Comments Add Comment

हामी मान्छे हौं कि चौरास्ताको शालिक ?

मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मानवता मरिरहेको छ । आशा निराशामा रूपान्तर भइरहेको छ । सरकार सुतिरहेको छ । हामी नागरिक तमासे बनिरहेका छौं । अझ यसो भनौं- हामी सबै आ-आफ्नो स्वार्थमा ब्यस्त छौं । आ-आफ्नै खुसीमा मस्त छौं । आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन । पीडा र वेदनाले हाम्रो मन रूँदैन । मानौं हामी मान्छे होइनौं, चौरास्ताको शालिक हौं ।

निश्चय नै मान्छे एउटा ब्यक्ति पनि हो र सामाजिक प्राणी पनि । मान्छेहरूको समूह समाज हो भने समाजको एउटा अंश व्यक्ति । तसर्थ मान्छेको भूमिका ब्यक्ति र समाजको रूपमा दोहोरो हुन्छ । व्यक्ति हुनाको नाताले उसको नितान्त निजी जीवन हुन्छ र हुनुपर्छ । त्यस्तै सामाजिक प्राणी हुनाको नाताले उसको जीवन सामूहिक पनि हुनु पर्छ । बिडम्बना, आज समाजमा यसको सन्तुलन विग्रदै गइरहेको छ । जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ ।

मान्छे मेसिन होइन । मान्छे पशु पनि होइन । मान्छे, मान्छे हो । पुरानो मेसिन थोत्रो भएपछि कारखानामा नयाँ मेसिन जडान गरेजस्तो वा पशु बुढो भएपछि बगरेको हातमा बेचेजस्तो मान्छेलाई गर्न सकिँदैन । तर आज भौतिक सम्पत्ति मानवीय मूल्यको अन्तिम मापक बन्दै गइरहेको छ । उत्पादनको क्षेत्रमा पुरानो अनुत्पादक मेसिनलाई नयाँ मेसिनले विस्थापन गरेजस्तो परिवार र समाजमा पनि छोरा-छोरीले बाबु-आमालाई र नयाँ पुस्ताले पुरानो पुस्तालाई विस्थापन गरिरहेको छ । पक्कै पनि नयाँलाई अवसर र जिम्मेवारी दिनै पर्छ । म पनि त्यसैको पक्षमा छु ।

तर, अवसर र जिम्मेवारीको नाममा बाबु-आमा र पुरानो पुस्तालाई बेवारिस बनाउनु चाहिँ नैतिकता र मानवीय मूल्य गुमाउनु हो । जब मान्छेमा नैतिकता र मानवीयता बाँकी रहन्न तब मान्छे, मान्छे नभएर पशु बन्दछ । आमा-बाबु भनेका जिउँदो भगवान हुन् भने पुरानो पुस्ता भनेको जिउँदो इतिहास । घरको भगवानलाई सधैं रूवाएर मन्दिरमा राखिएको पत्थरको भगवान पुज्नुको के अर्थ ? जिउँदो इतिहासको मानमर्दन गरेर इतिहासको पोथा कण्ठ पार्नुको के अर्थ ?

इतिहासको गर्भबाट नै वर्तमानको जन्म हुन्छ । तसर्थ, इतिहासविना वर्तमान सम्भव छैन । इतिहासबाट सिक्न नचाहने प्रवृत्तिले अन्ततस् भविश्यप्रति न्याय पनि गर्न सक्दैन । नयाँ पुस्ताको नाममा के हामी भविश्यमाथि अन्याय गर्न चाहान्छौं ? उही पुरानै प्रवृत्ति पुनरावृत्त गर्न चाहान्छौं ? राम्रो गरे पनि नराम्रो गरे पनि पुरानो पुस्ता, नयाँ पुस्ताको जननी हो । वेश्या नै भए पनि अन्ततः आमा भनेको आमा नै हो । तसर्थ, पुरानो पुस्तालाई गाली, बेइज्जती गर्नुभन्दा उनीहरूको यथोचित सम्मानसहित नयाँ पुस्ताले जिम्मेवारी लिनु बुद्धिमानी हुन्छ ।

व्यक्ति-व्यक्तिमा विश्वासको संकट, घर-घरमा विग्रह, समाजमा मूल्य, मान्यताको विघटन आजको नेपाली समाजको विशेषता बन्न पुगेको छ । देशको शैक्षिक तथ्यांक हेर्दा वर्षैपिच्छे साक्षर, शिक्षित र उच्च शिक्षा हाँसिल गर्नेहरूको संख्या बढेकै छ । सभ्यताको मापन शिक्षाबाट गरिन्छ भनिन्छ । तर समाजमा विकृति विसंगतिको ग्राफ दिनानुदिन बढिरहेको छ ।

मागेजति दाइजो पाइँन भनेर श्रीमतीलाई जिउँदै आगो लगाउने, सम्पत्ति कमाउने र अंश खाने छोरो जन्माइन भनेर श्रीमतीलाई यातना दिने र दोश्रो विवाह गर्ने, दाजुभाइमा अंशको लोभमा काटमार गर्ने, सम्पत्तिको लोभमा आफैँलाई जन्मदिने आमा-बाबुलाई बृद्धाश्रममा लगेर बिचल्ली पार्ने, जतिसुकै अनैतिक तबरले वा हत्याहिंसा गरेर भए पनि सम्पत्ति कमाउने जस्ता कामहरू पनि समाजमा भइरहेको छ । त्यस्तै सानाले ठुलाको सम्मान नगर्ने, ठुलाले सानोलाई मायाँ नगर्ने, आपतमा एकले अर्कालाई सहयोग नगर्ने, समाज र देशको भन्दा आˆनो मात्र हित हेर्ने जस्ता अराजक र स्वार्थीहरू पाइलैपिच्छे भेटिन थालेको छ ।

आखिर किन यस्तो भइरहेको छ ? यसको जिम्मेवार को हो ? अनि समाधान के हुन सक्दछ ?

पहिलो कुरा भौतिक परिवेश हो । गरिबी र बेरोजगारी हाम्रो देशको मुख्य समस्या हो । बर्षेनी ५ लाख युवाहरू श्रम बजारमा आउने गर्छन् । त्यसमध्ये बढीमा एक लाखले मात्र रोजगारी पाउँछन् । बाँकी चार लाख युवाहरू बेरोजगार हुन्छन् । त्यसको मुख्य कारण भनेको जीवनोपयोगी प्राविधिक शिक्षा नहुनु हो ।

हाम्रो शिक्षा नीति र शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको छ । तसर्थ, सबभन्दा पहिला हाम्रो शिक्षा नीति परिवर्तन गर्न जरूरी छ । त्यस्तै, देशभित्रै सरकारले रोजगारी सिर्जना गरी बिदेश जाने युवाहरू र देशभित्रै कुलत, दुर्व्यसन र विकृति, विसंगतिमा लागेका युवाहरूलाई काममा लगाउनु पर्दछ ।

दोश्रो कुरा, हामीमा श्रम-संस्कृति हराउँदै गइरहेको छ । काम गरेर खाने सानो र ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर खाने ठूलो मान्छे हुन्छ भन्ने संस्कृति मैलाइरहेको छ । यसमा हाम्रो घरपरिवार, समाज, शिक्षा र सरकार सबैको दोष देखिन्छ । श्रमविना प्राप्त सम्पत्ति भ्रष्टाचार हो, भ्रष्टाचार अपराध हो भन्ने सन्देश कतैबाट पनि नयाँ पुस्तालाई दिन सकिएको छैन ।

तेस्रो कुरा, आधुनिक शिक्षाको नाममा मान्छेलाई विशुद्ध सीप मात्र दिने असल संस्कृति नदिने जुन काम भइरहेको छ, यसले पनि समाजमा मानवता र नैतिकता स्खलित हुँदै गइरहेको छ । शिक्षाले सीप र संस्कृति दुवै दिनु पर्दछ । विशुद्ध सीप मात्र दिए मान्छे मेशिन हुन्छ भने संस्कृति मात्र दिए मान्छे उपदेशक बन्छ । हाम्रो देशको शिक्षा त झन् अनौठो छ । यसले न सीप सिकाउँछ न त संस्कृति नै ।

हुन त संस्कृति भन्ने कुरा कोर्षको किताबबाट सिकाउने वा सिकिने विषय होइन । यो त घर परिवार, समाज, अभिभावक, अगुवा, नेतृत्वबाट सिकिने कुरा हो । ‘जस्तो बोट त्यस्तै फल’ वा ‘संगतगुनाको फल’ यो उखान त्यतिकै बनेको होइन । त्यसैले अब हामीले सबभन्दा पहिले घर परिवारबाट नानीहरूलाई नैतिकता सिकाउन सुरू गरौं । त्यसपछि समाजमा असल संस्कृति निर्माण गर्दै अघि बढौं । सभ्य सुसंस्कृत समाजको निर्माण गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment