Comments Add Comment

घर गोठसँगै जल्यो खातुन परिवारमा छोरीको बिहे गर्ने सपना

१ फागुन, सप्तरी । शम्भुनाथ नगरपालिका १२ कुसहाकन जैमुल खातुनको घरमा खुशियाली छाएको थियो । जेठी छोरीको निगाह (विवाह) तय भएपछि मंगलबार कपडा खरिद गर्ने निधो गरिएको थियो ।

कस्तो कपडा खरिद गर्ने ? भन्ने बिषयमा सोमबार साँझ घरमा सबै जनासँग छलफल गरेर परिवारका सबै जना सुते ।

छोरीको विवाहकै निम्ति साउदी अरेबियामा काम गरिरहेका जैतुनका पति जलधर मियाँले दुई लाख रुपैयाँ पठाइदिए । यसअघि पनि उनले तीन लाख पठाइदिएका थिए विवाहकै लागि ।

तर, नियती उल्टियो । राति अचानक भएको आगलागीले घरगोठ जल्यो, खातुन परिवार खुला आकासमुनि आइपुगेका छन् ।

उनीहरु खाना खाएर सुतेपछि एक्कासी आगो लाग्यो । मियाँ परिवारको सुत्ने घर र गोठ पूर्ण रुपमा जल्यो । सोही आगलागीमा परी छोरीको विवाहका लागि राखिएको नगद पाँच लाख, जोहो गरिएका सामान सबै जल्यो । यसबाहेक घरमा राखिएका दैनिक उपभभोग्यमा सम्पूर्ण सामान जलेको छ ।

उनले पालेका एक गाई र एक गोरु, चार वटा खसीसमेत जल्यो ।

जलधरका भाइको पनि एक घर र एक गोठ जलेको छ । उनका भाइ मुमताजको घर र गोठसँगै तीन वटा गोरु, चार वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ ।

आगलागीको कारण खुलेको छैना । यद्यपि स्थानीयहरुले गोठमा बालिएको घुरबाट आगो सल्केको हुन सक्ने बताएका छन् । इलाका प्रहरी कार्यालय पातोका सई सागीर राइनले आगो घुरबाटै सल्केको हुन सक्ने बताए ।

स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा आगो नियन्त्रण भएको छ । तर, छोरीको विवाह गर्ने तयारी भइरहेका बेला घरगोठ जलेपछि जैतुन खातुन बेहोस भएकी छन् भने परिवारमा रुवाबासी चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment