Comments Add Comment

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई राष्ट्रियसभाको परिणाम

२८ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो ।

सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । संविधान र कानुनको परिधिभित्र रहेर ढिला नगरी राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता ढकालले बताए ।

राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो । त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन् ।

५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण निर्वाचन परिणामराष्ट्रपति समक्ष पेश गर्ने वित्तिकै नयाँ सरकार गठनका लागि बाटो खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment