Comments Add Comment

शुक्लाफाँटामा लजालु शिकारीलाई पछ्याउँदा …

यस वर्ष बाघ गणनाका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जाँदा चितुवाको तस्वीर खिच्ने दुर्लभ अवसर मिल्यो ।

शुक्लाफाँटामा चितुवा धेरै देखिने गरेको सुनेको थिएँ, जसलाई प्राविधिक भाषामा साइटिङ भनिन्छ । तर, तस्वीर खिच्न पाइने हो कि नपाइने हो भने भन्ने कौतुहलता थियो । र, खुला ठाउँमा चितुवासँग जम्काभेट नभएको पनि दुई वर्ष बितिसकेको थियो ।

आखिर सोचेजस्तै भयो । शुक्लाफाँटामा चितुवाको तस्वीर खिच्ने अवसर मिल्यो । र, तीन दिनको जंगल सफारीमा तीनै दिन जम्काभेट भयो । बाटोमा हिँडिरहेको, खेलिरहेको र झाडीमा हिँड्दै गरेको । मेरो क्यामेरामा यसरी नै कैद भयो, ‘लजालु शिकारी’ ।

दुई वर्षयता फाट्टफुट्ट तस्वीर खिच्न पाए पनि यसपटकझैं धित मरुन्जेल क्यामेरामा कैद गर्न पाएको थिइनँ ।

चितवनबाट शुक्लाफाँटा पुगेदेखि नै चितुुवाबारे निकुञ्जका कर्मचारी र पथप्रदर्शकहरुसँग जिज्ञासा राखिरहेको थिएँ, पाइने स्थान, संख्या आदि आदि ।

एक दिन चितुवा भेटेरै छाड्ने उद्देश्यले निकुञ्जभित्र छिरें । म र चालक देवेन्द्र शाही ठकुरी यताउता भौंतारिँदै थियौं । करिब आठ सय मिटर टाढा बाटो पार गर्न लागेको चितुवा देखियो । मैले म्यामेराको लेन्स तेर्स्याएँ । केही क्लिक गरिसक्दा नसक्दै भागिहाल्यो । हामीले पछ्याउनै सकेनौं ।

दोस्रो दिन फेरि खोजी शुरु भयो । अघिल्लो दिन देखिएकै इलाकामा ढुकेर बसें । त्यसले त हामीलाई रुखमा बसेर हेरिरहेको रहेछ । र, हामीलाई देखेर भाग्न लाग्दा मेरो क्यामेराले ‘क्लिक’ मार्न भ्याइसकेको थियो ।

दोस्रो दिन त झनै नजिक थियो, ऊ । तर, झाडीमा, जम्मा २०/३० मिटर टाढा मात्रै । त्यसपछि गायब भइहाल्यो । तेस्रो दिन भने सय मिटर टाढा बाटोको छेउमै भेटियो । र, अलि धेरै तस्वीर खिच्न भ्याएँ ।

दोस्रो र तेस्रो दिन खिचेको चितुवा एउटै हो । पहिलो दिन खिचेको चाहिँ अलग थियो ।

चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ अर्थात् रोयल बंगाल टाइगर धेरै छन् । दुवै निकुञ्जमा चितुवा कम छन् ।

शुक्लाफाँटाको अनौठो संयोग छ । सानो क्षेत्रफलको भइकन पनि बाघ प्रशस्त छन् र बाहिरी इलाकामा चितुवाको संख्या पनि कम छैन । सम्भवतः आहाराको पर्याप्तताका कारण हुन सक्छ ।

वन्यजन्तुको तस्वीर खिच्न धैर्य चाहिन्छ, कुरेर/ढुकेर बसिरहनुपर्छ । यसपटक चितुवालाई क्यामेरामा कैद गर्दा एक घण्टासम्म कुरें, मैले । र, भेटिनासाथ क्यामेराको गति तीव्र हुनुपर्छ, क्लिक क्लिक क्लिक …. ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment