Comments Add Comment

पत्रिका समाचार: सरकार गठनअघि नै वाम एकता, प्रधानमन्त्रीको राजीनामा आज


२ फागुन, काठमाडौं । राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा आज पनि एमाले–माओवादी एकता प्रक्रिया परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा यो विषयलाई आज छापेका छन् । केही पत्रिकाले वाम एकता सरकार गठनअघि हुने लेखेका छन् भने केहीले एकता संयोजन समितिबाट एकता टुंग्याउने तयारी भइरहेको दाबी गरेका छन् ।

सांसद् सिफारिस गर्दा तीन दलले बुझाएको सूची नमिलेको र आयोगले सच्याएर पठाउन गरेको आग्रहलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् । समावेशीसमूहको प्राथमिकताक्रम अनुसार दलले सूची नबुझाएपछि आयोगले पुनः यसलाई सच्याउन भनेको पत्रपत्रिकाले लेखेको समाचारमा उल्लेख छ ।

पाँचवटा प्रदेशमा सरकार गठनको प्रक्रिया अघि बढे पनि ६ र ७ मा भने ढिलाइ भइरहेको छ । आजका पत्रपत्रिकाहरुले कहाँ, कसरी प्रदेश सरकार गठन हुँदैछन् भन्नेबारे पनि चर्चा–परिचर्चा गरेका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिन लागेको समाचार कान्तिपुर दैनिकमा छ भने अन्नपूर्ण पोस्ट दैनिकले दर्दनाक घरेलु हिंसाको चित्र प्रस्तुत गरेको छ ।

सरकारमा सहभागी हुनेबारे राजपामा विवाद बढेको, प्रदेश ४ मा मन्त्रीको आकांक्षी धेरै हुँदा व्यवस्थापन पेचिलो बनेको लगायत समाचारलाई पनि आजको पत्रपत्रिकाले महत्त्व दिएर छापेको छ ।

वाम एकता सरकार गठनअघि

एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रुप दिने कसरतमा जुटेका छन् ।

कान्तिपुर दैनिकका अनुसार, निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका एमाले–माओवादीले त्यसअघि नै एउटै पाटी बनिसकेको सन्देश दिन खोजेका छन् ।

आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्टपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् ।

पार्टी एकताको विधि र सरकारको स्वरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक सहमति गरिसकेको समाचारमा उल्लेख छ । अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ ।

नयाँ पत्रिका दैनिकले एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लेखेको छ । समाचार अनुसार दुई अध्यक्षबीच भएका समझदारीलाई औपचारिकता दिन बुधबार बैठक डाकिएको छ ।

नयाँ पत्रिका दैनिकले आफ्नो समाचारको अगाडि लेखेको छ– एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

यी हुन् एकता संयोजन समितिका एजेण्डा

नयाँ पत्रिकाका अनुसार एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दैछ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटिको आकार र स्वरुप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेण्डा छन् ।

राजधानी दैनिकले एमाले र माओवादी केन्द्रले एकताको अन्तिम खाकामा आज सहमति जुटाउने जनाएको छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार र मंगलबार भएको गोप्य वार्ताको समझदारीअनुसार आज पार्टी एकता संयोजन समितिको बैठकमार्फत पार्टी एकताको मूलभूत विषयमा सहमति गरेर टुंगो लगाउने तयारी दुई दलले गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा आज

कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेको एक मन्त्रीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।

सरकारमा सहभागिताबारे राजपामा विवाद

तराई–मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपालभित्र मन्त्रिपण्डलमा सहभागी हुने विषयमा विवाद चर्किएको छ । विवाद बढेका कारण प्रदेश २ मा मन्त्रिपण्डल गठन प्रक्रियामा राजपा सामेल नहुने सम्भावना बढेको छ ।

नागरिक दैनिकका अनुसार राजपा सहभागी नभएमा उक्त प्रदेशमा मधेस गठबन्धनको मुख्य घटक संघीय समाजवादी, फोरम, नेपाल एक्लैले सरकार बनाउनेछ ।

समाचार अनुसार राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र महेन्द्रराय यादवले प्रत्यक्ष निर्वाचनबाट विजयीलाई मात्रै मन्त्रिमण्डलमा सहभागी गराउनुपर्ने तर्क राखेका छन् भने अनिलकुमार झा र राजकिशोर यादव समानुपातिक सांसद्लाई पनि स्थान दिनुपर्ने पक्षमा छन् । यही कारण विवाद चर्किएको नागरिकको समाचारमा उल्लेख छ ।

प्रदेश ४ मा मन्त्री बन्न हानथान

 

प्रदेश ४ को प्रदेशसभा भवन

 

नागरिक दैनिकमै प्रदेश ४ मा मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न सकस परेको अर्को समाचार पनि छ ।

समाचार अनुसार एमाले र माओवादी केन्द्रले प्रदेशका मन्त्रालय बाँडफाँट तयारी गरिरहँदा मन्त्रीका आकांक्षीले पार्टी तहको उपल्लो निकायमा लबिङ सुरु गरेका छन् ।

प्रदेश ४ मा तत्काल ७ वटा मन्त्रालय बनाउने र तीमध्ये मुख्यमन्त्रीसहित ५ वटा एमाले र २ वटा माओवादी केन्द्रले पाउने स्रोतको दाबी छ ।

समानुपातिक सांसद् सिफारिसः माओवादीबाट पहाडीलाई हटाइने, सिंह आउने

कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद सिफारिस गरेर निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका केही नाम सच्याउनुपर्ने भएको छ ।

निर्वाचन ऐन ०७४ अनुसार समावेशीसमूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनोट नभएको भन्दै आयोगको सोमबार बसेको बैठकले तीन दलको सूची अस्वीकार गरेको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार, बुधबार साँझसम्म नाम सच्याएर पुनः पठाउन तीनवटै दललाई पत्राचार गरेको छ ।

समाचार अनुसार आयोगले माओवादीले खस–आर्यसमूहको महिला सूचीमा रहेकी सत्या पहाडीलाई पिछडिएको क्षेत्रबाट सिफारिस गरेको भन्दै अस्वीकार गरेको छ ।

आयोगले उनको नाम हटाएर पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्तिलाई समावेश गरी पठाउन माओवादीलाई पत्राचार गरेको छ । माओवादीबाट खस–आर्यसमूहको प्राथमिकता क्रमको पहिलो नम्बरमा प्रेमबहादुर सिंह छन् ।

द्वन्द्वकालीन घटनामा फेरि उजुरी दिन सकिने

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगले द्वन्द्वकालीन घटनाका उजुरी दिन पुनः एक महिना समय दिएको छ ।

आयोगले उजुरी संकलन बन्द गरे पनि पीडितले उजुरी दिन पाउनुपर्ने माग गर्दै आइरहेका बेला पुनः उजुरी दिन सकिने व्यवस्था गरिएको समाचार गोरखापत्र दैनिकमा छ ।

समाचार अनुसार पीडितले फागुन मसान्तसम्म उजुरी दिन सक्नेछन् ।

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघ–संस्था सञ्चालनमा रहेको नागरिक दैनिकमा समाचार छ ।

पछिल्ला दशकमा करिब १३ वटा यस्ता संघ–संस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालयको शैक्षिक अस्तित्वमा नै खतरा उत्पन्न गराएको छ ।

स्रोतको हवाला दिँदै नागरिकले लेखेको छ– त्रिविको जग्गामा दर्जनबढी संघ–संस्था स्थापित भइसकेका छन् भने कतिपय स्थापना हुने क्रममा छन् ।

वायुसेवा बेथितिः चार चिनियाँ जहाज, तीन पाइलट

नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौं अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको कारोबारमा समाचार छ ।

समाचार अनुसार चारवटा जहाजका लागि कम्तीमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जना मात्र क्याप्टेन छन् । जहाज सेड्युल उडानका लागि कम्तीमा पनि ८ जना क्याप्टेन चाहिन्छ । तर निगमले यसतर्फ ध्यान नदिई जहाज मात्र भित्र्याइरहेको छ ।

र, यो पनि– २ करोडको जायजेथा पुस्तकालयलाई दान

पुख्र्यौली घर भीरगाउँ भएका ७७ वर्षीय टीकाप्रसाद लामिछानेले दुई करोड रुपैयाँबराबरको जायजेथा पुस्तकालयलाई उपलब्ध गराएका छन् ।

मधखोले काइँला साहित्यिक नामबाट परिचित लामिछानेले गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयलाई धनुकुटा देवटारस्थित पक्की घरसहित आठ आना जगा र र फर्निचर दान दिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

यो पुस्तकालय उनले ०६८ सालमा स्थापना गरेका थिए । करिब १४ वर्ष शिक्षण पेसामा बिताएका उनी ४० वर्ष पूर्वी तराईका विभिन्न ठाउँमा बसेर धनकुटा फर्किएका थिए ।

आफ्नो ठाउँलाई केही गर्न भागमा परेको जिउनी दान गरेको उनले अन्नपूर्ण पोस्ट दैनिकलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment