Comments Add Comment

विजयपुर दरबार परिसरमा पानी ट्यांकी बनाउन लागेको भन्दै स्थानीय आन्दोलित


२९ पुस, धरान । विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक एवं पुरातात्विक स्थलहरूको उत्खननमा पुरातत्व विभागले चासो देखाएको छ । विभागले भविष्यमा दरबार परिसरमा उत्खनन कार्य थाल्नका लागि टोली खटाउन सक्ने सङ्केत पनि दिएको छ ।

तर विजयपुर दरबार परिसर क्षेत्रमा खानेपानी आयोजनाअन्तर्गत पानी ट्याङ्की निर्माण गर्ने विषयमा विवाद भएकाे छ ।

एसियाली विकास बैंकले धरान उपमहानगरपालिकासँग सहकार्यमा एकीकृत सहरी विकास परियोजना(आईयूडीपी) अन्र्तगत खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा दरबार परिसरको मध्यभागमा सात कट्ठा वन फँडानी गरेको थियो । करिब वर्षदिनको अवरोधपछि ट्याङ्की निर्माण गर्ने प्रक्रिया पुनः सुरु गर्न सङ्केत आएपछि असन्तुष्ट पक्षले सङ्घर्ष थालेको थियो । ऐतिहासिक महत्त्वको सम्पदा संकटमा परेको भन्दै विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले विभागमा गत माघ २१ गते निवेदन दर्ता गरेको थियो । पुरातात्विक विभागले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी धनकुटास्थित क्षेत्रीय प्रमुख चन्द्रप्रसाद अधिकारीलाई विवादित स्थलमा खटाएको छ ।

शुक्रबार स्थलगत अध्ययनका लागि आन्दोलनकारी र सञ्चारकर्मीहरूसँग पुगेका अधिकारीले पुरातात्विक एवम् ऐतिहासिक संरचनाको अवस्था र सम्भावित क्षतिबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए । ‘पानी ट्याङ्की निर्माणले पुरातात्विक महत्त्व नष्ट गर्छ या गर्दैन त्यो विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउनेछु,’ अधिकारीले भने, ‘विजयपुरकालीन इतिहासबारे सरकारी दस्तावेजहरूमा पनि पर्याप्त चर्चा छ । यस्ता प्राचीन स्थलहरूमा संरचना निर्माण गर्दा पुग्ने असरबारे पनि उल्लेख गर्नेछु ।’

क्षेत्रीय सङ्ग्रहालय प्रमुखसमेत रहेका अधिकारीले स्थलगत अध्ययनका क्रममा विजयनारायण दरबारको अवशेष क्षेत्र, चौतारिया बुद्धिकर्णको गढी, फँडानी भएको खलँगा क्षेत्र, सेनकालीन ढुङ्गा, कैदी राख्ने तुरूङलगायतका संरचनाहरूबारे जानकारी लिएका थिए । उनले निवेदनमा सरोकार पक्षबाट उत्खननको माग पनि आएकोले आवश्यकता परे भग्नावशेष इलाकाहरूबाट उत्खनन कार्य पनि थाल्न सकिने आधारहरू रहेको बताए ।

केही समयदेखि दरबार परिसर क्षेत्रमा पानी ट्याङ्की निर्माण गर्न नहुनेललगायतका दश बुँदे माग राख्दै संघर्ष समितिले आन्दोलन गरिरहेको छ । त्यसमध्ये दरबार परिसरलाई विश्व सम्पदा सूचीमा राख्दै तत्काल सीमाङ्कन र उत्खनन कार्य थालिनुपर्ने माग प्रस्तुत गरेको समितिका संयोजक सुवासचन्द्र हुक्पा चोङवाङले जनाए । ‘दरबार परिसरलाई संरक्षण गर्न पुनःनिर्माणको कार्य अगाडि बढाउन पनि उत्खनन कार्य थाल्नुपर्छ । राष्ट्रिय सम्पदा सूचीमा रहेको दरबार भग्नवाशेषलगायतका संरचनाहरूलाई एकीकृत रूपमा दरबार परिसरभित्र राखिनुपर्छ,’ चोङवाङले भने ।

आदिवासी जनजाति महासङ्घ नगर अध्यक्षसमेत रहेका चोङवाङले विजयपुर दरबार परिसरको इतिहास आदिवासी जातिसँग सम्बन्धित रहे पनि साझा सम्पदा रहेकाले सबैले अपनत्व महसुुस हुने गरी संरक्षण कार्य अगाडि बढ्नुपर्नेमा जोड दिए । विजयपुर दरबार परिसर बचाऊ अभियानका सदस्य अमित थेवेले विजयपुरकालीन तथा सेनकालीन राजधानीसमेत रहेको विजयपुर दरबार परिसरको वृहत्तर विकासका लागि राज्यस्तरबाट पहलकदमी थालिनुपर्ने जिकिर गरे । ‘राष्ट्रिय सम्पदामा सूचीकृत विजयपुर दरबारसँगै समग्र परिसरलाई जोगाउन सङ्घीय तथा प्रादेशिक सरकारले नेतृत्व लिनुपर्छ,’ उनले थपे, ‘संरक्षणको काममा ऐतिहासिक सम्बन्ध राख्ने समुदायलाई साथमा लिएर राज्यले नै योजना निर्माणदेखि लगानी गर्ने वातावरण बन्नुपर्छ ।’ धरान र पूर्वी क्षेत्रलाई विश्वसामु चिनाउने सबैभन्दा बलियो आधार विजयपुर रहेकाले परिसरको भौगोलिक सिमाङ्कन, उत्खनन र विकासको गुरूयोजना निर्माण सँगसँगै लैजानुपर्ने बताए । विजयपुर दरबार भग्नावशेष, बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर गरी सात वटा स्थलहरूलाई पुरातात्विक विभागले सम्पदाका रूपमा अभिलेखीकरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment