Comments Add Comment

एमाले महासचिवले भने-पार्टी एकतामा विचार र संगठनका राँटा मिलाउन बाँकी छ

सरकार गठन र पार्टी एकता कुन पहिले भन्ने बहस औचित्यहीन


२९ माघ,काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीसँगको पार्टी एकता विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा रहेको बताएका छन् ।

पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका महासचिव पोखरेलले सिद्धान्त र संगठनका राँटा  (नमिलेका कुरा) नसम्याई मिलौं मिलौं भनेरमात्र नहुने बताएका छन् ।

एमाले सम्बद्ध निर्माण व्यवसायी संगठनको काठमाडौंमा जारी महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले भने ‘संगठनात्मक मामिलामा साझा फुटिङ गर्नुछ । संगठनात्मक एकताको सन्दर्भमा पनि साझा धारणा बनाउन बाँकी छ । दुवै पार्टी तलदेखि माथिसम्म भोलि एकीकृत ढंगले कुन विचार र संगठनात्मक ढाँचामा निर्देशित हुन्छौं भन्ने कुरामा केही राँटा छन् । ती मिलाउने क्रममा अहिले हामी छौं ।’

पोखरेलले माओवादी केन्द्रको ४ हजार सदस्यीय केन्द्रीय कमिटी र एमालेको २ सय सदस्यीय केन्द्र कमिटी रहेको भन्दै संगठनको एकीकरण कसरी गर्ने भन्नेमा छलफल चलिरहेको बताए । उनले पार्टीको संगठन भनेको एउटा डालोबाट अर्को डालोमा सामान खन्याए जस्तो नहुने प्रष्ट पारे ।

पोखरेलले भने ‘एमाले एउटा संरचनामा खडा भएको पार्टी हो । यो पार्टीबाट बेला बेलामा ठूलै नेताहरु बाहिरिदा पनि संगठन टसमस नहुने कारण नै यसको व्यवस्थित संरचना हो । यो संरचनामा र माओवादीको संरचनाबीच रहेका राँटा मिलाउने काम बाँकी छ । यत्तिकै मिलौं मिलौं भनेरमात्र हुँदैन ।’

पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने विवाद औचित्यहीन रहेको पोखरेलले बताए । उनले भने ‘सरकार गठन संवैधानिक प्रक्रिया अनुसार हुन्छ,त्यसो गर्दा पार्टी एकता त्यो भन्दा पहिले पनि हुन सक्छ, पछि पनि हुनसक्छ । यी दुवै अलग विषय हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment