आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रयोगशील लेखकका रुपमा पनि चिनिन्छ । गौतमले मुलतः उपन्यासलाई आफ्नो लेखनीको केन्द्र बनाए । उनी करिब दुई दर्जन उपन्यासका स्रष्टा हुन् । र, प्रकाशित-अप्रकाशित गरी उनका करिब दुई सय कथा छन् । ती सबै संकलन भइसकेका छैनन् ।
तथापि, उनका प्रयोगधर्मी कथा कुन-कुन हुन् भनेर स्पष्ट रुपमा सार्वजनिक गर्ने काम अहिलेसम्म भएको छैन । विश्वविद्यालयहरुका पाठ्यक्रममा नमूनाका रुपमा केही उपन्यास अध्यापन हुन्छन् ।
कथाहरुको सांगोपांगो अध्ययन भने भएको छैन । यही कमीलाई महशुस गर्दै अनलाइनखबरले उनका प्रयोगधर्मी कथाका केही नमूना यहाँ प्रस्तुत गरेको छ । यी कथा साहित्यकार एवं सम्पादक गोविन्द गिरी ‘प्रेरणा’ले संकलन गरेका हुन् ।
उपाय
किनमेल गर्न जाँदा एक दिन ऊसँग छाता भएन । छाताका लागि उसले पैसा जोर्न थाल्यो । जुन दिन उसले एउटा नयाँ र आकर्षक छाता किनेर ल्यायो, त्यस दिनदेखि पैसा नभएकाले ऊ बजार जान पाएको छैन ।
समय-बोध
– ‘भोलिदेखि तपाईं समयमा अफिस आउने गर्नूस् ।’
– ‘समयमा अफिस आउन मसँग घडी छैन ।’
– सूर्य हेरेर समय थाहा पाउनुस् त्यसो भए ।’
– ‘अचेल बादल लागेको हुन्छ सर ।’
– ‘मलाई थाहा छ, तपाईंजस्तो मान्छे केवल शनिबारको दिन मात्र समयअनुसार काम गर्छ ।’
साँच्चिकै शनिबार ऊ ठीक १० बजे अफिसको ढोका अघिल्तिर उभिन पुग्यो । र, थाहा पायो आज शनिबार हो ।
खल्ती १
खल्तीमा एउटा मुसाको बच्चा पसेको रहेछ, जसलाई ऊ नोटको गह्रौं बिटो ठानेर प्रसन्न थियो ।
खल्ती २
एउटा माल किनेर जब उसले खल्तीबाट नोट झिकेर पसलको काउन्टरमा राख्यो । पसले हाँस्न थाल्यो । काउन्टरमा मुसाको छाउरो अकम्ाक्क परेर बसेको थियो ।
खल्ती ३
‘खल्तीमा यस्तो राखेर हिँड्नु हुन्छ ?’ पसलेले सोध्यो ।
‘होइन, नोटको बिटो थियो । कताबाट पसेर यसले नोटचाहीं कोत्रेर खाएजस्तो छ ।’
तर, वास्तवमा उसलाई थाहा थियो, नोट मुसाले कोत्रेको होइन ।
आविष्कार
धेरै समयसम्म नोकरी पाउन नसकेपछि ऊ यति विद्रोही भयो कि उसले खल्तीमा छुरा हाल्यो, टाउकोमा सिङ पाल्यो र अठोट गर्यो, अब यिनकै आधारमा नोकरीको खोज गर्छु, नागरिकता र सर्टिफिकेटका आधारमा होइन ।
तर, उसले आफ्ना दुवै हात स्वतन्त्र राख्यो र पर्याप्त मात्रामा चिल्लो आदि दलेर ऊ हातलाई द्रुत लयमा मल्दै हिँड्न थाल्यो । यस आविष्कारको लगत्तैपछि उसले नोकरी पायो । उसको छुरामा खिया उमि्रयो र अब असुविधा हुन थालेको छ । सिङ उसले सैलुनमा गएर कटायो ।
चिनजान
उसको फाइलमा चार जनाको नाउँ थियो । बानीअनुसार चारै नाउँमा उसले ‘टिक’ लगाइदियो । यो बेग्लै कुरा हो, उसले नचिन्ने ती नाउँहरुमा एउटा नाउँ उसको आफ्नै पनि थियो ।
उचाइ
ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो, यसबखत ऊ केवल अकाशमुनि थियो र उसको मुन्तिर सिंगै पहाड थियो ।
थिचोमिचो
खल्तीमा मुसाको बिगबिगी हुनाले उसलाई वर्षाको मौसम पर्याप्त नराम्रो-अफाप लाग्न थालेको थियो । उसको अस्तित्वमाथि थिचोमिचो थियो । उसले केही किनमेल गर्नैपर्छ नत्र भने पेटको बोक्रा उप्किने बेला भयो ।
उपाय
अन्त्यमा, पानी परिरहेको कुनै दिन उसले आफ्नो छाता ‘सेकेन्ड ह्यान्ड’मा बेचिदियो र खल्तीभरि पैसा लिएर गीत गुन्गुनाउँदै सिउसिउ गर्दै बजारतिर हिँड्यो ।