Comments Add Comment

कुलेखानी तेस्रोः लागत दोब्बर, बिजुली अर्काे हिउँदमा !

७ वर्षमा बल्ल ७५ प्रतिशत काम सकियो


३ फागुन, काठमाडौं । मकवानपुरमा निर्माणाधीन १३ मेगावाटको कुलेखानी जलविद्युत् आयोजना निर्माण शुरु भएको सात वर्ष बित्यो । काम भने जम्मा ७५ प्रतिशत सकिएको छ ।

चिनियाँ ठेकेदार कम्पनीको बेवास्ता र सरकारी अधिकारीहरु मुकदर्शक बनिरहेकाले निर्माणको गति सुस्त भएको हो । चिनियाँ कम्पनी चे जियाङ जिल्लुनको काम अहिलेकै गतिमा रहने हो भने ०७५ सालको हिउँदमा पनि उक्त आयोजनाबाट बिजुली बल्ने छाँट छैन ।

नयाँ ऊर्जा मन्त्री नियुक्त भएलगत्तै सोही आयोजना निरीक्षणमा लावा लस्कर निस्किने गर्छन् । यसबीचका धेरै ऊर्जा मन्त्रीले आयोजना स्थलको निरीक्षण गरिसकेका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रीहरुकै सिको गरे । र, आयोजना स्थलमा पुगेर छिटो काम सक्न निर्देशन दिए ।

तर, सन् २०११ मै उत्पादन थाल्नुपर्ने आयोजना निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति परिवर्तन भएको छैन । उक्त कम्पनीले निर्माणको जिम्मा पाए पनि काम भने स्वदेशकै हुलास इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गरिरहेको छ ।

स्वदेशी कम्पनीले नै काममा ढिलासुस्ती गरिरहेको विद्युत् प्राधिकरणको उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने बताउँछन् । भन्छन्, ‘चिनियाँ कम्पनीले काममा तीव्रता दिएको छैन । हुलासलाई दबाब दिन कागजी प्रमाण छैन ।’

चे जियाङ जिल्लुनसँग आपसी मेलमिलापमा सहायक ठेकेदारका रुपमा उक्त आयोजनामा हुलासको ‘इन्ट्री’ भएको हो । तर, सहायक ठेकेदार नियुक्तिका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने प्रावधान मिचिएको छ ।

आयोजना स्थलमा दुई मात्र चिनियाँ कामदार छन् । जबकि, काममा तीव्रता दिन कम्तिमा पाँच कामदार आवश्यक हुन्छ । हुलासले करिब १० कामदार मात्र खटाएको छ, जसले कम्तिमा ३५ जनालाई काममा लगाउनुपर्छ । कम कामदारकै कारण कामको गति बढ्न नसकेको हो ।

आयोजनाका अधिकारीहरुका अनुसार दुवै कम्पनीले पर्याप्त कामदार खटाउने हो भने तीन महिनामै निर्माण सम्पन्न गर्न सम्भव छ ।

सिभिलतर्फ ९९ प्रतिशत काम सकिएको छ । इलेक्ट्रोमेकानिकलतर्फको काम बाँकी छ, जसको जिम्मा अर्को कम्पनीलाई दिने गरी सिभिलका ठेकेदारलाई विदाइ गर्ने तयारीमा छ, आयोजना ।

तीनमध्ये दुई वटा टावर तयार भएका छन् । वित्तीय हिसाबबाट ९० प्रतिशत काम सकिएको छ । सबैजसो सामान आयात भइसकेका छन् । इलेक्ट्रोमेकानिकलका सामान जडानको जिम्मा पाएको चिनियाँ कम्पनीले भने चासो दिएको छैन ।

प्राधिकरणको संशोधित तालिकाअनुसार गत साउनमै उक्त आयोजनाबाट उत्पादन शुरु हुनुपथ्र्यो । लक्ष्य पूरा नभएपछि प्राधिकरणले यसको म्यादसमेत थपेको छैन ।

आयोजनाको शुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमानित थियो । निर्माण अवधि लम्बिँदा चार अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । निर्माण सम्पन्न हुँदासम्म करिब पाँच अर्ब खर्च हुने देखिएको छ ।

कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् । पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्याएर १३ मेगावाट उत्पादन गर्ने लक्ष्य प्राधिकरणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment