Comments Add Comment

वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव

पूर्वमन्त्रीले मागे ७३ लाख, कर्मचारीले दिन्न भनेपछि सोफामै ढले

२९ माघ, काठमाडौं । आज सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले आर्थिक, सामाजिकलगायतका सबैखाले विषय उठाएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक समाचार बढी छन् ।

प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएको समाचारलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् । पत्रपत्रिकाहरुले प्रदेश मुख्य मन्त्रीको प्रष्ट चित्र आएकाले अब यसले पूर्णता पाउने जनाएका छन् ।

एमाले–माओवादी एकता वार्ताको चर्चा पनि आजका पत्रपत्रिकाहरुमा छन् । नयाँ पत्रिका दैनिकमा एकता वार्ता निर्णायक मोडमा पुगेको समाचार छ भने अन्नपूर्ण पोस्ट दैनिकले सरकार गठनलगत्तै पार्टी एकता हुने र त्योभन्दा पहिले एकताको खाका बन्ने लेखेको छ । नयाँ पत्रिकाका अनुसार, एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक सांसद् छानेको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर लेखेका छन् । एमालेले समानुपातिकतर्फका सांसद् छनोट गरे पनि कांग्रेस–माओवादीले भने टुंग्याएका छैनन् ।

यसका अतिरिक्त भवन नहुँदा प्रहरीको बिजोग भएको, राज्यलाई छलेर रेडक्रसले ५ अर्ब खर्च गरेको, पूर्वमन्त्रीको उपचार खर्चको बिल ७३ लाख आएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ आफ्नो पहिलो पृष्ठमा छापेका छन् ।

वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव

नयाँ पत्रिका दैनिकले आज एमाले–माओवादी एकता निर्णायक मोडमा पुगेको लेखेको छ ।

समाचार अनुसार एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

नयाँ पत्रिकाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेको थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्टपति पनि बनाउन सकिने उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।

यता, अन्नपूर्ण पोस्ट दैनिकले भने एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने लेखेको छ । स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए ।

समाचार अनुसार, फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ ।

कर्मचारीको कुरा सुनेर सोफामै ढले पूर्वमन्त्री पासवान

पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ०२६ असार ०७३ को निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगञ्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदनसहित तत्काल रकम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलब्ध गराउने निर्णयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने या नदिने भन्ने अन्योलमा छन् ।

समाचार अनुसार आफूले निवेदनमा दाबी गरेअनुसार रकम तत्काल निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए । कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताएपछि उनी रिँगटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए ।

‘गोपाल पराजुलीको नागरिकतामै ३ जन्ममिति’

प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तिमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको समाचार कान्तिपुर दैनिकले तस्वीरसहित प्रकाशित गरेको छ ।
नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ ।

‘२०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो । अर्को कागजातले भने प्रधानन्यायाधीश पराजुलीले २०४९ सालअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्को नागरिकता लिएको देखिन्छ,’ कान्तिपुरले लेखेको छ ।

यसैगरी कर्मचारी सञ्चयकोष कार्यालयको उच्च स्रोतबाट प्राप्त विवरणअनुसार पराजुलीले अन्य शैक्षिक प्रमाणपत्रमा नभएको जन्ममिति अभिलेखमा पेस गरेको देखिन्छ । २०४८ कात्तिक २३ देखि कर्मचारी सञ्चयकोषमा कोष कट्टा सुरु गरेका उनले २०४९ साउन ३१ गते सञ्चयकोषको परिचयपत्र बनाएको खुलेको छ । सञ्चयकोषको विवरणमा २०१० बैशाख १३ गतेको जन्ममिति र १४०३/४४१ नम्बरको नागरिकता काठमाडौंबाट जारी भएको उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्रोतको भनाई समाचारमा लेखिएको छ, ‘यसको अर्थ उहाँले २०४९ साउनअघि नै काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्याे । त्यतिबेला अर्को जिल्लाबाट नागरिकता लिएको व्यक्तिले नागरिकता सच्याउन पाउने कानुनी व्यवस्था थिएन ।’

स्रोतको दावीअनुसार, २०३० साउन २१ गते २१ वर्ष उल्लेख गरी नागरिकता लिएका उनले २०१० साल बैशाख १३ गते जन्ममिति भनी सच्याउने कानुनी आधारसमेत छैन भने अन्य प्रमाणसमेत उनीसँग छैन ।

रेकक्रसको बदमासीः राज्यलाई छलेर ५ अर्ब खर्च

नागरिक दैनिकका अनुसार नेपाल रेडक्रस सोसाइटीले राज्यको नीति–नियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

‘राज्यलाई छलेर ५ अर्ब खर्च’ शीर्षकको समाचारमा नागरिकले लेखेको छ– रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नवीकरण गरिएको पाइएको छ । रेडक्रसका यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ । यसअघि रेडक्रसमाथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो ।

स्मार्ट कार्ड योजना अलपत्र

राजधानी दैनिकले आज वैदेशिक रोजगारीमा रहेका विकृति हटाउने उद्देश्यले श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने भनेको स्मार्ट कार्ड योजना मन्त्रालयमै थन्किएको छ ।

मन्त्रालयले दुई वर्षअघि ल्याएको स्मार्ट कार्ड योजना अहिलेसम्म मन्त्रालयमै थन्किएपछि अलपत्र परेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरुको भनाइ छ ।

पढाइ खर्च जुटाउन जोगीको भेष !

जीवन दर्शन बुझेर लोभलालच एवं सांसारिक मोह त्यागी अध्यात्मिक बाटोमा लाग्नेलाई जोगी भन्ने चलन छ । अचेल भने जीवनदर्शन बुझेर वा वैराग्यले होइन कि लहडबाजीले पनि जोगी बन्ने चलन बढेको रोचक खबर नागरिक दैनिकमा छ ।

समाचार अनुसार जोगी पनि पेसाका रुपमा विकसित हुन थालेको छ । शिवरात्रिमा पशुपति क्षेत्रमा देखिने बलियाबांगा र उरन्ठेउला जोगीको उपस्थितिले त्यसैलाई पुष्टि गर्छ ।

शिवरात्रिका लागि पशुपति क्षेत्रमा भारतको इलाहवादबाट किशोर र तन्नेरी जोगीको समूहसमेत आएको छ । गेरु वस्त्रधारी उनीहरु भिक्षा माग्न हातमा बोकेका भाँडा अघि सार्छन् । दशनामी समूदायका ती जोगी स्कुल पढ्दैछन् ।

शिवरात्रिका बेला पशुपतिनाथ आउँदा पैसा कमाउन पाइन्छ भन्ने सुनेपछि १५–१६ जनाको समूह बनाएर नेपाल आएको १५ वर्षीय सन्नी गिरीलाई कोड गर्दै नागरिकले खबर छापेको छ ।

र, यो पनि– लाप्राकमा मकैको बिहे


लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकको भित्री पृष्ठमा छ ।

‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले अन्नपूर्णसँग भनेका छन्, ‘फागुन लागेपछि मकै रोप्ने काम हुन्छ, त्यसैले मकैको बिहे गरेका हौं ।’ मनाङे डाँडादेखि सुरु भएको बिहे कार्यक्रम गाउँमा आएर समापन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment