Comments Add Comment

प्रदेश ५ मा सरकार गठन प्रक्रिया सुरु, तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई वाम गठबन्धनको पत्र

२८ माघ, बुटवल । वाम गठबन्धनले प्रदेश ५ मा सरकार गठनका लागि आफ्नो दाबी पेश गरेका छन् ।

एमाले र माओवादी केन्द्रले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् ।

एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरु प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ ।

पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक प्रक्रिया अनुसार आफू अगाडि बढने बताए । उनले भने, ‘दुई दलले दाबी प्रस्तुत गर्दै पत्र बुझाउनु भएको छ । संविधानले व्यवस्था अनुसार अगाडि बढछु ।’

सभामुखको चुनाव अघि नै सरकार गठन : पोखरेल

सरकार गठनको दाबी पेश गरेपछि एमाले नेता एवं मुख्यमन्त्रीका दाबेदार नेता पोखरेलले सभामुखको निर्वाचन अगाडि नैं मुख्यमन्त्रीको शपथ ग्रहण गरी सानो मन्त्रिमण्डल पनि गठन हुने बताए ।

फागुन २ गते हुने सभामुखको निर्वाचन अगाडि नै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने वाम गठबन्धनले तयारी गरेका छन् । जसमा मुख्यमन्त्री शंकर पोखरेल रहनेछन् भने एमाले र माओवादीबाट एक/एक जना मन्त्री बन्ने माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीले जानकारी दिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा एमाले माओवादी मिलेर सरकार गठन गर्ने बताए ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सांसद छन् । सभामुखको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment