Comments Add Comment

२०१८ का संयोगहरुः घण्टाघरदेखि कार्ल मार्क्ससम्म

नेपाल राज्य उत्पत्तिको अढाइ सय वर्ष

सन् २०१८ संयोग नै संयोग लिएर आएको छ । नेपालको सीमा कोरिएको ‘क्वार्टर मिलेनियम’ अर्थात् ठ्याक्कै दुई सय ५० वर्ष पुगेको छ ।

त्रिचन्द्र कलेजको स्थापना र घण्टाघरको निर्माणदेखि महान् दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तकार, समाजशास्त्री, पत्रकार र क्रान्तिकारी समाजशास्त्री कार्ल मार्क्ससम्मको संयोगमा यस वर्षलाई उन्न सक्छौं ।

विसं १९१८ मा चन्द्रसमशेरले त्रिचन्द्र कलेज खडा गरेका हुन् । र, घण्टाघर पनि त्यही वर्ष खडा भएको हो, जसले अद्यापि समय बताइरहेकै छ ।

दुई सय वर्षका कार्ल मार्क्स

कार्ल मार्क्स जन्मेको ठ्याक्कै दुई सय वर्ष अर्थात् दोस्रो शताब्दि पूरा भएको छ । उनी कम्युनिस्ट विचारधाराका प्रतिपादक मात्रै होइनन्, विश्वमा पहिलो पटक मानवतावादी दर्शन बोकेका एक चिन्तक पनि हुन् ।

यही चिन्तनका कारण उनले आफ्नो मुलुक जर्मनी छाड्नु पर्‍यो । फ्रान्सलगायत मुलुकबाट पनि धपाइए । अन्तिममा बेलायतीहरुले उनलाई ठाउँ दिए । र, त्यहीं जीवनको आधाभन्दा बढी समय बिताए ।

बडो दुःख र पीडाको जिन्दगी बिताए, कार्ल मार्क्सले । रोग, भोक र शोक तीनै कुराले उनलाई क्लान्त गरेका थिए । तर, निश्रान्त पथिकका रुपमा उनी हिँडिरहे ।

उनका बारेमा म पहिले बढी ‘क्रिटिकल’ थिएँ । तर, उनले आफ्ना छोरी ज्वाईंसँग व्यक्त गरेको विचार पढेपछि म पनि प्रभावित बनें । र, मैले आफ्नो धारणामा पुनर्विचार गरें ।

उनले भनेका छन्- ‘हेर मैले पुनर्जीवन पाएँ या त्यो अवसर आयो भने पनि म यही बाटो रोज्छु । मेरो अर्काे बाटो हुँदैन र त्यसमा म कटिबद्ध छु । र, मैले जे विचार बोकेको छु, त्यसबाट डग्दिनँ । तर, मैले जोसँग बिहे गरें, अर्को जन्ममा उनीसँग बिहे गर्दिनँ । किनभने मैले यो जुनीमा उनलाई दुःख मात्रै दिए ।’

कार्ल मार्क्सले आफ्नो वादलाई शुरुमा ‘कम्युनिजम’ नभनीकन ‘ह्युमिनिजम’ भनेका रहेछन् । प्रखर चिन्तक हुन् तर मानवतावादी रहेछन्

खुशी लागेको छ, मैले कार्ल मार्क्सलाई अर्कै रुपमा देखें । तीन वर्षअघि मलाई नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का निर्देशक डा. मृगेन्द्र कार्कीले मार्क्सबारे कार्यपत्र लेखिदिन भन्नुभयो । मैले शुरुमा इन्कार गरें किनभने त्यो ठूलो विषय थियो ।

तर, दोस्रो पटक आएको अनुरोधलाई नकार्न सकिनँ । र, त्यही क्रममा कार्ल मार्क्सको जीवन यात्रा बोध भयो । उनी त अर्कै मानिस रहेछन् ।

वास्तवमा उनले आफ्नो वादलाई शुरुमा ‘कम्युनिजम’ नभनीकन ‘ह्युमिनिजम’ भनेका रहेछन् । प्रखर चिन्तक हुन् तर मानवतावादी रहेछन् ।

जीवनको पूर्वार्द्धमा मानिसमा युवा जोश हुन्छ र विश्व नै परिवर्तन गर्छु भन्ने किसिमको प्रखर ज्वालाका रुपमा निस्किन्छ । तर, अन्त्यमा त त्यो मानवतावादी भएर जाँदो रहेछ ।

बीबीसीले केही समयअघि एउटा रिसर्च पनि गरेको रहेछ । त्यसमा विश्वका २० उत्कृष्ट चिन्तकमध्ये मार्क्सले नै सबैभन्दा बढी अंक प्राप्त गरे । यो पनि आश्चर्यजनक कुरा होइन ।

बेलायतमै बस्दा उनले रुसी भाषा सिक्न थालेछन् । त्यसको दुई महिनाभित्रै उनको दराजमा रुसी भाषाका दर्जनौं किताब जम्मा भइसकेछन् । उनी त्यति तीव्र गतिका ‘लर्नर’ रहेछन् । यो चाहीं आश्चर्यको विषय हो ।

त्यस्तो व्यक्तिलाई पोलिग्लट भनिन्छ । उनी आठ भाषा बोल्थे । जबकि, रुसी भाषाको लिपी नै अर्कै छ । उनी त्यसमा दुई महिनामै पारंगत बने । उनी चिन्तक, लेखक र अध्ययनकर्ता मात्रै होइनन् । उनका २/३ सन्तानलाई रोगले नै लग्यो । इलाज गर्न सकेनन् ।

नेपालको अढाइ सय वर्षे यात्रा

यही वर्ष नेपाल राज्य जन्मेको दुई सय ५० वर्ष पुग्दैछ, जसलाई क्वार्टर मिलियम (क्वाम) पनि भनिन्छ । सन् १७६८ (विसं १८२५) देखि सिमानाका रुपमा नेपालको एकीकरण हुन शुरु भएको हो ।

गोरखा राज्यमा काठमाडौं उपत्यका जोडिएपछि पृथ्वीनारायण शाहमा नेपाल एकीकरणको आत्मविश्वास पलाएको देखिन्छ । दिव्योपदेशका कुरा कृत्रिम होइनन् भने त त्यहाँ पनि धेरै कुरा छन् । चार वर्ण ३६ जातको फूलबारी भनेका छन्, नेपाललाई पृथ्वीनारायण शाहले ।

जितिसकेपछि भाइहरुले आफ्नो भाग मागे, उनले दिएनन् । किनभने, उनलाई सम्झना थियो, यक्ष मल्लले छोराहरुलाई बाँड्दा काठमाडौं उपत्यका तीन टुक्रा भएको ।

पृथ्वीनारायण शाहको यो साहस नहुँदो हो त नेपाल ब्रिटिस उपनिवेशको एउटा हिस्सा हुने थियो होला । अफगानिस्तानदेखि आसाम र म्यानमारसम्मै बेलायती साम्राज्य फैलिएको थियो ।

अमिरले शासन गरेको अफगानिस्तान बचेन । नेपाल मात्रै कसरी स्वतन्त्र रहिरह्यो त ? यो बडो रुचिकर प्रश्न हो । कोलम्बो विशवविद्यालयमा पीएचडी गर्दैगर्दा सन् १९८० तिरको कुरा हो । त्यहाँ साउथ एसिया हल छ, जहाँ भीम राव अम्बेडकरको लाइफ साइकल र सँगै नेहरुको पनि छ ।

अम्बेडकरको किनभने उनले पनि त्यहींबाट पीएचडी गरेका हुन् । साउथ एसिया हलमा हरेक साता एकदिन सेमिनार हुन्छ । मस्को, बेइजिङलगायत विश्वभरबाट विज्ञहरु आउँछन् ।

मेरो कक्षा थिएन । त्यही भएर म पनि सेमिनारमा बसेको थिएँ । भर्खरै चीनबाट कूटनीतिक भूमिका पूरा गरेर फर्केका भारतका एक विशिष्ट व्यक्तित्व सपत्नी आएका रहेछन् । उनले बोल्ने क्रममा नेपालको सार्वभौमसत्ता सही अर्थमा एक सम्झौता मात्र भएको बताए । र, नेपाल वास्तवमा भारतको प्रिन्स्ली स्टेटजस्तै थियो भने ।

ग्वालियर, कश्मीर र हैदरावादकै श्रेणीमा उनले नेपाललाई पनि व्याख्या गरे । मलाई असह्य पीडा भयो र उठेर प्रश्न गरें- ‘मिस्टर स्पिकर फर योर इन्फर्मेसन, लेट मी टेल यू, इफ नेपाल ओज सोभेरेन इन दी २००७ अर्ली, देन हाउ टु एक्स्प्लेन ? दी फ्याक्ट द्याट नेपाल वान टु वार विथ टिबेट विदाउट आसाम फर दी परमिसन ब्रिटिस इन्डिया ?’

यसको जवाफ उनले दिन सकेनन् । सबै सुनिरहेका छन् । ४० जनाभन्दा बढी मान्छे छन् । उनले अर्कै कुनै तर्क दिए । मैले पनि प्रतितर्क दिएँ । करिब दुई मिनटपछि मुख्य धाराबाट अन्त्रय डाइभर्ट भयो भनेर को-अर्डिनेटरले नै हस्तक्षेप गर्नुपर्‍यो ।

जंगबहादुर ‘सेल्फ मेड’ राजनेता हुन् । उनीजस्तो राजनेता त्यसबेला सायद कोही पनि थिएन होला, नेपालमा । किनभने, उनले विचित्रको एउटा रणनीति प्रयोग गरेका छन् । त्यसलाई म ‘बाइफ्रन्टल’ भन्छु

त्यसको केही समयपछि एक राति दूरदर्शनले नाम घोषणा गर्‍यो । मैले श्रीमतीलाई बोलाएँ । तिनै व्यक्ति दलित समुदायबाट भारतको राष्ट्रपति बने ।

नेपालको सार्वभौमिकता पूर्ण थियो भन्न सकिँदैन । ब्रिटेनले भनेको कुरा नाईं भन्न सक्ने अवस्था थिएन । जंगबहादुरकै कुरा गर्ने हो भने पनि त्यो अवस्था थिएन ।

जनरल हट्सनले भारतीय सैनिक विद्रोहका लागि आफ्नो बटालियन लिएर दक्षिणमा मद्रासबाटै मार्च गरेर आएका थिए । जंगबहादुरले जब १० हजारको फौज लिएर गए, लखनऊ र उत्तरी भारतका विभिन्न ठाउँको विद्रोह साम्य पार्न सफल भए हट्सन । कूटनीतिक, रणनीतिक सबै हिसाबले नेपालले ब्रिटिसहरुको सामना गरेको थियो ।

डेबिट अक्टरलोनीले ‘मल्टिपल फ्रन्ट’मा नेपालमाथि आक्रमण गरेका थिए । र, देहरादूनदेखि पूर्वसम्म, मकवानपुरको हेटौंडासम्म लडाईं भएको थियो । लासहरुको खात लागेको थियो भनिन्छ । जहाँ प्रत्याक्रमण पनि भएको थियो । निकै घमासन भएको थियो ।

अन्त्यमा हामीले ३० प्रतिशत भूमि गुमाउनुपर्‍यो । त्यो गुमाउनुमा मलाई लाग्छ सायद नेपाल राज्यका केही कमजोरी थिए । किनभने कुमाऊ, गढवालतिर लोकप्रिय बन्न सकेको थिएन । त्यसले गर्दा पनि समस्या भयो । स्थानीय बासिन्दाले विद्रोह गरेर भारतकै पक्षमा लागेको भन्ने गरिन्छ ।

त्यतिबेला अमरसिंह थापा कमान्डर थिए । उनको पोजिसन त भिन्दै प्रकारको छ । यो विषयमा इतिहासविदहरुले प्रष्ट कुरा गर्न सक्छन् होला । अझ केही कन्फ्युजनहरु अवश्य पनि छन् ।

अमरसिंह थापाको दूरदृष्टि थियो । र, उनले शुरुमै भनेका थिए नेपाल दरबारलाई ‘हामीले ब्रिटिससँग युद्ध गर्नु उचित हुँदैन । किनभने, हामीसँग त्यो तयारी पनि छैन । हामी हार्छाैं।’

पहिले नै चेतावनी दिइसकेका थिए, उनले । तर, भीमसेन थापाको व्रिटिसहरुप्रति धेरै ठूलो आक्रोश थियो । उनी जसरी भए पनि भारतबाट ब्रिटिस राज हटाउन चाहन्थे । त्यसका लागि उनले चीन र भारतकै राजारजौटाहरुलाई पनि चिठी लेखेका थिए ।

तर, उनी आफ्नो मिसनमा असफल भए र अन्त्यमा उनको पनि सारै निर्मम तरिकाबाट अन्त्य भयो । र, यसमा कुनै शंका छैन, त्यसबेलाका नेपालका राजनेताहरुले एउटा ब्लन्डरचाहीं गरेकै हुन् ।

त्यही कुरा जंगबहादुरले बिर्सन सकेनन् र उनी शक्तिमा आए । जंगबहादुर ‘सेल्फ मेड’ राजनेता हुन् । उनीजस्तो राजनेता त्यसबेला सायद कोही पनि थिएन होला, नेपालमा । किनभने, उनले विचित्रको एउटा रणनीति प्रयोग गरेका छन् । त्यसलाई म ‘बाइफ्रन्टल’ भन्छु ।

उनको एउटा पक्ष थियो, ब्रिटिसलाई जिस्क्याउनु हुँदैन । केही वर्षअघि मात्र हामीले युद्ध हारेका थियौं । नेपालको धेरै ठूलो भूभाग गुमेको थियो भन्ने कुरा उनले बिर्सेका थिएनन् । र, अर्काे पटक फेरि भूभाग गुमाउने जोखिम उठाउन चाहँदैनथे ।

त्यसैकारणले भारतभर दन्केको विद्रोहको आगो निभाउन उनले १० हजार फौज लिएर गए । र, अंग्रेजलाई सहायता गरे ।

झाँसीकी वीरंगनाको चिठ्ठी पनि आएको थियो, जंगबहादुरलाई । हिन्दू राजा भएर पनि फिरंगीहरुलाई सहायता नगर्न उनले आग्रह गरेकी थिइन् । र, लड्डा लड्दै मरिन् पनि उनी ।

जंगबहादुरको अर्काे पक्ष पनि थियो । अवधकी बेगम हजरत आफ्ना छोरा र कमान्डर नाना शाह भागेर नेपाल आएका थिए । उनीहरुलाई फर्काइदिन इस्ट इन्डिया कम्पनीले गरेको आग्रह जंगबहादुरले मानेनन् ।

त्यस्तै, पञ्जावकी रानी पनि आएकी थिइन्, त्यसरी नै । उनलाई फर्काउन मानेनन्, जंगबहादुरले । उनले बडो साहसका साथ भनेका छन्, ‘हिन्दू राज्यमा शरणागतको मरण हामी गर्दैनौं ।’

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएका नेपाली सैनिकले गरेका राम्रा कामको संकलन गर्नुपर्छ । र, भावी पुस्तालाई हाम्रा वीरगाथाहरु सुनाउन छुटाउनु हुँदैन

उनका केही कमजोरीका कुरा पनि सुनिएका छन् । जस्तोः नाना साहबसँग नौलखा हार थियो भन्ने सुनिन्छ, त्यो उनले लिए ।

मराठाकी रानीले थापाथलीमा लक्ष्मीनारायणको मन्दिर निर्माण गरेकी थिइन् । त्यो त्यतिबेलाको प्रमाणका रुपमा अझै छँदैछ । हामीमा आत्मविष्मृतिको रोग छ । तर, इतिहासका सबै कुरा बिर्सनु हुँदैन । हामीमा बिर्सने बानी छ ।

यस्ता विषयलाई पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ । सामाजिकीकरणको प्रक्रियामा लैजानुपर्छ । बलभद्र र भक्ति थापाहरुका वीरगाथाहरु बिर्सनु हुँदैन ।

अहिले पनि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएका नेपाली सैनिकले गरेका राम्रा कामको संकलन गर्नुपर्छ । र, भावी पुस्तालाई हाम्रा वीरगाथाहरु सुनाउन छुटाउनु हुँदैन ।

२१ औं राष्ट्र नेपाल

विश्वको २१औं राष्ट्र हो, नेपाल । नेपाल राज्यको संरचनामा काठमाडौं जोडिएपछि यसको आधुनिक राज्यका रुपमा शुरुवात भयो ।

जुन कसैले रोक्न सकेन/पाएन । आक्रमण त पछि पनि भएका हुन् । १८५६ मा तिब्बतसँग युद्ध भएकै हो । १८१४/१६ मा ब्रिटेनसँग युद्ध भएकै हो । तर नेपाल टुक्रिएन । पृथ्वीनारायण शाहले पनि यो कुरा बुझेका थिए । र, भाइहरुले भाग माग्दा दिएनन् । यसमा उनको दूरदर्शिता देखिन्छ ।

विश्वको पहिलो राज्य चीन हो । नेपालको स्थापना भएको कुरामा केही विवाद होला । तर, सन् १७६८ लाई नेपालको स्थापना भएको मानिन्छ । जतिबेला नेपाल नयाँ राज्यका रुपमा प्रादुर्भाव भएको मानिन्छ ।

पुरानो राज्यका रुपमा त कहिले खुम्चियो, कहिले ठूलो भयो भन्ने कुरा छन् । अंशु बर्मा, मानदेवदेखि लिएर अझ त्यसभन्दा अगाडि विक्रमादित्यको शिलालेखमा पनि नेपालको उल्लेख छ । यलम्बर आदिहरुको पनि चर्चा हुन्छ । अब धेरै पर जान म त्यति आवश्यक ठान्दिनँ ।

नेपालको गाथा त हजारौं वर्ष पुरानो छ । तर, नेपाल राजनीतिक र आधुनिक राज्यका रुपमा स्थापना भएको सन् १७६८ मै हो । कसैले नुवाकोटबाट शुरु गर्नुपर्छ भन्छन् । पृथ्वीनारायणपछि बहादुर शाहले पनि त पूर्वपश्चिम धेरै ठाउँलाई जोडे । त्यसैले कहाँबाट शुरु गर्ने ?

नेपाल राष्ट्रराज्य हो कि राज्यराष्ट्र भन्ने कुरामा पनि विवाद छ । पहिले राष्ट्र बन्यो कि राज्य, या राज्य बनेर राष्ट्र ?

मेरो विचारमा राज्य बन्यो, त्यसपछि राष्ट्र । अझै पनि पूर्ण रुपमा राष्ट्र बन्ने प्रक्रियामै छ ।

चीन थियो पहिलो । दोस्रो स्यानम्यारिनो, तेस्रो जापान त्यसपछि क्रमशः फ्रान्स, डेनमार्कलगायत जन्मेका हुन् । यूरोपका मात्रै १३ राज्य नेपालभन्दा पहिले स्थापना भएको देखिन्छ । यो रुचिकर विषय हो । २१/२२ राज्यमै नेपाल जन्मिएको छ ।

एसियामा पनि त्यतिबेला पाँचौं शताब्दिमा जापान, सन् १३५० मा थाइल्यान्ड, जुन नेपालभन्दा चार सय वर्ष पुरानो हो । इरान १४९९ मा, अफगानिस्तानमा अलि द्विविधा छ । अफगानिस्तानलाई नेपालभन्दा पछि बनेको राज्य मान्ने हो भने नेपाल दक्षिण एसियाकै पहिलो राज्य हो ।

हाइटी १८०४ मा आएको हो । अमेरिका नेपालभन्दा आठ वर्षपछि मात्रै राज्य बनेको हो ।

अर्काे अनौठो कुरा के भने ‘क्वार्टर मिलिनियम’ अहिलेसम्म कुनै राज्यले मनाएको देखिएन । ‘क्वार्टर मिलिनियम’ मनाउने नेपाल विश्वको पहिलो राष्ट्र हुँदैछ ।

भारत सन् १९४७ मा मात्रै राज्य बनेको हो । भारत ठूलो सभ्यता हो । तथापि, चीन सभ्यता र राज्य एकसाथ बनेको हो । भारत राज्यपछि मात्रै बन्यो । पहिले सभ्यता मात्र थियो, आत्मनिर्भर थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment