Comments Add Comment

नेपाली आकाशमा दुई चिनियाँ जहाज थपिँदैः निगमलाई बोझमाथि बोझ

दुई वटा वाई-१२ मंगलबार काठमाडौं उत्रिने

२८ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले थप दुई चिनियाँ वाई-१२ जहाज ल्याउँदैछ । दुवै त्रिभुवन विमानस्थलमा मंगलबार ओर्लिने निगमले जनाएको छ ।

२०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार ती जहाज ल्याउन लागिएको हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज आइसकेका छन् ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । एउटा एमए-६० र एक वाई-१२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४मै ल्याइसकिएको छ ।

एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक)द्वारा उत्पादित एमए-६० को सिट क्षमता ५६ हो । यस्तै, हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई-१२ को क्षमता १९ सिट हो ।

दुई वाई-१२ आएसँगै निगमको आन्तरिक उडानमा आठ वटा जहाज हुनेछन् । अन्य दुई टि्वनअटर जहाजबाट निगमले आन्तरिक गन्तव्यमा उडान भर्दै आएको छ ।

पछिल्ला दुई वाई-१२ भने सहुलियत ऋणमा चीनले उपलब्ध गराएको हो । अनुदानमा उपलब्ध भएका दुईबाहेक चार वटा जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियत व्याजमा ऋण उपलब्ध गराएको छ ।

सरकारले यसअघि नै रकम तिरिसकेकाले निगमका लागि दुवै जहाज भित्र्याउनु अनिवार्य सर्त बनेको छ ।

चीनको हर्बिन शहरबाट चिनियाँ पाइलटले नै उडाएर काठमाडौंमा डेलिभरी दिनेछन् ।

 चिनियाँ जहाजबाट निगमले नाफा होइन, घाटा बेहोरिरहेको छ, मर्मतमा पार्टपूर्जा र उडाउन पाइलटकै अभाव

आन्तरिक उडानमा अहिले भएका जहाजकै लागि निगमले पाइलट पुर्‍याउन सकेको छैन । पाइलट नै नथपी थप जहाज ल्याइँदैछ । प्रवक्ता श्रेष्ठ भने पाइलट थप्ने प्रक्रिया अगाडि बढेको बताउँछन् ।

यसअघि ल्याइएका वाई-१२ बाट पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएको छ, निगमले । थप दुई वटालाई पनि तिनै गन्तव्यमा उडाउने निगमको व्यापारिक योजना छ ।

बोझमाथि बोझ

दुई सरकारबीच जहाज खरिदको सम्झौता हुनुअघि निगमको टोलीले चीन पुगेर त्यसबारे अध्ययन गरेको थियो ।

चिनियाँ जहाजले नेपालको हिमाली भेगमा उडान गर्न मिल्ने निष्कर्ष उक्त टोलीको थियो । सोहीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो ।

तर, हाल उडान भरिरहेका दुई एमए-६० र दुई वाई-१२ जहाज निगमका लागि बोझ सावित भएका छन् ।

उडान भर्न पाइलट र मर्मतका लागि पार्टपूर्जा नपाउने समस्याबाट आजित भइसकेको छ, निगम । ती समस्या समाधान नभई बाँकी दुई जहाज पनि ल्याउनैपर्ने बाध्यतामा परेको छ, निगम नेतृत्व ।

वाई-१२ भित्र्याउनुको उद्देश्य हिमाली रुटमा उडान भर्नु थियो । तर, अहिलेसम्म त्यस रुटमा परीक्षण उडानसमेत गर्न सकेको छैन ।

मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘निगमले केही तयारी नगरी जहाज थप्दैछ । अहिलेकै अवस्थामा दुवै जहाजलाई लामो समय विमानस्थलमै घाम तपाएर राख्नुपर्ने देखिन्छ ।’

हाल निगमका दुई वटा वाई-१२ जहाज मर्मत गर्नुपरे पार्टपूर्जा नपाएर दुई महिनासम्म ग्राउन्डेड गर्नुपर्ने अवस्था छ ।

चिनियाँ जहाजको बीमा शुल्क अन्यको तुलनामा बढी तिर्नुपर्छ । र, पाइलट तालिमका लागि पनि ठूलो रकम खर्च हुन्छ । नेपाली आकाशमा उडिरहेका चार वटा चिनियाँ जहाजबाट निगमले आम्दानीभन्दा ज्यादा घाटा बेहोर्नु परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment