Comments Add Comment

हेलम्बुको तेम्बाथाङमा बन्ने भयो ५३ घरको एकीकृत बस्ती


१ फागुन, सिन्धुपाल्चोक । बौद्ध लामा गुरुहरुको पवित्र मन्त्र उच्चारणसँगै हेलम्बु-३ तेम्बाथानमा एकीकृत बस्तीको शिलान्यास भएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र रिम्पोछे मेमेले बस्तीको शिलान्यास शिलान्यास गरेका हुन् ।

विनासकारी भूकम्पबाट प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै उक्त बस्ती निर्माण हुन लागेको हो । स्थानीय ह्योल्मो संस्कृति झल्किने गरी बस्ती बसाउने लक्ष्य छ ।

हातमा सगुन र खादा लिएकी यम्बालामकी माया तामाङको मुहारमा खुशी छाएको थियो । ‘अब न भीरबाट ढुंगा खसेर लाग्ला भन्ने पीर, न त पहिरोको डर,’ उनले भनिन् ।

कार्यक्रममा सहभागी बौद्ध गुरुहरुलाई स्थानीय बासिन्दाले खुशी हुँदै सगुन बाँडे । स्थानीय कान्छी लामामा भूकम्पभन्दा अगाडिझैं सुरक्षित घरमा बस्ने आशा जागेको छ । उनले भनिन्, ‘घर पाउने कुरा सपना हो कि विपनाजस्तो लागिरहेको छ । नेपालमा अझै मनकारी मान्छे रहेछन् ।’

भूकम्पपछि विस्थापित भएर अन्यत्र बसिरहेका स्थानीय बासिन्दा धमाधम गाउँ फर्किन थालेका छन् । र, बस्ती निर्माणमा सघाउन अगाडि सरेका छन् ।

अक्सफाम र जनहीत ग्रामीण सेवा समितिले उक्त बस्ती निर्माण गर्न लागेका हुन् ।

उक्त क्षेत्रमा अल्पसंख्यक ह्योल्मो जातिको बसोबास छ । भूकम्पपछि विस्थापित भएर अन्यत्र बसिरहेका स्थानीय बासिन्दा धमाधम गाउँ फर्किन थालेका छन् । र, बस्ती निर्माणमा सघाउन अगाडि सरेका छन् ।

युवाले स्थानीयस्तरमै ‘इन्टर-ब्लक इँटा’ निर्माण गर्दैछन् । महिलाहरु इँटाको लागि माटो र बालुवा चाल्न व्यस्त छन् । बस्ती निर्माणमा सिंगो समुदाय नै परिचालन भएको छ । ‘हामी पनि उत्साही भएका छौं,’ जनहीत ग्रामीण सेवा समितिका कार्यक्रम प्रमुख राजेन्द्र शर्माले भने ।

करिब १५ रोपनीमा बन्ने उक्त बस्ती निर्माणको लागत करिब साढे तीन करोड रुपैयाँ अनुमानित छ, जसमा ५३ परिवारलाई राख्ने योजना छ ।

होम स्टे, सामुदायिक भवन र विद्यालयलगायत सुविधा रहने तेम्बाथाङ एकीकृत बस्ती विकास केन्द्रका अध्यक्ष साङ्गे तामाङले जानकारी दिए । बौद्ध धर्मावलम्बी ह्याल्मो जातिका लागि मर्चे गुम्बासमेत निर्माण हुनेछ ।

छिटोमा १५ चैत र ढिलोमा १ वैशाखभित्र निर्माण सकेर स्थानीय बासिन्दालाई घरहरु हस्तान्तरण गर्ने योजना छ ।

अक्सफामका आवास अधिकृत आशिषपुरुष ढकालका अनुसार भूकम्पका कारण विस्थापित भएका फादुङका पाँच, टासिथाङ्का र नादुङका २२, ऐम्बालामाका १५, घ्याङ्गुलका पाँच र थुईपालका एक परिवारलाई घर हस्तान्तरण गरिनेछ ।

एकतले घरमा तीन वटा कोठा रहने छन् । तीमध्ये दुई वटा १० फिट लम्बाइ र १० फिट चौडा हुनेछन् । एउटा कोठा भने १५ फिट लम्बाइ र १४ फिट चौडा हुनेछ । त्यसलाई भान्साका रुपमा प्रयोग गरिने छ ।

अगाडिपट्टकिो एउटा झ्याल र एउटा ढोका ह्योल्मो संस्कृति झल्किने किसिमका हुनेछन् । छानामा एउटै रंगको जस्तापाता हाल्ने योजना छ ।

ह्योल्मो संस्कृतिअनुसारका बुट्टा कुँद्न राजधानीबाट दक्ष कालीगढ ल्याइने एकीकृत बस्ती विकास केन्द्रका अध्यक्ष तामाङले बताए ।

एकतले घरमा तीन वटा कोठा रहने छन् । तीमध्ये दुई वटा १० फिट लम्बाइ र १० फिट चौडा हुनेछन् । एउटा कोठा भने १५ फिट लम्बाइ र १४ फिट चौडा हुनेछ । त्यसलाई भान्साका रुपमा प्रयोग गरिने छ ।

अक्सफाम र जनहीतले प्रतिघर अढाइ लाख रुपैयाँ खर्च गर्नेछन् । पुनर्निर्माण प्राधिकरणमार्फत् अनुदानवापत दिइने दोस्रो र तेस्रो किस्ताको सरकारी रकम यहाँका लाभग्राहीले लिने छैनन् ।

अक्सफामकी जिल्ला अध्यक्ष अनिता शाहका अनुसार पहिलो किस्ताको ५० हजार रुपैयाँ भने स्थानीय बासिन्दाले घडेरी सम्याउन खर्च गरेका छन् । अक्सफाम र जनहीतले दक्ष कामदारलगायत सहयोग दिनेछन् ।

घरमा लगाइने गारो वातावरणमैत्री ‘इन्टर-ब्लक इँटा’को लगाइने छ । ७० प्रतिशत माटो, २० प्रतिशत बालुवा र १० प्रतिशत सिमेन्टको मिश्रणबाट ठूलो आकारको उक्त इँटा बनाइन्छ । एउटा इन्टर-ब्लकले चार वटा सामान्य इँटाबराबर काम गर्छ ।

अन्य आवश्यक पूर्वाधारका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । खानेपानी, सडक, सामुदायिक भवनलगायत भौतिक संरचनाका लागि उक्त रकम खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment