Comments Add Comment

प्रदेश ७ को सरकार चलाउन ३४ कर्मचारी मात्रै हाजिर

२९ माघ, कैलाली । ७ नम्बर प्रदेश सरकार सञ्चालनका लागि नेपाल सरकारले २ सय ८७ कर्मचारीको अन्तरिम दरवन्दी स्वीकृत गरे पनि अहिलेसम्म धेरै कर्मचारी अस्थायी राजधानी धनगढी आइपुगेका छैनन् ।

प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएर सभामुख चयन प्रक्रियालगायतको महत्वपूर्ण कार्य सुरु हुँदासमेत दरबन्दीअनुसार कर्मचारीको उपस्थिति हुन नसकेको हो । १ सय ५ जना कर्मचारी खटेको भनिए पनि आइतवारसम्म ३४ जना कर्मचारी मात्रै हाजिर भएका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

अन्तरिम दरबन्दीअनुसार कर्मचारीहरुको उपस्थिति समयमै नहुँदा विभिन्न मन्त्रालयहरु स्थापना, स्तरोन्नति लगायतको कार्यले समेत गति लिन सकेको छैन । भौतिक तथा पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा अहिलेसम्म एकजना पनि कर्मचारी नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिए ।

कर्मचारी खटनपटन कार्यलाई व्यवहारिक बनाउनका लागि नेपाल सरकारलाई अनुरोध गरेको र दैनिक प्रतिवेदन पनि पठाइरहेको सचिव कँडेलले जानकारी दिए । प्रदेश सरकारका ९ वटा अंगमध्ये प्रदेश सभा तथा प्रदेश संसद सचिवालय, प्रदेश प्रमुखको कार्यालयसहित चार वटा मन्त्रालय सीमित कर्मचारीको भरमा सञ्चालनमा आएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय केहि कर्मचारीको भरमा सञ्चालनमा रहेको सचिव कँडेलले बताए ।

कार्यालयहरुको भौतिक संरचना, साधन स्रोतको व्यवस्थापन र प्रक्रियागत सुदृढिकरण गर्ने सन्दर्भमा भौतिक उपस्थिति र खर्चने समय, सीपलाई अवसर र चुनौतीको रुपमा लिएको सचिव कँडेलले बताए । उनले कर्मचारी दरबन्दी पूर्ण नभए पनि प्रदेश सरकार चुस्त र दुरुस्त रुपमा सञ्चालन गर्नका लागि तत्पर रहेको बताए ।

आज सभामुख चयन हुने

यसैबीच सोमबार बस्ने ७ नम्बर प्रदेशसभा बैठकले सभामुख चयन गर्ने भएको छ । सभामुखमा एमालेबाट निर्वाचित सांसद अर्जुन थापा निर्विरोध भइसकेका छन् । सभामुखमा उनको मात्रै उम्मेदवारी परेकाले सोमबार बस्ने संसद बैठकमार्फत थापालाई नै निर्वाचित भएको घोषणा गरिने छ ।

सभामुखका उम्मेदवार थापाको प्रस्तावकले निर्णयका लागि संसदमा पेश गर्ने र समर्थकले समर्थन जनाउनेमा मात्रै सोमवारको बैठक केन्दि्रत रहने संसद सचिवालयका सचिव मुरारी महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment