Comments Add Comment

राष्ट्रकविलाई नसुहाएको ‘फौजी पोशाक’

सय वर्षको उमेर टेक्नै लागेका राष्ट्रकवि माधव घिमिरेले गतवर्ष एक भेटमा भनेका थिए, ‘मेरो महाकाव्य अब सकिनै लाग्यो ।’ राष्ट्रकविको त्यो महाकाब्य कहिले आउला भनेर व्यग्र प्रतिक्षा भइरहेको थियो, गएको पुसमा जेष्ठ नागरिकहरुले आयोजना गरेको पुनर्मिलन समारोहमा उनले भने, ‘अब म सय वर्ष पुग्नै लागें, सय वर्षको समारोहमा महाकाव्यको विमोचन हुनेछ ।’

वाह सिर्जना शक्ति ! वाह साहित्य शक्ति ! वाह शब्दको शक्ति ! त्यसैले त हो, आजसम्म राष्ट्रकविलाई दीर्घायू बनाएको । राजा महेन्द्रलाई भक्कानिन बाध्य पार्ने ‘गौरी’ शोककाव्य लेखेका कविको अजेय शक्ति भनेकै सिर्जनशीलता हो, जुन नदीझैं अहिले पनि गडगडाएर प्रवाहित भइरहेकै छ ।

त्यो दिन उनको मुहारमा दिव्य कान्ति, भगवान बुद्धकोजस्तो आनन्दित र स्थितप्रज्ञ मुस्कान अनि लहरे फूलको जस्तो लयात्मक बोली र चाल देख्दा लाग्थ्यो, राष्ट्रकवि ‘इन्लाइटेड’ भइसके ।

यो आभास मलाई केही वर्षपहिले पनि भइसकेको थियो, जब उनले एउटा उच्च चेतनाको कुरा गरेका थिए । सुरेन्द्र महर्जन ‘अमर’को उपन्यास विमोचनका लागि हामी कपुरधारास्थित निवासमा जाँदा राष्ट्रकविले भनेका थिए, ‘हामी कविहरु यो सारा ब्रम्हाण्ड कृष्ण विवर (ब्ल्याक होल)मा गएर समाप्त हुन्छ भनेर मान्दैनौं । हामी सर्जक हौं, हामी ध्वंशको हैन, सिर्जनाको कुरा गर्छौं, यो सँसारलाई सिंगार्ने कुरा गर्छौं ।’

‘ब्ल्याक होल थ्यौरी’ सुत्रपात गर्ने महान वैज्ञानिक स्टेफन हकिङले पनि भनिसकेका छन्, ‘ब्ल्याक होलमा छिरिसकेपछि पनि पदार्थको अन्त्य हुँदैन, बरु त्यसबाट फेरि अर्को संसारको सिर्जनाको क्रम आरम्भ हुन्छ ।’

यसैलाई राष्ट्रकविले कवितामा उन्दै लेखे :

‘वैशाखको पहिलो फूल अचम्म हो खाली

मेरो कहीँ अन्त्य छैन, आरम्भ हो खाली’

कविताका यी दुई पंक्तिमै सारा दर्शन समेटिएको छ । र, कुनै समबुद्ध पुरुषले मात्र यस्तो कुरा सोच्न सक्छ । यस्तो महान सर्जक, जो स्वयंप्रकाशित, स्वयंसम्मानित अनि स्वयं सुशोभित हुन्छ, उसका सामु कुनै पद या उपाधि भनेको गौण हो ।

मुर्झाएको मुहार

सार्वजनिक मञ्चहरुमा देखिँदा प्रायः आकाश खुलेजस्तो मुस्कान छाडने राष्ट्रकवि माधव घिमिरेको एउटा अस्वाभाविक गाम्भीर्य झल्कने तस्वीर हालै मिडियामा देख्न पाइयो ।

तस्वीर मलाई अनौठो लाग्यो, जसमा राष्ट्रकवि जंगी पोशाकमा सजिएका छन् । मलाई मात्र हैन, त्यो तस्वीर अरुलाई पनि अनौठै लागेको रहेछ । पत्रकार एवं लेखक केदार शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखिहाले, ‘जुन लुगा लगाउँदा मान्छेको अनुहार उज्यालो हुन्छ, त्यही सुहाउँदिलो हुन्छ । मेरा प्रिय कविवर, त्यस्तो मीठो मुस्कानका मालिक तपाईको अनुहार केको बोझले यस्तो बनायो ?’

उनको स्टाटसमा एउटाले टिप्पणी ठोके, ‘सैनिक अनुशासनको बोझले’ ।

खासमा प्रश्न पोशाकको पनि थिएन, प्रश्न राष्ट्रकविको मुस्कानको पनि थिएन । प्रश्न थियो, राष्ट्रकविलाई दिइएको उपाधिको, जुन यतिबेला आलोचनाको विषय बनिरहेको छ ।  राष्ट्रकविलाई नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधि दिइएको घटनाले कला, साहित्य क्षेत्रमा तिब्र प्रतिकृया उत्पन्न भएको छ ।

राष्ट्रकवि मात्र हैन, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसमेत भइसकेका जीवित किंवदन्तीलाई ‘एकतारे जर्नेल’ बनाइँदा मान भयो कि अपमान ? राष्ट्रकविलाई सहायक रथी बनाएर महारथीहरुले स्यालुट खान मिल्छ ? यो कस्तो महारथ हासिल गर्न खोजिएको हो ? प्रश्नहरु धरै खडा भएका छन् र यसबारेमा सामाजिक सञ्जालहरुमा कलाकार, साहित्यकार र पत्रकारका तीखा टिप्पणी आइरहेका छन् ।

पत्रकार केदार खड्काले यसलाई ‘राष्ट्रकविको घटुवा’ भनि टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘सय वर्ष पुग्नै लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाले मानार्थ सहायक रथीको पदवी दिएर सिपाही बनाएछ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत भइसकेका घिमिरेलाई यसरी सेनाले घटुवा दर्जा भिडाउनु कत्ति पनि सुहाएन है । अब सेनाको बर्दी लगाएर सहायक रथी घिमिरेले उहाँभन्दा सिनियर रथीबृन्दलाई कसरी स्यालुट ठोक्नुहुन्छ, हेर्न रमाइलो होला ।

सेना  सुरक्षाका बारेमा कलम चलाउँदै आएका पत्रकार पर्शुराम काफ्लेले पनि यो निर्णयको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रकविको गरिमा राष्ट्रपति/प्रधानमन्त्री वा यस्ता औपचारिक ओहोदाभन्दा धेरै माथि छ । सेनाको मानार्थ सहायकरथी बनाएर राष्ट्रकविलाई सहसचिवभन्दा कम औपचारिक मर्यादामा सीमित पारिएको छ । सेनाको अनुचित प्रस्ताव मानेर देउवा सरकारले गल्ती गरेको छ ।’

मानभन्दा माथिको मान्छे

०६० सालमा सूर्यबहादुर थापा सरकारले कविवर माधव घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधि दिएको थियो । तात्कालीन मुख्यसचिव डा. विमल कोइराला आफैं कवि भएकाले उनकै पहलमा त्यो सम्भव भएको थियो । खासमा त्यो नेपाली साहित्य, कला, संस्कृति र सिर्जनाप्रति राज्यको सर्वोच्च सम्मान थियो ।

जो आफैं आकाश हो, उसलाई एक टुक्रा इन्द्रेणीमा सीमित गर्ने काम नगरेको भए हुन्थ्यो । नेपाली साहित्यका एक महान र दुर्लभ सम्पदालाई आफ्नै मौलिक, स्वाभाविक र प्राकृतिक सौन्दर्यको बान्कीमै रहन दिएको भए हुन्थ्यो

राजनीतिमा लागेर कुनै पनि नेपाली सर्वोच्च पद ‘राष्ट्रपति’ बन्न सक्छ । सेनामा भर्ती भएर कोही पनि नागरिक ‘प्रधान सेनापति’ बन्न सक्छ । प्रहरीमा भर्ति हुनेहरुका लागि सर्वोच्च पद भनेको ‘आईजीपी’ हो । ठीक त्यसैगरी एउटा कविले पनि सर्वोच्च पद पायो, राष्ट्रकवि । अझ, साहित्य र कला विधाको समाजमा प्रभाव, लोकप्रियता र गरीमा अन्यविधाभन्दा उच्च भएकाले राष्ट्रकविको स्थान सबैभन्दा माथि छ । घिमिरे जनताको हृदयको राजा भइसकेका छन् । उनलाई त्यसभन्दा तलका झिना मसीना पगरी गुथाउनु जरुरी थियो र ?

राष्ट्रकवि घिमिरे जीवित किंवदन्ती झैं भएका छन् । सय वर्ष टेक्नै आँटेका र यो उमेरमा पनि ‘महाकाब्य लेखिरहेको छु’ भन्दै आएका राष्ट्रकवि आफै मान, सम्मान, गरीमा, ख्याती र लोकप्रियताका भण्डार हुन् । जसले बोल्दा पनि गीत र कविताको रस धारा प्रवाहित हुन्छ, त्यस्तो कवि हामीले देख्न पाउनु नै अदभूत घटना हो ।

जो आफैं आकाश हो, उसलाई एक टुक्रा इन्द्रेणीमा सीमित गर्ने काम नगरेको भए हुन्थ्यो ।

नेपाली साहित्यका एक महान र दुर्लभ सम्पदालाई आफ्नै मौलिक, स्वाभाविक र प्राकृतिक सौन्दर्यको बान्कीमै रहन दिएको भए हुन्थ्यो ।

कविवरको उच्च व्यक्तित्वको सजिव र सुन्दर चित्रमा जथाभावी रंग नपोतेको भए हुन्थ्यो । पोतियो, सुन्दर चित्रमा सानो धब्बा लाग्यो ।

जो आफै सम्मानको सगरमाथा भइसक्यो, उसलाई थप मानको के खाँचो ? जो आफै जन जनको हृदयको राजा भइसक्यो, उसलाई ‘एकतारे जर्नेल’ नदिएको भए हुन्थ्यो । दिइयो, अनि प्रतिक्रिया आयो, ‘राष्ट्रकविको घटुवा भयो ।’

सम्मान गर्नेले कसलाई कस्तो सम्मान गर्ने हो, त्यो जानेन भने त्यो सम्मान असल नियतले गरिएको भए पनि ‘अपमान’ भइदिनसक्छ भन्नेतर्फ सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment