Comments Add Comment

प्रधानमन्त्री ओली बारे यूएईका नेपालीको यस्तो टिप्पणी

१६ फेब्रुअरी, यूएई नेपालको ४१ औं प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी ओली नियुक्त भएलगत्तै रोजगारीका लागि युएईमा रहेका नेपालीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

केहीले नेपाल समृद्धिको मार्गमा जाने प्रतिक्रिया दिएका छन् भने केही नेपालीहरुले ओलीको नियुक्तिलाई लिएर व्यंग्य कसेका छन् ।

एमाले र माओवादी केन्द्रका नेता तथा समर्थकहरुले देश र देशवासी मात्र नभएर विश्वमा रहेका नेपालीहरुहरुमा आशाको सञ्चार भएको र नेपाल अब समृद्धिको मार्गमा अगाडि बढने विश्वास लिएको बताएका छन् ।

नेपाल प्रवासी मञ्च यूएईका अध्यक्ष श्याम कंडेलले केपी ओली मुलुकको ४१ औ प्रधानमन्त्री नियुक्त भएको दिन नेपाली राजनितिक इतिहासमा स्वर्णिम र स्मरणीय दिनको संज्ञा दिदै नेपाली श्रमजिबी जनताको वर्षौदेखिको सपना पूरा भएको बताए ।

उता, यूएईको नेपाली समुदायमा खरो जनजाति नेताको रुपमा परिचित नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आउन नदिने प्रमुख पात्रहरु एमालेका अध्यक्ष ओली देशको प्रधानमन्त्री बन्नु देशको लागि अर्को ठूलो दुर्भाग्य भनी कडा प्रतिक्रिया दिएका छन् ।

डन, गुण्डा, माफिया, काला व्यापारी, तस्कर, ठेकेदार, बिचौलिया, दलाल, भ्रस्टचारीहरुको राज नेपालमा कहिल्यै नसकिने भन्दै परदेशिएका लाखौ युवाहरुको लासको बाकससँगै टाँसिएर आउने रेमिट्यान्स बिना देशै चल्दैन भनी ठोकुवा गर्दै जुनै जोगी आए पनि के काम ? सबै कान चिरिएका मात्रै भनेर प्रधानमन्त्री ओली तर्फ उनले संकेत गरे । ओलीले महाकाली, टनकपुर र माथिल्लो कर्णाली आयोजना सबै बेचिखाएकेा उनको आरोप छ ।

विगत १ दशकदेखि यूएईमा रोजगार गरिरहेका भद्रपुर झापाका शेसराज न्यौपानेले देशले ४१ औ प्रधानमन्त्रीका रुपमा ओलीलाई पाएकोमा सफल कार्यकालको शुभकामना दिदै झोले, भरौटे, कुरौटेको कुरा नसुनी देश र जनताको काम गर्न सुझाव दिएका छन् ।

नेपालमा रेल चल्ने र घरघरमै पाइपबाट ग्यास आउने व्यङ्ग्यात्मक फेसबुक स्टाटसहरु यूएईमा रहेका नेपालीहरुले प्रसस्तै सेयर गरेका छन् भने नेपाल अब बिकासको चौतर्फी मार्गमा अगाडि जाने धेरैले आशा व्यक्त गरेका छन् ।

प्रवासी मञ्च फुजेराद्वारा दिप प्रज्ज्वलन

केपी ओली प्रधानमन्त्री भएको खुशियालीमा नेपाली प्रवासी मञ्च फुजेरा राज्य कमिटीले फागुन ३ गते साझमा दिप प्रज्ज्वलनसहित एक औपचारिक कार्यक्रम नमस्ते रेस्टुरेन्टमा आयोजना गरेको थियो ।

मञ्चको फुजेरा राज्य कमिटीका अध्यक्ष उत्तम थापाको सभापतित्वमा संचालित खुशियाली साटासाट तथा दिप प्रज्ज्वलन कार्यक्रममा फुजेरा राज्यमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक, ब्यावसायिक संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीलाई बधाई दिदै आफूहरुले नेपालमै रोजगार पाउन सक्ने वातावरण बन्ने अपेक्षा पनि गरेका थिए ।

एनआरएनए युएईका केन्द्रीय सदस्य सागर लुइँटेलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिदै देशलाई समृद्धिको शिखरमा पुर्‍याउन आग्रह गरे ।

मन्तव्यको क्रममा झापाली समाज यूएई फुजेरा क्षेत्रीय समितिका उपाध्यक्ष गोपाल भण्डारीले अबको मुख्य काम युवा स्वरोजगार भएको बताउदै यो सरकारले उधमशिलतामा जोड दिनुपर्ने आफ्नो विचार व्यक्त गरे ।

कार्यक्रमको विशेष अथितिका रूपमा उपस्थित ब्यावसायी एनआर ग्रूप अफ कम्पनीका प्रोपाइटर सुजन सापकोटाले पनि प्रधानमन्त्रीमा ओलीको नियुक्तिले देश बिकासको गतिमा जाने आधार तय भएको बताए ।

एनआरएन आरसिसी फुजेराका उपाध्यक्ष सेर सुनारले नयाँ सरकारले देशको आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

तेक्वान्दोको बिश्वकपको छनौट प्रतियोगितामा भाग लिन नेपालदेखि आएका १२ जना तेक्वान्दो खेलाडीको तर्फबाट कार्यक्रममा संयोगले उपस्थित खेलाडी बिनोद पौडेलले पनि ओली लाई कार्यकाल सफलताको शुभकामना दिदै नेपालको खेलकुद क्षेत्र र खेलाडीहरुको सीप विकास तथा जीवन निर्वाहको बारेमा यो सरकारको ध्यानाकर्षण हुने विस्वास प्रकट गरे ।

समितिका सचिव मेघराज कंडेलले सन्चालन गरेको कार्यक्रममा जनसम्पर्क समिति, मोना युएई, लगायत युएईको फुजेरामा कार्यरत सर्वसाधारण नेपाली श्रमिकहरुले केक काटेर र दिप प्रज्ज्वलन गरेर खुशियाली प्रकट गरेका थिए ।

यसै बिचमा प्रवासी मञ्च सारजहा, दुबई राज्य कमिटी र अबुधाबी इकाई कमिटीले पनि ओली प्रधानमन्त्री भएको अवसरमा आआफ्नो क्षेत्रमा दिपावली गर्दै औपचारिक कार्यक्रम गरेर खुशियाली मनाएको अनलाइनखबरलाई जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment