Comments Add Comment

‘प्रचण्डले अब हान्ने फड्को पार्टी एकतामा हो’

'देशको राजनीति हाँक्न प्रचण्डबिना सम्भव छैन'

२८ माघ, काठमाडौं । गृहजिल्ला चितवन पुगेको बेला माओवादी अध्यक्ष प्रचण्डले ‘राजनीतिक फड्को मार्ने’ अभिव्यक्ति दिएपछि नेपाली राजनीति तरंगित भएको छ । खासगरी एमाले र माओवादीबीच पार्टी एकतामा प्रगति नभइरहेका बेला आएको प्रचण्डको यो अभिव्यक्तिले बिभिन्न आशंका र बहस सुरु गरिदिएको छ । धेरैले प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आ-आफ्नै ढंगले व्याख्या र विश्लेषण गरिरहेका छन् ।

यसै सन्दर्भमा हामीले प्रचण्डको पारिवारिक सदस्य एवम् माओवादी केन्द्रका नेता नारायण दाहालसँग कुराकानी गरेका छौं । उनले पनि भने कि अब एकताको नयाँ कोर्स सुरु हुन्छ । प्रस्तुत छ नारायण दाहालसँग अनलाइनखबरले गरेको कुराकानीको सारसंक्षेप-

प्रचण्डको ‘राजनीतिक फड्को’को अर्थ के हो ?

देशको निकासको लागि फड्को त मार्नुपर्‍यो नि । त्यतिकै अड्किएर बस्नु हुँदैन भन्ने त मार्क्सवादी नियम हो । पार्टी एकता भनेको सम्मानजनक नै चिज हो । सबैको अस्तित्वलाई स्वीकार गर्ने कुरा हो । यो पनि भएन, उ पनि भएन भनेर एकताको नाममा देशलाई अड्काउने कुरा हुँदैन । नयाँ ढंगले सोच्नुपर्ने त स्वाभाविक हुन्छ । यसले नयाँ कोर्स लिन्छ भन्ने हो, एकताकै नयाँ कोर्स हुन्छ ।

‘नयाँ कोर्स’ भनेको के हो ? कस्तो हुन्छ ?

प्रचण्डको बानी त सबैलाई थाहा छ नि, कोशिस गर्दासम्म गर्ने, भएन भने नयाँ ढंगले सोचिहाल्ने । एक ठाउँमा थिग्रिएर, रोएर बसिराख्ने बानी छैन उहाँको । त्यसैले यसलाई ‘नयाँ कोर्स’ नै भनेर बुझौं । यसको थप बहसतिर नजाऔं ।

मुख्य कुरा नेपाली जनताले म्यान्डेट दिइसकेकाले, अनुमोदन गरिसकेकाले, माओवादी र एमालेबीच एकता हुनुपर्छ भनिसकेकाले अब कोर्स पूरा गर्नुपर्छ । तर, कथमकदाचित कुनै विपत्ती आईपर्‍यो भने त नयाँ ढंगले सोच्नैपर्ने हुन्छ ।

७०-३० को भागबण्डा गरिसक्नुभयो । ३० प्रतिशतले ठूलो पार्टीको नेतृत्व दावी गर्नु कत्तिको नेचुरल हुन्छ ?

पहिलो कुरा त ७०-३० कुरा आयो नि त्यो नै बेकारको कुरा हो । चुनावमा चाहिँ ६०-४० को कुरा भएको हो । एक दिन आयो ७०-३० भनेर, त्यो बेकार कुरा हो । कुनै निर्णय पनि होइन, केही पनि होइन । एकता किन भन्दा देशको विकासको निम्ति, समृद्धिको निम्ति, राजनीतिक स्थायित्वको निम्ति हो । जे गर्दा हुन्छ, त्यो गर्ने हो । ३० को सट्टा ३१ भयो भने नजाने कोही ? ६०-४० को सट्टा ३८ मा र्झनुपर्‍यो भने नजाने हामी ? ४० को ठाउँमा ४५ पुग्दा नमान्ने एमालेले ? त्यस्ता कुरा हुँदैन । अब ६०-४० पनि होइन, ७०-३० पनि होइन, आवश्यकताले लिडरसीपको र कार्यकर्ताको उचित व्यवस्थापन गर्नुपर्छ ।

प्रचण्डले अध्यक्ष पद नपाउँदैमा एकता रोकिँदैन भनेर बुझ्दा हुन्छ ?

यो पाउँदैन भन्ने कुरै नगरम् क्या । एकतापछि केपी ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने कुरा दुनियाँले जानेको कुरा हो । अब फेरि पाउने कि नपाउने ? नपाए गर्ने कि नगर्ने ? माओवादीले नछाडे एमालेले के गर्ने ? एमालेले नछाडे माओवादीले के गर्ने ? भन्ने प्रश्नै भएन । यो अनिवार्य आवश्यकता भइसक्यो ।

त्यसो भए कहाँनेर अडि्करहेको छ त कुरा ?

दुईवटा विषयमा अलि गम्भिर छलफल भइरहेको छ । एउटा राजनीतिक कार्यदिशाको बारेमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । र, अर्को त्यसलाई अघि बढाउने संगठन हो । ठूला पार्टीका ठूला संगठनहरु छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा गम्भीर छलफल भइरहेको छ ।

एकता गर्ने विषयमा द्विविधा छैन । यी विषयमा गम्भीर विषयमै छलफल गर्नुपर्ने नै भएको छ । हेर्दा टेक्निकलजस्तो तर मुलत राजनीतिक कार्यदिशाको हिसाबकितावले सोच्नुपर्ने भएकाले यसमा छलफल भइरहेको छ ।

लिडरसीपको विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ । मैले अघि भनें नि यी राजनीतिक बैचारिक काम पनि सांगठनिक काम पनि सँगसँगै लिएर जानुपर्ने भएकाले, एकअर्काको पूरक भएको हुनाले छलफल त्यसैमा चलिरहेको छ ।

एमालेका केही नेताहरुले त प्रचण्डलाई अध्यक्ष दिन सकिँदैन भनिरहेका छन् नि त ?

एमालेले नीतिगत रुपमा सांगठनिक रुपले निर्णय गरेर प्रचण्डलाई अध्यक्ष मान्दैनौं भनेको कहीँ आधिकारिक निर्णय पनि छैन । मान्दैनौं भन्ने कुनै आधार पनि छैन । किनभने संख्यामा एमाले र माओवादी सानो-ठूलो त हो ।

तर अहिले हामीले एकता गर्न खोजेको देशको समृद्धिको निम्ति, राजनीतिक स्थायित्वकै निम्ति हो । त्यसको निम्ति नेपालमा भिजन भएको नेता कोहि छ भने प्रचण्ड नै छ भन्ने कुरा आम जगतमा थाहा भएकै विषय हो । शान्ति प्रक्रियादेखि यहाँसम्म आइपुग्दा प्रचण्डविनाको राजनीतिक नेपाल कस्तो हुन्छ भन्ने कुरा सबैले बुझेका छन् ।

अर्को कुरा, अहिले एमालेको धेरै भोट माओवादीकै कारणले आएको हो भन्ने कुरा उनीहरुले बुझेको छन् राम्रोसँग । यदि माओवादीसँग कार्यगत एकता नभएको भए एमालेको त्यति भोट आउँदैनथ्यो, माओवादीको पनि यति भोट आउँदैनथ्यो, यो कुरा सत्य हो ।

त्यसकारण एमालेले हामी ठूलो पार्टी भनेर दम्भ राख्नु जरुरत पनि छैन । त्यो आवश्यकता पनि छैन । किनभने गठबन्धन भएर नै भोट आएर ठूलो पार्टी भएको हो । हामी माओवादी पनि यो साइजमा हुन्थ्यौं कि हुँदैनथ्यौं, हामीलाई नै थाहा छैन । एकले अर्काको पूरकको रुपमा काम गरेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

पार्टी एकता कहिले टुंगिएला त ?

यो देशको राजनीतिलाई हाँक्नको लागि प्रचण्डविना सम्भव पनि छैन भन्ने कुरा राजनीतिक तहमा बुझिएको कुरा हो । त्यसैले यो पदको विषयमा बाहिर जसरी उछालिएको छ, यसले हित गर्दैन ।

मलाई लाग्छ फागुनको दोस्रो हप्ता पुग्दा-नपुग्दा सरकार पनि बन्छ र पार्टी एकताको विषयमा कसरी जाने भनेर जनतालाई दिने एउटा सन्देश आउँछ । टोटल पार्टी एकता हुन त त्यसपछि पनि २-४ महिना नै लाग्ला । किनभने यत्रा कमिटीहरुको बैठक बस्नुपर्‍यो, आधिकारिक ढंगले निर्णय गर्नुपर्‍यो । त्यसकारण सम्पूर्ण प्रक्रिया पूरा गर्न समय लाग्ने देखिन्छ ।

ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष हुने गरी नै एकता टुंगिन्छ कि अरु कै विकल्प छ ?

दुई जना लिडर छन्, एउटाले सरकारको र अर्कोले पार्टीको नेतृत्व गर्ने त आम जनताको मागको कुरा हो । नेपालका जनतामात्रै होइन, अन्तर्राष्ट्रिय जगतको बुझाइ पनि त्यही हो । त्यसैले यसमा विवाद भएर नमिल्ला भन्ने कुरा नै छैन ।

एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको २१ औं शताव्दीको जनवादको विषयमा अब लड्नु नै छैन दुई पार्टी । अब त समाजवादी क्रान्तिको कार्यदिशा तयार पार्ने हो । जबजलाई र जनयुद्धलाई इतिहासमा सम्मानजनक ढंगले राख्ने हो । जनयुद्ध ऐतिहासिक आवश्यकता थियो, त्यसले एउटा कोर्स पूरा गर्‍यो भनेर मूल्यांकन गर्ने हो । जबजको पनि त्यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment