Comments Add Comment

प्रदेश १ मा माओवादीको ‘रोटेसन थ्यौरी’ ! सबै सांसद मन्त्री हुने

उपसभामुख र मन्त्रीले ५ वर्ष खान नपाउने

प्रदेश १ का मन्त्रीहरू

४ फागुन, विराटनगर । प्रदेश १ मा पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले ‘रोटेसन’ को रोचक सूत्र प्रतिपादन गरेको छ । यो सूत्रअनुसार प्रदेशमा जितेका सबै माओवादी सांसदहरु मन्त्री बन्न पाउनेछन् ।

प्रदेश १ मा माओवादीका १५ सांसद छन् । थप एकजना स्वतन्त्र सांसद पनि माओवादीकै कित्तामा छन् । आगामी ५ वर्षभित्र सबैजना मन्त्री बन्ने नयाँ ‘थ्यौरी’ प्रतिपादन भएको छ ।

पहिलो चरणमा प्रदेश सरकारमा माओवादीका तर्फबाट इन्द्र आङबो अर्थमन्त्री बनेका छन् । अब कोचिला (झापा) बाट झलकसिंह दर्लामी र किरात प्रदेश (सगरमाथा) बाट अर्का एकजना मन्त्री बन्नेछन् । टंक आङबुहाङ संसदीय दलको नेता बनेका छन् ।

सरस्वती पोखरेल उपसभामुख बनेकी छिन् ।

तीन मन्त्री, एक उपसभामुख र एक जना दलको नेतासहित ५ जनाले पहिलो चरणमा सत्ताको स्वाद चाख्न पाएका छन् । बाँकी १० जनाले ‘रोटेसन’ का आधारमा अबको ५ वर्षभित्र सत्ताको पालो पाउने छन् ।

माओवादी केन्द्रका एक प्रदेश नेताले अनलाइनखबरसँग भने, ‘हामीले प्रदेशका १५ जनै सांसदहरुलाई पाँच वर्षभित्र मन्त्री बनाउने गरी आलोपालो मिलाएका छौं । अहिलेको टीम वीचैमा फेरिन्छ र अर्को टिम सरकारमा जान्छ ।’

प्रदेश सरकारको नेतृत्व गरेर अर्थमन्त्री बनेका इन्द्र आङ्बोले वीचैमा राजीनामा दिने र अर्को सांसदलाई सरकारको नेतृत्व गरेर पठाइने माओवादी नेताले बताए । उनले अगाडि भने, ‘उपसभामुख पनि यसैगरी ५ वर्ष नपुगी फेर्ने पार्टीभित्र आन्तरिक सहमति भएको छ ।’

प्रदेश १ मा माओवादीभित्र चर्को अन्तरद्वन्द्व बढेपछि आलोपालोका आधारमा सबैलाई मन्त्री बनाउने सूत्र प्रतिपादन गरिएको हो ।

स्वतन्त्रसहित माओवादीका १६ सांसदमध्ये प्रचण्ड पक्षमा ९ जना, बादल पक्षमा ५ जना र गोपाल किराती पक्षमा २ जना रहेको बताइँदै आएको छ । प्रदेश इञ्चार्ज गोपाल किरातीको विरुद्धमा प्रदेश कमिटीका बहुमत सदस्यहरु उभिएका छन् ।

गोपाल किराती र सावित्रीकुमार काफ्ले इन्द्र आङबोलाई दलको नेता र सरकारको नेतृत्व गर्ने मन्त्री बनाउन चाहन्थे । तर, प्रचण्ड पक्षका बहुमत सदस्यले विरोध गरेपछि दलको नेतामा प्रचण्ड पक्षका टंक आङबुहाङ चयन भएका छन् भने पहिलो चरणमा सरकारको नेतृत्व इन्द्रले गरेका छन् । तर, भित्रीरुपमा चाहिँ इन्द्रलाई आधा कार्यकालका लागि मात्रै मन्त्री बनाउने सहमति भएको माओवादी स्रोतले बतायो ।

माओवादी केन्द्रले आलोपालो मन्त्री चलाउने आन्तरिक सहमति गरे पनि यहीवीचमा एमालेसँग पार्टी एकता भयो भने यो ‘रोटेसन थ्यौरी’ गर्भमै तुहिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment