बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

प्रेस रिभ्यूः ओली–प्रचण्ड दुवै अध्यक्ष, सरकार र पार्टीको नेतृत्व आलोपालो

सिंहदरबार भत्काउन ‘लबिङ’

Suzuki
अनलाइनखबर


१ फागुन, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न शीर्षकमा एमाले–माओवादी एकता प्रक्रियाबारे खबर लेखेका छन् ।

कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिकाले एकता वार्ता सहमति नजिक पुगेको लेखेका छन् भने राजधानी र अन्नपूर्णले एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’ नै भएको जनाएका छन् । पार्टी नेतृत्वबारे पनि पत्रपत्रिकाहरुको समाचार बाझिएको छ । कसैले दुवै दलका अध्यक्ष नयाँ बन्ने पार्टीमा पनि अध्यक्ष नै  हुने लेखेका छन् भने केहीले सह-अध्यक्षको पद सिर्जना गरेर सरकारको समेत आलोपालो नेतृत्व गर्ने विषयमा केपी अाेली र प्रचण्ड सहमत हुन लागेकाे दाबी गरेका छन् ।

केही महिनादेखि चलेको एमाले–माओवादी एकता प्रक्रियामा प्रगति हुन नसकिरहेका बेला दुई पार्टी सहमति नजिक पुगेका हुन् ।

प्रदेश ३ मा सोमबार पहिलो प्रदेश सरकार गठन भएको छ । आजका अखबारहरुले यो विषयलाई पनि पनि नछुटाइकन छापेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शपथ लिएसँगै उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

एमाले–माओवादीले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारमध्ये आफ्नो भागमा परेका नामहरु निर्वाचन आयोगमा बुझाएको समाचारलाई पनि पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा आज लेखेका छन् ।

राजनीतिक विषयका अतिरिक्त बेथितिको विषय पनि आजको प्राथमिकतामा परेको छ । नागरिक दैनिकले कार्यविधि मिचेर बाँडिएको उपचार खर्चको फेहरिस्त पस्केको छ भने अन्नपूर्णले सेतो नम्बर प्लेटलाई रातो बनाएर ठूला व्यक्तिहरुले नै कानून मिचेको लेखेको छ ।

यसका अतिरिक्त मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको, अनिवार्य शिक्षासम्बन्धी कानुन तयार भएको लगायत समाचारले पनि आजका पत्रपत्रिकामा उत्तिकै ठाउँ पाएका छन् ।

एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रू’

राजधानी दैनिकले अन्य पत्रिकाहरुले जस्तै एमाले–माओवादी एकता प्रक्रियामा भएको प्रगतिलाई मुख्य समाचार बनाएको छ । राजधानीका अनुसार एकता प्रक्रियामा ब्रेक थ्रू नै भएको छ ।

राजधानी लेख्छ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा देखिँदै आएका समस्याको गाँठो फुकाएका छन् । सरकार र पार्टी नेतृत्वसहित सैद्धान्तिक तथा वैचारिक विषयमा लामो समयदेखि अल्झिएका दुई दलले महत्त्वपूर्ण विषयमा समझदारी जुटाउँदै एकताको गत्यावरोध हटाएका छन् ।

राजधानीका अनुसार सरकार गठनअघि एकताको खाका बनाउने र लगत्तै पार्टी एकता गर्ने सहमति बनेको छ । पार्टी र सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षले आलोपालो नेतृत्व गर्नेछन् भने सिद्धान्त र विचार निर्धारण महाधिवेशनबाट हुनेछ ।

अन्नपूर्ण पोस्ट दैनिकले  लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई कम्युनिस्ट पार्टी एक हुने भएको लेखेको छ । दुई पार्टीका शीर्ष नेताको पदीय व्यवस्थापनको विषय टुंगिएपछि पार्टी एकतामा सहमति भएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार दुवै नेताले आलोपालो प्रधानमन्त्री हुने र एक प्रधानमन्त्री हुँदा अर्कोले पार्टी नेतृत्व गर्ने विषयमा समेत एकमत भएका छन् । पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी रहनेछ ।

नयाँ पत्रिका दैनिकले भने एमाले–माओवादी पार्टी एकीकरले गति लिएको उल्लेख गर्दै ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्षमध्ये एकको व्यवस्था गरेर अघि बढ्नेबारे सहमतिनजिक पुगेको लेखेको छ ।

एकीकृत पार्टीमा ओली र प्रचण्ड दुवैजना अध्यक्ष

कान्तिपुर दैनिकले वाम एकताको विधि तयार भएको र द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएको समाचार लेखेको छ । सहमतिअनुसार दुवै नेताले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राखिने छ । सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । तर, पाँच वर्षे कार्यकालभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि प्रधानमन्त्री बनाउने समझदारी भएको माओवादी पक्षको दाबी छ ।

कान्तिपुरले समाचारको अघि लेखेको छ, ‘औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुई जना अध्यक्ष रहनेछन् ।’

कानुनअनुसार यसरी बन्न सक्छ एउटै दल

नयाँ पत्रिका दैनिकले एमाले र माओवादी एकताको कानुनी प्रक्रियालाई पनि स्थान दिएको छ । कानुनबमोजिमका प्रक्रिया पूरा गरेर निवेदन दिएमा बढीमा एक साताभित्रै निर्वाचन आयोगले एकीकृत नयाँ दलको मान्यता दिन सक्ने छ । एकीकरण हुन चाहने दलले प्रक्रिया पूरा गरेमा आयोगले ‘फास्ट ट्र्याक’बाट हप्ता दिनभित्र पनि निर्णय गर्न सक्ने भएकाले दुई पार्टी एउटै नयाँ पार्टीको हैसियतमा बढीमा १० फागुनभित्र सरकारमा सहभागी हुन सक्ने समाचारमा लेखिएको छ ।

समाचारमा थप लेखिएको छ– राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरू एक–आपसमा सम्झौता गरी एकीकरण या गाभिन सक्ने व्यवस्था छ । सो दफाअनुसार सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ । तर, ऐनकै दफा २ मा केन्द्रीय समितिबाट अख्तियार प्राप्त केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिको निर्णयका आधारमा पनि निवेदन दिन सकिने भएकाले एमालेले केन्द्रीय कमिटी वा स्थायी समिति तथा माओवादीले केन्द्रीय कमिटी वा केन्द्रीय सचिवालय, पदाधिकारीस्तरको समितिले एकताको निर्णयका आधारमा आयोगमा निवेदन दिन सक्नेछ । तर, त्यसरी निवेदन दिँदा कुन दलमा गाभिने वा नयाँ दलको नाम के हुने स्पष्ट रूपमा खुलाउनुपर्ने ऐनमा व्यवस्था छ ।

आवश्यक जाँचबुझ गरेर प्रक्रिया पूरा गरेपछि ४५ दिनभित्र प्रमाणपत्र दिनेछ । त्यसलगत्तै राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनी रूपमा दुई दलको हैसियत एकीकृत नयाँ पार्टीको हैसियतमा हुनेछ ।

सेतो प्लेटलाई रातो बनाएर सरकारी गाडी दुरुपयोग

अन्नपूर्ण पोस्ट दैनिकले मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कर्मचारीले सेतो प्लेटका सरकारी गाडी चढ्नुपर्ने सरकारी नियम भए पनि नियमविपरीत सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी प्रयोग गर्ने गरेको समाचार लेखेको छ ।

समाचार अनुसार, अधिकांश मन्त्री सेतो प्लेटको गाडी चढ्न छाडेर रातो प्लेटमा हुइँकिने गरेका छन् ।

गृह मन्त्रालयका अनुसार झन्डै ५ सय उच्चपदस्थले सरकारी नियम कुल्चँदै सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी दुरुपयोग गर्दै आएका छन् । सरकारले उपलब्ध गराएको रंगीन प्लेटको गाडी थन्क्याएर मन्त्रीहरू मन्त्रालयका गाडीलाई रातो प्लेट बनाउन लगाई हुइँकिने गरेका छन् ।

‘सरकारी मापदण्ड उल्लंघन गर्नेमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव नै बढी छन्’, अन्नपूर्णले समाचारमा लेखेको छ ।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन तथा सवारी शाखाका अनुसार सरकारका प्रायः सबै सचिवले सेतो प्लेट हटाएर रातो प्लेट बनाउन लगाएका छन् भने केही सहसचिवले पनि रातो प्लेट भएको गाडी प्रयोग गरिरहेका छन् ।

सिंहदरवार भत्काउन फेरि लबिङ

भूकम्पले क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा जसरी पनि जोगाउनुपर्ने राय व्यक्त भइरहेको बेला परामर्शदाता कम्पनीहरुले तत्काल भत्काउनुपर्ने पक्षमा फेरि लबिङ थालेको समाचार कान्तिपुरमा छ ।

सिंहदरवार प्रबलीकरण परियोजनाअन्तर्गत सिंहदरवारको मुख्य आकर्षण रहेको पश्चिमी मोहडालाई प्रबलीकरण गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने भन्नेबारे सूक्ष्म अध्ययन गर्न प्रस्ताव पेस गरेका कन्सल्टेन्सीहरुले यस्तो लबिङ तीव्र बनाएका समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ महिनाअघि परामर्शदाता आह्वान गरेको थियो । जसमा बिभिन्न ६ वटा कन्सल्टिङ कम्पनीले आफ्नो प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरिसकेका छन् ।

प्रस्ताव हाल्नेमध्ये डिजिकम इन्जिनियरिङ कन्सल्टसहितका केही कम्पनी सिंहदरवार संरचना भत्काउनुपर्ने पक्षमा यसअघि नै खुलेर बहसमा आइसकेका छन् । यही कम्पनीले सिंहदरवारबारे यसअघि दिएको मूल्यांकनको प्राविधिक निचोडमा ‘ग्रेड ४’ (भत्काउनैपर्ने) सुझाव दिएको थियो ।

डिजिकमको यो सुझाव विवादास्पद बनेपछि फेरि विस्तृत र भिन्न तहमा अध्ययन जरुरी रहेको भन्दै अर्को चरणमा अध्ययन प्रस्तावक आह्वान गरिएको कान्तिपुरले समाचार लेखेको छ ।

विद्यालय तहको पाठ्यक्रम परिवर्तन गरिँदै

विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानूनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्याएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि १२ सम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्यक्रम निर्माणमा केन्द्र जुटेको हो । ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध्यमिक, ९ र १० माध्यमिक तथा कक्षा ११ र १२ लाई उच्चमाध्यमिक तहसतिको पाँचवटा संरचना थियो ।

संशोधित ऐनले कक्षा १ देखि आठसम्म आधारभूत र नौदेखि १२ सम्मको शिक्षालाई माध्यमिक भनेको छ ।

संरचना परिवर्तनसँगै पाठ्यक्रम पनि नयाँ बनाउनुपर्ने भएकाले केन्द्रले विज्ञ समूह गठन गरेर नयाँ पाठ्यक्रमको प्रारुप तयार गरेको समाचारमा उल्लेख छ ।

मेलम्ची अन्तिम चरणमा

नागरिक दैनिकका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रू’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ ।

‘बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रू हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले नागरिकसँग भनेका छन्, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’

सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रू भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थ्रू्र गर्न अहिले तीव्र गतिमा काम भइरहेको समाचारमा उल्लेख छ ।

२०७४ फागुन १ गते ७:१९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Khamma Singh Darlami लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १२:४२

    Two Chairman??
    There is universal truth that Chairman word itself have no plural.
    Mr. Oli dosenot trust Prachanda??

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this