Comments Add Comment

अष्ट्रेलियामा अल्मलिएको नेपाली मन : मान्छेलाई कति भए पुग्ला ?

‘ठ्याक्कै १३२ वर्ष भएछ विश्वविख्यात लेखक लियो टोल्स्टोयले ‘एउटा मान्छेका लागि कति जमीन चाहिन्छ ?’ भन्ने शीर्षकको कथा लेखेको ।

कथाअनुसार पाहोम भन्ने मानिसले जग्गा भाडामा लिएर भोगचलन गर्दा सधैंजस्तो हुने किचकिचले दिक्क भएर भाउ मिल्ने जग्गा पाइयो भने किन्नुपर्ला भन्ने सोचिरहेको हुन्छ ।

अकस्मात एकदिन कुनै जमिनदारले पाहोमलाई एक हजार रुबल (अहिलेको दुई हजार रुपैयाँ जति) मै उसले दिनभरि हिँडेर घेर्न सकेजति जमिन दिने प्रस्ताव गर्छ । यसका लगि जमिनदारले एउटा शर्त राख्छ ।

शर्त अनुसार पाहोमले बिहान घाम झुल्केपछि मात्रै हिँड्न पाउँछ र बेलुका घाम नअस्ताउँदै बिहान सुरु गरेको बिन्दुमा फर्किइसक्नुपर्छ । केही गरी घाम नअस्ताउँदै जग्गाको शुरु बिन्दुमा फर्किन नसकेमा पाहोमको एक हजार रुबल पनि फिर्ता हुँदैन र उसले जग्गा पनि पाउँदैन ।

यस्तो गज्जबको प्रस्ताव सुनेर पाहोम खुशीले गदगद हुन्छ । सोच्छ, दिनभरिमा त तीन पुस्तालाई पुग्ने जग्गा घुमी सकिहालिन्छ । अब मेरा दुःखका दिन सकिएजस्तो छ । एकदिनको दुःख त के दुःख भयो र ।
पाहोमले शर्त मञ्जुर गर्छ र हिँड्नेे दिन निश्चित गर्छ ।

त्यो दिन पाहोमले घाम झुल्किने बित्तिकै हिँड्न सुरु गर्‍यो । सकेसम्म धेरै जग्गा हात पार्ने लोेभले गर्दा ऊ दिन ढल्किने बेलासम्म पनि एकोहोरो दौडिइरह्यो ।

गोविन्द पौडेल

धेरै नै पर पुगे पुगेपछि घाम नअस्ताउँदै सुरु बिन्दुमा पुग्नैपर्ने हतारोले भोक न तिर्खा बेतोडले दौडँदै तोकिएको ठाउँमा आइपुग्यो । उसको भाग्य चम्कियो, एक हजार रुबलमै तेत्रो जग्गा उसैको भो । उसको मन खुशीले भरियो । तर, त्यो खुशी धेरैबेर टिकेन ।

दिनभरिको धपेडीले गर्दा पाहोम कहिल्यै नऊठने गरी ढल्यो । उसका साथीसंगीहरुले अन्त्येष्ठिका लागि खाडल खने र पाहोमलाई समाधिस्थ गरियो । मात्र ६ फिट लामो त्यही खाल्डोमा पाहोमसँगै उसका सपनाहरु सधैंका लागि पुरिए ।

यस कथामा टोल्सटोयले करीब डेढ सय बर्षअघिको रसियन समाजको चित्रण गरेका छन् । जुनबेला जीवनयापन कृषिमा आधारित थियो । जति धेरै जमिन, उति धेरै सम्पत्ति । अझ धन दौलत थप गर्ने, पशु व्यवसाय बढाउने र अन्न उब्जनी बढाएर झन धेरै धनी र झन शक्तिसम्पन्न हुने सम्भावना थियो त्यसबेला । र, त्यही आशाले गर्दा पाहोमले आफ्नो ज्यान जाउन्जेलसम्म पाहोमले धपेडी गरिरहृयो ।

टोल्सटोयपछिका यी एक डेढसय बर्षसम्म आइपुग्दा अहिलेको समाज पनि आधारभूत रुपमा केही भिन्नता देखिँदैन । पुँजी संकलन र अभिवृद्धि गर्ने अभिलाषा उही छ । त्यो बेला जग्गाजमिन र पशुधन जोड्ने चटारो थियो भने अहिले नगद, जग्गा, व्यवसाय, लगानी आदिका माध्यमले पुँजी निर्माण गर्दै अझै धेरै धनी बन्ने आकांक्षा उस्तै छ ।

वस्तु फरक छन्, तरिका फरक भयो होला तर प्रवृति उही छ । अझ भनौं झन बढी छ । झन पेचिलो बन्दै गएको छ । खाली त्योबेला अहिले जस्तो पैसा नभई जीवन नै नचल्ने जस्तो निर्मम समय थिएन होला ।

त्यो समयको कुरा छाडौँ, हाम्रै गाउँमा पनि मैले थाहा पाउँदासम्म पैसा दुर्लभ थियो । नुन र कपडा बाहेक अरुका लागि पैसै खर्च गरिन्थेन । ऐंचोपैंचो र अर्मपर्मकै भरमा निर्वाह हुन्थ्यो । मासुसमेत पैँचोमा चल्थ्यो, आˆनो घरमा मासु भएका बेला तिर्दा पनि हुने चलन थियो ।

समयक्रममा विज्ञान र प्रविधीका कारणले भौतिक बिकास तिब्र रुपमा भैरहेको छ । भौतिक बिकास र विश्वव्यापी बजारीकरणले गर्दा हाम्रो जीवन पद्दति आमूलरुपमा बदलिएको छ । भौतिक सुखसुविधाका साधनहरु र पुँजी संकलनको चाहनाले गर्दा आज व्यक्ति, परिवार र समाज मरीमेटेर लागिरहेको छ ।

गाउँ त गाउँजस्ता रहेनन् भने शहरहरु गाउँ जस्ता हुने कुरै भएन । के विकासशील, के विकसित देश या शहर द्रव्य सञ्चयको भोक उस्तै छ । यसरी हेर्दा सत्रौं सताब्दी र एक्काइसौं शताब्दीमा धनी बन्ने र अझै पुँजी सँकलन गर्ने अभिलाषा आश्चर्यजनक रुपले समान देखिन्छ ।

त्यसकारण दुई/तीन सय वर्षपछि पनि टोल्सटोयको प्रश्न अनुत्तरित नै छ, हामीलाई कति भयो भने चै पुगिसरी होला ? भलै व्यंग्यात्मक रुपमा टोल्सटोयले आफ्नो कथामा यो प्रश्नको उत्तर दिइसकेका छन् । ६ फिट जमीन भयो भने मानिसलाई पुग्छ ।

मेरो अस्ट्रेलियाको बसाइ सम्झन्छु, उदेक लाग्छ । संसारकै बिकसित देशमा बसिएको छ । त्यही पनि जीवनयापन कठिन छ । कठिन यो अर्थमा कि पैसा नभई यहाँ कसैको पनि जीवन चल्दै चल्दैन । भनेको जस्तो काम पाइँदैन, पाएको काम आंशिक (पार्टटाइम) वा बोलाए मात्र पाउने -क्याजुअल) छ । तर, घरभाडा, किस्ता तिर्न पर्ने रकम, र अरु खर्चहरु आंशिक होइन, पूर्णकालीन नै छन् ।

यस्तोमा जीवन चाहेअनुसार कहाँ सललल बग्न सक्छ ? मेरी श्रीमती नियमित रुपमा काम नपाएर उदास छिन्, कलेज फी तिर्न नपर्ने र जसोतसो खर्च चलेकाले म अलि कम उदास छु । बाबुआमाको उदासीनताबारे बिल्कुल बेखबर सानी छोरी चाहिँ खुशी देखिन्छे । त्यही खुशी देखेर हामी आ-आˆनो उदासीनता भुल्न खोज्दैछौं ।

यसको मतलव, यहाँ दुःखै दुःख छ भन्ने होइन । जवाफदेही सरकार छ, विकासका पूर्वाधार गतिला छन् । जीउधनको सुरक्षा छ । सुख सुविधा छ । एक हिसावले हेर्ने हो भने जीवन विलासी छ ।

तर, पुँजीवादी संस्कार, भान्सासम्मै पुगेको बजारीकरण र (अत्यधिक) द्रव्यआश्रति जीवनशैलीले गर्दा दैनिकी यान्त्रिक बनेको छ ।

मेराजस्तै हजारौं कथाहरु होलान् अस्ट्रेलियाभरी । अनि विकसित भनिएका अरु देशहरुमा समेत ।

मैले मेरो आˆनै उदाहरण दिनुको कारण चाहिँ मजस्तै अरुको उदासीनताबारे मैले ठाडठाडै किन लेखौँ त भनेर हो । यस्तो यान्त्रिकता कम हुनुको सट्टा बढदो छ । त्यही भएर कमसेकम सानै भए पनि अलि भरपर्दो र नियमित कमाइ हुने काम पाए हुन्थ्यो भन्ने सोचमा छौं हामी ।
साथीहरु भन्छन्- अस्ट्रेलियामात्रै कहाँ हो र, नाम चलेका विकसित भनिने सबैजसो देशहरुमा यस्तै अवस्था छ ।

मलाई मात्रै होइन, दुई/चार लाख डलर बचत गरेर किस्ताबन्दीमा घरजग्गा जोड्नेहरुलाई पनि ऋण सघाउँदै घर चलाउन अझै धेरै कमाउनु छ । एउटा घर हुनेलाई अरु घर चाहिएको छ । म जुन घरमा भाडामा छु, त्यो घरको भाडा हप्तामै हजारौं डलर उठाउँछ घर मालिकले । ऊ आफै भने यो घरमा बस्दैन । भनेपछि उसका अरु घर होलान् भन्ने अनुमान गर्छु ।

सुनिन्छ, ऊ अर्को घर किन्ने धुनमा छ, त्यो पनि किस्ताबन्दीमै होला शायद । मेरो घरबेटी जस्तै किस्ताबन्दीको चक्करमा हजारौं हजार घरपरिवार छन् अस्ट्रेलियाभरि । घर किनेको किस्ता रकम तिर्नका लागि धेरै (पाँचमा तीन जना) अस्ट्रेलियनले एकछाक खाना नै कटौती गरे भन्ने समाचार आइरहेका छन् ।

हामी जुन विश्व भाग (विकसित भनिएका देशहरु)मा छौं, त्यो हरेक हिसाबले वैभबशाली ठाउँ हो यो कालखण्डमा । वैभबशाली भनेपछि आर्थिक, सामरिक, बिज्ञान र प्रविधिको क्षेत्रमा अब्बल भन्ने हो । यहाँ समेत सुकुम्बासीदेखि धनाढ्यसम्मलाई अझै धेरै कमाउनु छ, पुँजीको विकास र बढोत्तरी गर्नुछ ।

धेरै भएको छैन अमेरिकाको न्यु हृयाम्सायरमा एकमुष्ट ७१० मिलियन डलर -करिब सबा सात अरब रुपैयाँ) को चिठ्ठा जित्ने एकजना महिलाले आफूलाई सार्वजनिक नागरिकन सुटुक्क जितेको पैसा आˆनो खातामा हाल्दिनु भनेर आˆनो वकिल मार्फत अनुरोध गरिछन् खुशीले होइन डरले । नातागोता, इस्टमित्र, छरछिमेक र चोरडाका समेतले आँखा लगाउँछन् र म असुरक्षित हुन्छु, म ढुक्कसँग स्वतन्त्र भएर हिँडडुल गर्न समेत पाउँदिन भनेर ।

मोनाको भन्ने फुच्चे देशमा (काठमाण्डौे विमानस्थलभन्दा केही ठूला) खरबपतीहरुलाई ढलीमली गरेर बस्न ठाउँ नपुगेर अझै लगानी बढाएर धमाधम समुऽमा कृत्रिम टापु निर्माण गर्नुपरेको छ ।

मस्को, मायामी होस् या मेलवर्न, कोलकाता, क्वालालम्पुर होस् या काठमाण्डौं, सबैतिर, सबैमा सकेसम्म (धेरै) पुँजी संकलनको भोक उत्तिकै छ, उस्तै छ । पैसा, घर, गाडी, मेशिन, इलेक्ट्रोनिक्स जोड्ने होडबाजी, कुदाकुद र धरधपेडी घट्ने होइन झनझन बड्दो छ ।

विश्वव्यापीरुपमै एउटै कालखण्डमा गरीब, धनी, श्रमजीवी, बुद्धिजीवी, सर्वसाधारण, राजनीतिज्ञ, उद्योगपति सबैमा उस्तै चहाना कसरी सम्भव हुन्छ ? यो पुँजीवादी र भौतिक सुखसयलमुखि दौड कहिलेसम्म चलिरहन्छ ? के कारणले यो सब भैरहेको हो ? को होला यसको जननी ?

विगत छ/सात महिनादेखि यता यी र यस्तै अनेकौं प्रश्नहरुमा घोत्लिएर मैले निकै समय बिताएँ ।

हिन्दु धार्मिक मान्यता अनुसार यो कलियुग हो । यो युगको विशेषता भनेकै दिन प्रतिदिन धर्म, सत्य, स्वच्छता, सहनशीलता, दयाभाव, आयु, शारीरिक शक्ति र स्मरण शक्ति घटदै जाने -श्रीमदभागवत, खण्ड १२।१) र धनसम्पत्ति र शक्तिको प्रधानता हुनु हो ।

कलियुगमा धन दौलतको आधारमा मानिसको पद, मर्यादाक्रम र मानसम्मान निर्धारण हुने हुनाले न्याय र कानुनको कार्यान्वयन पनि सबैमा उस्तै नभई धन दौलत र शक्तिका आधारमा तलमाथि हुन्छ । पूँजीहीन र द्रव्य आर्जन गर्न नसक्नेलाई निकम्मा सम्भिmइन्छ । मानिसहरु अत्याधिक चिन्ता र प्रतिकुल वातावरणलेे आक्रान्त हुने छन् ।

परावैदिक कालमा नै श्रीमद्भागवतमा लेखिएका यी कुराहरु आश्चर्यजनक तरिकाले हामीले हाम्रै जीवनकालमा देखिरहेका छौं । यस हिसावले हेर्दा कलियुग रहुञ्जेल अत्यधिक धनआर्जन र सञ्चय गर्न चाहने अभिलाषाका साथसाथै अनिश्चितता, चिन्ता र अर्धयताआधुनिक जीवनको पर्यायका रुपमा रहिरहने निश्चितै छ ।

आगामी कयौं पुस्ता अर्थोत्पादनको व्यग्र अभिलाशा, चिन्ता, अनिश्चय र प्राकृतिक प्रतिकुलता बिचमै गज्रने हुनाले चिन्ता निवारणभन्दा पनि चिन्ता न्यूनीकरण र व्यवस्थापन नै अवको विकल्प हो । सोहीअनुसार नै हामीले हाम्रो जीवन रणनीति बनाउनु बुद्धिमानी हुनेछ ।

र अन्त्यमा,

अपवादमा कोही कोही होलान् । तथापि टोल्सटोयको कथाको पाहोमदेखि लिएर ऋण-धन र पुँजी व्यवस्थापन गर्न संघर्षरत नगरबासी, ती सात अर्ब रुपैयाँ चिठ्ठा जित्ने महिला, र संसारकै धनाढ्य समेतलाई अझै धनी हुने अझै पुँजी संकलन गर्ने चाहनाले दौडाइरहेको छ ।

उनीहरु मात्रै होइन, सारा संसार नै धनी बन्ने, पुँजी संकलन गर्ने दौडमा लागिरहेको यो युगमा म जम्माजम्मी दईसय आठ हप्ता अस्ट्रेलियामा बस्ने गरी आएको एउटा मनुवा अपवाद हुने कुरै भएन ।

यो कलियुग नै लोभ, चिन्ता, अभाव, र प्रतिकुलताले भरिएको युग हुनाले यही युगअनुसार अनुकुलन हुँदै जानुको विकल्प छैन । त्यही पनि दिमाग चलिरहन्छ, हैन के भयो भने, र कति चाहिँ भयो भने हामीलाई पुग्दो हो ? केही आँकलन गर्न सकिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment