Comments Add Comment

नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैंले मुद्दा दर्ता गर्दै

नवराज सिलवाल

२ फागुन, काठमाडौं । पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवाल विरुद्ध सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने भएका छन् ।

सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । एक-दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।

यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । सो प्रकरण सर्वोच्च अदालतमा समेत पुगेको थियो ।

आइजीपी नियुक्ति प्रकरणमा पेश भएका अलग-अलग कार्य सम्पादन मूल्यांकनमध्ये कुन चाहिँ किर्ते हो र यसमा को कसको संलग्नता छ अनुसन्धान गरी कारवाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

सोहीअनुसार प्रहरी परिसर काठमाडौंले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकको सरुवालगत्तै अनुसन्धानका फाइल प्रहरी प्रधान कार्यालय तानेर सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्न लागिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment