Comments Add Comment

शिवरात्रि फिवर, बाबाजीको ग्ल्यामर

कान छेडेका जोगीः कोही भोगी, कोही ढोंगी

पश्चिमी वायुको प्रभावले काठमाडौंको वातावरण चिसिएको छ । आकाश धुम्म छ, मौसम उदास छ । तर, पशुपतिनाथ परिसर छिचोल्दै जाँदा ‘मुड’ तुरुन्तै ‘चेन्ज’ हुन्छ ।

त्यहाँको माहौल विन्दास छ । चिसो मध्यन्ह ‘टप लेस’ बाबाजीसँग हाम्रो साक्षात्कार हुन्छ ।

गेरु बस्त्रले लाज मात्र ढाकेका बाबाजीलाई जाडोको कुनै पर्वाह छैन । ६ फुटको च्यादर अाेछ्याएर ‘शिवजी पोज’मा बसेका छन्, एक हातले त्रिशुल अँठ्याएर ।

उनको छेवैमा मुढो जलिरहेको छ । त्यसलाई ‘शिवधुनी’ भने हुन्छ । त्यसैको रापमा भाते भुँडी तताएर बसेका बाबाजीको अघिल्तिर केही फोटा छन्, जसमा सर्वाङ्ग बाबाजीको चर्तिकला देखिन्छ ।

त्यससँगै अक्षता र ५/१० का केही थान नोट छन् ।

‘बाबाजीको सेवा करो ! एक सर्को धूँवा तानेर वायुमण्डलमा फ्याँकेपछि राता एवं रसिला आँखाले हेर्दै उनी भन्छन्, ‘पशुपतिनाथकी पवित्र भूमि पर आया हूँ ।’

उनको फोक्सोबाट बाहिरिएको धूँवामा गाँजाको गन्ध फैलिन्छ ।

हामी बाबाजीको चरणमा पाँचको नोट राखिदिन्छौं । तर, बाबा माने पो !

उनी पैसा हामीतिरै हुत्याइदिन्छन् । डरलाग्दो आँखाले हेर्छन् । बुझ्न गाह्रो छैन, उनको निम्ति भेटी कम भयो । बाबाजी केही क्षण बार्गेनिङ गर्छन् । हामी उनलाई उपेक्षा गर्दै फोटो खिच्न थाल्छौं ।

‘फोटो मत खिचो’ बाबाजी चोर औंला ठड्याएर चेतावनी दिन्छन् ।

बाबाजी क्याम्पको ओपन सेक्रेट

पशुपतिनाथ पारि मृगस्थलीको उकालोमा लस्करै बाबाजीहरुले ‘क्याम्प’ खडा गरेका छन् । उनीहरु शिवधुनी जगाएर गजधम्म बसेका छन् ।

बसेका मात्र छैनन्, व्यापार पनि गरिरहेका छन्, चुरोटको ठूटोमा गाँजा भरेर । बाबाजीहरुको भाषामा त्यो ‘प्रसाद’ हो । शिवजीको प्रसाद ।

लागूऔषध नियन्त्रित मुलुकमा खुलमखुला बाबाजीहरु प्रसादको बिस्कुन लगाएर बसेका छन् । भक्तालु भेषमा आएका तन्नेरीहरु सोध्छन्, ‘बाबाजी प्रसाद है ?’

बाबाजी गाँजा भरेको चुरोटको ठूटो तेर्साउँछन्, ‘लिजिए ।’

त्यसवापत बाबाजीको हातमा ५० रुपैयाँको नोट प्राप्त हुन्छ । तन्नेरी क्रेताको निधारमा खरानीको टीका लगाइदिँदै बाबाजी अाशिर्वाद दिन्छन्, ‘भगवान तुम्हारा भला करे ।’

शरीरभरि खरानी घसेका, लामा जटा पालेका, निधारमा विचित्रको रंग पोतेका, गेरु बस्त्र पहिरिएका, गाँजाको लामो–लामो सर्को तानिरहेका छन्, बाबाजीहरु ।

अघिल्तिरबाट हिँड्ने बटुवा (श्रद्धालु)लाई जतिसक्दो आकर्षण गर्ने दाउपेचमा छन्, उनीहरु । जब बटुवाले चासोपूर्वक हेर्छन् । उनीहरु नजिकै बोलाउँछन् र टीका लगाइदिन्छन् ।

त्यसवपत पैसा माग्छन्, अलिकति धम्की र अलिकति अनुनयको लवजमा । भन्छन्, ‘बाबाजी के लिए कुछ खिलाओ ।’

यत्तिकैमा तीन जुनियर बाबाजी देखापर्छन् । करिब १२, १३ वर्ष उमेरका उनीहरुको चर्तिकला सहीनसक्नु छ । खासगरी, युवतीहरुलाई पच्छ्याउँछन् र धम्कीपूर्वक दान (पैसा) माग्छन् ।

जुनियर बाबाजीहरु भन्छन्, ‘हरियाणा से आया हुँ । दूर से आया हुँ । सेवा करो ।’

कमण्डुलमा पैसा नझरेसम्म उनीहरुले यसरी नै पच्छ्याउँछन्, जसरी फुटपाथमा भिखारीहरुले ‘ल्याङ’ गर्छन् ।

उनीहरुकै भीडमा नवजवान बाबाहरु छन् । उनीहरु पनि बटुवाबाट जबरजस्ती पैसा असुल गर्ने दाउपेचमा लाग्छन् । मयुरको प्वाखले हिर्काउँदै बाटो छेकेर भन्छन्, ‘बाबाजीको सेवा करो ।’

सडकको माथिल्तिर विचित्रका बाबाजीको क्याम्प छ । रापिलो आगोमा बेपर्वाह ज्यान सेकाएर बसेका बाबाजी गोरा छाला र कैलो कपाल भएका आगन्तुकले क्यामेरा तेर्स्याउनासाथ सर्तक हुन्छन्, पोज दिन्छन् ।

र, घोर्ले स्वरमा भन्छन्, ‘गिभ मनी । मनी । गिभ ।’

आगन्तुकहरु मुसुमुसु हाँस्दै अगाडि बढ्छन् । बाबाजी अघिल्तिरको त्रिशुल टिपेर हिर्काउँलाझैं गरी जंगिन्छन् । नबुझिने भाषामा ।

मदहोस बाबाको ग्ल्यामर पोज

दुई भलाद्मी बाबाजी सानो मन्दिरको आडमा सुस्ताएका छन् । पहेँलो बस्त्रधारी अधबैंशे बाबाजी एक जना बाबाजीको खुट्टामा टेकेर मसाज गरिरहेका छन् । अर्का बाबाजी गाँजा तानिरहेका छन् ।

जब बाबाजीको समिपमा एक विदेशी सुन्दरी पुग्छिन्, उनीहरू जर्‍याकजुरुक उठ्छन् । प्रशन्न मुद्रामा खडा हुन्छन् । विदेशी सुन्दरीहरु बाबाजीको जटा खोल्न लगाउँछन् र आफ्नो गलामा गलबन्दीझैं भिर्छन् ।

मोबाइलबाट फोटो क्लिक गर्छन् ।

विपरित दिशामा एक अधबैंशे बाबाजी छन्, शिवजीको गेटअपमा ।

अघिल्तिर बुढा बाबाजीहरुसँग विदेशी सुन्दरीको साँठगाँठलाई निकै चनाखोपूर्वक नियालिरहेका छन् । सुन्दरीहरुले बुढो बाबाजीको हातमा कटकटिने नयाँ ५०-५० रुपैयाँको नोट थमाइदिएपछि त ती अधबैंशे बाबाजी थप बेचैन हुन पुग्छन् ।

उनी आफूलाई सम्हाल्न सक्दैनन् । विदेशी सुन्दरीहरुको अघिल्तिर देखापर्छन् । सुन्दरीहरु अब शिवजीको गेटअपमा, क्रोधित मुद्रामा तैनाथ बाबाजीसँग फोटो खिच्न अघि सर्छन् ।

एक सुन्दरीले बाबाजीलाई पोज सिकाउँछिन् । बाबाजी मोडलझैं पोज दिएर उभिन्छन् । विदेशी सुन्दरी र अधबैंशे बाबाजीको फोटोसूट चल्छ, केही क्षण ।

फोटो सेसनपछि विदेशी सुन्दरीहरुले बाबाजीको हतमा ‘कृतज्ञता’सहित ५० को नोट थमाउँछन् । तर, त्यतिका पैसाले बाबाजीको चित्त बुझ्दैन । उनी तुरुन्तै रौद्र रुपमा देखा पर्छन् ।

अर्की विदेशी महिलाले उनको हातमा थप ५० को नोट थमाइदिन्छन् । तब, बाबाजी यसरी मख्ख पर्छन्, मानौं उनले आफ्नो ब्रान्ड भ्यालु बढाउन सफल भए ।

बाह्र-सत्ताइसका बाबाजी

पशुपतिको सम्मुखमा एक दर्जन बाबाजी धूनी जगाउँदैछन् । उनीहरुबीच ‘लकडी’को लफडा चलिरहेको छ ।

छेवैमा पोकापन्तुरो बिसाएर मुढो जलाउन ठिक्क परेका एक बाबाजीलाई अर्का बाबाजी हमला गर्न आइपुग्छन् । निर्धो बाबाजीको मुढो खोसिन्छ । उनी भनाभन गर्दै केही परसम्म पुग्छन् ।

फर्केर आउँदा उनको झिटीझाम्टा पनि गायब भइसकेको हुन्छ । निर्धो बाबाजी बेपत्तासँग रिसाउँछन् । तर, केही गर्ने ताकत छैन, उनीसँग ।

त्यही लस्करमा एक बाबाजी गाँजाको व्यापार गरिरहेका छन् । गाँजाको दोकानै फिँजाएका छन् । चुरोटको ठूटोमा गाँजा भर्दै, बेच्दै गर्छन् । अर्का हट्टाकट्टा बाबाजी र उनको पछि–पछि हिँड्ने जुनियर बाबाजीको धन्दा अर्कै छ ।

उनीहरु त्यही बाटो भएर हिँड्ने वा फोटो खिच्नेसँग पैसा असुल गरिरहेका छन् । पैसा दिन नमाने त्रिशुल तेस्याउँछन् । भर्खरै मात्र ट्राइपोट लगाएर भिडियो खिच्ने सुरसारमा रहेका एक युवकलाई उनीहरुले धपाएका छन् । यी बाबाजीहरुले दादागिरि मच्चाइरहेका छन्, त्यहाँ ।

पशुपति आर्यघाटमा लास जलाउने उपक्रम जारी छ । त्यहाँबाट आएको धुँवामा गाँजाको गन्ध समिश्रण भएर वायुमण्डलमा फैलिएको छ । पारितिर (पशुपति मन्दिर) आर्यघाट किनारमा काँवरिया टोली ढोलक र झ्याम्टाको चर्को संगीतमा नाचिरहेकाे छ ।

यता, बाबाजीहरु बिन्दास मुडमा गाँजा तानिरहेका छन् ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment