Comments Add Comment

प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !

एमाले र माओवादी वार्ता टुंगिएन, भोलि निर्णायक छलफल

२ फागुन, काठमाडौं । पार्टी एकता संयोजन समितिमा छलफल लम्बिएपछि बुधबार एमाले र माओवादी केन्द्रको पार्टी एकता वार्ताले पूर्णता पाउन सकेन ।

यद्यपि पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउन शीर्ष नेतृत्व सहमत भएका छन् । यसलाई अन्तिम रुप दिन बुधबार मानभवनस्थित एक घरमा एकता संयोजन समितिको बैठक झण्डै ४ घन्टा चलेको थियो ।

शीर्ष नेताहरुले प्रस्तुत गरेको एजेण्डा गम्भीर र सकारात्मक भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार भोलि थप छलफल हुनेछ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले भने ९५ प्रतिशत कुरा मिलेको प्रतिक्रिया दिएका छन् ।

संयोजन समितिको बैठकअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेको थियो, जहाँ ओली र प्रचण्डले आफूहरुबीच भएका वार्तामा आफूहरुबीच भएको सहमति जानकारी गराएका थिए ।

दुबै दलका नेताहरुले बताएअनुसार एकतापछि पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

नेताहरुलाई ब्रिफिङ गर्दा ओलीले द्वी-अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डले सहअध्यक्ष भनेका छन् ।

द्वी-अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’

आलोपालो प्रधानमन्त्री

एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको बताइएको छ । तथापि आलोपालो सरकार चलाउने माओवादी प्रस्तावमा एमालेभित्र केही असन्तुष्टि छ ।

माओवादी नेताहरुले भने भद्र सहमति भइसकेको दाबी गर्दै आएका छन् । एमालेभित्र केही नेताहरु आलोपालोको विपक्षमा रहे पनि यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको यसअघि नै बताउँदै आएका छन् ।

बुधबार एमाले अध्यक्ष ओलीले ‘प्रचण्डजीले जोड दिनुभएको छ’ भन्दै आलोपालो स्वीकार गरेको पार्टी नेताहरुलाई बि्रफिङ गरेका छन् । स्रोतका अनुसार एमाले यसमा सहमत भएको छ, तर दुई नेताको कार्यकाल केही घटीबढी हुनेछ ।

एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको एक नेताले बताए ।

विचार र संगठनबारे गृहकार्य गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने तयारी रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment