Comments Add Comment

डिभिजन टूको गणित: क्यानडालाई हराए नेपाल विश्वकप छनोटमा


१ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन ।

नेपालले भोलि क्यानाडासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । कठिन प्रतिद्वन्द्वीविरुद्धको यो म्याच नेपालका लागि ‘निर्णायक’ बन्न सक्छ ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाटै विश्वकप छनोटमा स्थान बनाउन चाहन्थ्यो । तर, हङकङसँगको हारसँगै त्यो सम्भावना टर्‍यो । यद्यपि, डिभिजन टूको शीर्ष दुई टोलीले पनि छनोट खेल्ने भएकाले नेपालले आश मारेको छैन ।

ओमानसँग अनेपक्षित हार व्यहारेको नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कति छ त ?

अंक तालिकामा अहिले क्यानडा र नेपालको समान ६ अंक छ । तर, नेट रन रेटमा क्यानडा अगाडि भएका कारण शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा ।

यूएई र नामिबियाको दुबैको समान ४–४ अंक छ । नामिबियाले त अझ एक खेल कम खेल्न बाँकी नै छ । यस्तो अवस्थामा विश्वकप छनोट खेल्ने सम्भावना क्यानाडा र नेपालको मात्र होइन, यूएई र नामिबियाको पनि छ । केन्या र ओमानको विश्वकप छनोट खेल्ने सम्भावना भने टर्‍यो ।

आज नामिबियाले केन्यासँग खेल्नेछ । भोलि तीन खेल छन्, नेपाल भर्सेस क्यानडा, नामिबिया भर्सेस यूएई र केन्या भर्सेस ओमान ।

यदि नेपालले क्यानडालाई हराउन सक्यो भने अरु परिणाम जे भए पनि, नेपालले फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । किनकी नेपालको ८ अंक हुनेछ र बाँकी टिममा नामिबियाको मात्र ८ अंक पुग्ने सम्भावना कायम छ ।

यदि उसले केन्या र यूएई दुबैलाई हराउन सक्यो भने फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउँछ ।

तर, क्यानडासँग नेपाल हार्‍यो भने फाइनलमा विश्वकप छनोट खेल्ने सम्भावना लगभग अन्त्य हुनेछ किनकि नेपालको रनरेट कमजोर छ ।

नामिबिया र यूएई एकअर्कासँग भएकाले जुन टिम विजयी भए पनि उसले अघिल्लो चरणमा स्थान बनाउने छ ।

किनकी नेट रनरेट नेपालको भन्दा दुबै टिमको राम्रो छ ।

तर, एउटा गणीतीय सम्भावना छ ।

यदि आज केन्याले नामिबियालाई हरायो र यूएई भर्सेस नामिबियाको खेल वर्षाले विथोलिएर दुबैले अंक बाँडे भने नेपालको सम्भावना रहन्छ ।

तर, ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले क्यानाडालाई नहराई सुख्खै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment