आधुनिक प्रविधिको अप्टिकल फाइबरको विस्तारमा आक्रामक हुन प्राधिकरणले सुझाउँदै आएको छ ।

प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल पनि एडीएसएलप्रति टेलिकमको विश्वासलाई ‘श्रृष्टीप्रतिको मोह’ बताउँछन् ।

टेलिकमले शुरुबाटै तामाको तारमार्फत् टेलिफोन सेवा दिइरहेको छ । त्यही तारबाट इन्टरनेट सेवा पनि उपभोक्तासम्म पुगिरहेको छ । आफैंले श्रृष्टी गरेको एडीएसएललाई अहिल्यै ‘फेजआउट’ गर्न तयार देखिँदैन, टेलिकम ।

जबकि, द्रुत गतिको वाइम्याक्स विस्थापित गर्ने योजना टेलिकमले बनाइसकेको छ । तथापि, सरकारी टेलिफोन सेवा प्रदायकले एडीएसएलका ग्राहक पनि गुमाउन चाहेको देखिँदैन । र, एडीएसएलका प्रत्यक्ष प्रतिस्पर्धी पनि छैनन् ।

टेलिकमले लगातार बजार हिस्सा गुमाउँदैछ र एडीएसएलप्रति अगाध मोह देखाउँदैछ, जुन अनौठो छ

प्राधिकरणले भने फाइबर विस्तार गरेर एडीएसएलको विकल्प ग्राहकलाई दिन टेलिकमलाई दबाब दिइरहेको छ । सेवामा चुस्तता नआए अब टेलिकमलाई निजी सेवा प्रदायकले उछिन्ने प्राधिकरणको आकलन छ ।

टेलिकमका तार धेरै पुराना भइसकेका छन्, जसले सेवा प्रवाहमा बारम्बार समस्या निम्त्याउँछन् ।

दूरसञ्चारमा आधारित प्राविधिक पक्षहरुलाई हेर्ने हो भने पनि तामाको तार अप्टिकल फाइबरको तुलनामा निकै कमजोर मानिन्छ ।

के हो एडीएसएल प्रविधि ?

तामाको तारमा आधारित हुने भएकाले सामान्य वातावरणीय परिवर्तनले पनि एडीएसएलको गुणस्तरमा असर पार्छ । यसमा द्रुत गतिमा डाटा ट्रान्सफर हुँदैन । त्यसैले उच्च गति र आकारको भिडियो यसमा चल्न सक्दैन ।

तामाको तारमा गति र ब्यान्डविथको सीमितता हुन्छ । यसमा इलेक्ट्रोम्याग्नेटिक सिग्नलका रुपमा डाटा प्रवाह हुन्छ । एडीएसएलमा एक पटकमा तीन हजार कल रिसिभ गर्न सकिन्छ ।

यसमा हाई फ्रिक्वेन्सीमा डाटा पठाउन खोजियो भने अवरोध आइहाल्छ । डाटा प्रवाहलाई प्रकाश वा अन्य म्याग्नेटिक वेबमार्फत् प्रभावित गर्न सकिन्छ ।

जमिनमुनि बिछ्याइएको तामाको तारलाई माथिल्लो सतहमा हुने चापले पनि ‘ड्यामेज’ गर्ने जोखिम उच्च रहन्छ ।

सुरक्षाका हिसाबबाट पनि एडीएसएल कमजोर प्रविधि मानिन्छ । तार काटेर रिसिभर लगाई जोसुकैले पनि डाटा रिसिभ र ट्रयाक गर्न सक्छ । रिसिभरमार्फत् नम्बर लगाएर कल गर्न सकिन्छ ।

एडीएसएल प्रविधि एफटीटीएचभन्दा महँगो पनि मानिन्छ । तर, यसको प्रणालीमा जोडिने उपकरण भने एफटीटीएचभन्दा सस्ता हुन्छन् ।

यसकारण एफटीटीएच राम्रो

एफटीटीएच सिलिका (सिसा) फाइबर कोरमा आधारित प्रविधि हो । सिसाको कोरमा लाइटमार्फत् डाटा ट्रान्सफर हुने भएकाले यो द्रुत गतिको हुने गर्छ ।

यसमार्फत् भिडियो ट्रान्सफर पनि निकै द्रुत गतिमा हुन्छ । त्यसैले उपभोक्ताले यसलाई रुचाएका छन् । र, एकै समयमा ३१ हजार कल गर्न सकिन्छ ।

यसमा कोर थपेपछि असीमित डाटा पठाउन सकिन्छ । जति पनि फ्रिक्वेन्सीमा डाटा पठाउन सकिने भएकाले नै यसलाई स्तरीय मानिएको हो ।

यसमा बाह्य वातावरणका कारण कुनै असर पर्दैन । सिसामा आधारित हुने भएकाले इलेक्ट्रोम्याग्नेटिक वेबको प्रभाव यसमा हुँदैन ।

यो तामाको तारभन्दा १० गुणा बढी बलियो हुन्छ । ठूलो चापमा पनि टुक्रिँदैन, छुट्टिँदैन ।

सुरक्षाका हिसाबबाट पनि यसलाई सर्वोत्कृष्ट मानिन्छ । तार काटेर डाटा चोरी गर्न सकिँदैन । प्रकाशमा आधारित हुने भएकाले कसैले नियतवस काटेमा डाटा आफैं ‘डिसेबल’ हुन्छ ।

यसको एउटै कमजोर पक्ष भनेको रिसिभरसहितको प्रणाली भने एडीएसएलभन्दा महँगो हुन्छ ।

सोहीकारण प्राधिकरणका वरिष्ठ निर्देशक खनाल टेलिकम फाइबरमार्फत् ‘भ्वाइसओभर इन्टरनेट’ सेवामा जानुपर्ने बताउँछन् ।

तामाको तारमार्फत् डाटा पठाउँदा बीचमै ‘लस’ हुने र गति सुस्त हुनेलगायत समस्याले टेलिकम पीडित रहेको र त्यसको समाधान एफटीटीएचको प्रयोग मात्रै भएको खनालको भनाइ छ ।

नेपालमा अहिले लगभग ६३ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा रहेको सरकारी आँकडा छ । गत कात्तिकमा प्राधिकरणले सार्वजनिक गरेको ‘एमआईएस रिपोर्ट’अनुसार देशभर सेवा प्रदायकका एक करोड ६६ लाख ७४ हजार इन्टरनेट ग्राहक छन् । यसमा मोबाइल डाटा लिनेको संख्या उच्च छ ।

देशमा एडीएसएल सेवाग्राही संख्या एक लाख ९१ हजार मात्रै छ । आईएसपीहरुले आफ्ना ग्राहक दुई लाख ६३ हजार पाँच सय पुर्‍याइसकेका छन् ।

टेलिकमका एडीएसएल ग्राहकको वृद्धि भने सुस्त दरमा छ ।

अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरु टेलिकमलाई उछिन्ने दाउमा छन् । फाइबर सेवा दिइरहेको वल्र्डलिंक आफैंले एक लाख ग्राहक कटाइसकेको छ ।

टेलिकम भने एडीएसएलप्रति ग्राहकको आकर्षण अझै नघटेको दाबी गर्छ । एफटीटीएचसँगै एडीएसएसललाई ‘ओभर-ले’ गर्न लागिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य बताउँछिन् ।

‘एकैपटक एडीएसएलका ग्राहकलाई एफटीटीएचमा लैजाने गरी काम गर्न हाम्रो खरिद प्रक्रियाको झन्झट बाधक छ । सेवाग्राहीलाई समस्या पर्दा तामाको तार भनेर मर्मत नगरी बस्न पनि सकिँदैन,’ वैद्य भन्छिन्, ‘हामी क्रमिक रुपमा एडीएसएलको विकल्पमा एफटीटीएच सेवा ग्राहकलाई दिँदै जान्छौं ।’

सरकारी नीतिले पाँच सय १२ केबीपीएसलाई पनि ‘ब्रोडब्यान्ड’ मानेकाले एडीएसएललाई ब्रोडब्यान्ड नमान्ने प्राधिकरणको भनाइ अर्थहीन भएको वैद्यको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment