Comments Add Comment

आजको अखबारः एक महिनामै नयाँ राष्ट्रपति, माओवादी सांसद् भारतीय मतदाता !


५ फागुन, काठमाडौं । आज शनिबार, काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाले फरक–फरक विषयलाई स्थान दिएर छापेका छन् । यद्यपि, पत्रपत्रिकाहरुको पहिलो प्राथमिकतामा राजनीति नै परेको छ ।
सबै प्रदेश सरकारले मुख्यमन्त्री पाए पनि प्रदेश सरकार अलमलमा परेको छ । मन्त्रालय मातहतका संयन्त्र, कर्मचारी, बजेट, योजना, ऐन, कानून र भौतिक पूर्वाधारको स्पष्ट व्यवस्था नहुँदा प्रदेश सरकार अलमलिएको विषय आजका केही पत्रपत्रिकाहरुले उठाएका छन् । प्रदेश पदाधिकारीको तलब सुविधाबारेको समाचार पनि आजको पत्रपत्रिकामा पढ्न सकिन्छ ।

नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको आकांक्षी र निर्वाचन प्रक्रियाबारे नयाँ पत्रिका दैनिकले एक सामग्री छापेको छ । समाचार अनुसार राष्ट्रपतिमा झलनाथ खनाल र अमिक शेरचनले दाबी गरेका छन् भने अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिले पनि दोहोरिने इच्छा देखाएका छन् । यद्यपि, वाम गठबन्धनले यो विषयमा ठोस छलफल गरेको छैन ।

यसका अलावा माओवादी सांसद् भारतीय मतदाता रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका अनुचित निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीलाई निर्देशन दिएकोलगायत समाचारले पनि आज उत्तिकै महत्त्व पाएका छन् ।

 प्रधानमन्त्रीको निर्देशन– देउवा सरकारका अनुचित निर्णय कार्यान्वयन नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा नेृतत्वको सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

समाचार अनुसार, ओलीले विगतका निर्णय कति कानूनसम्म छन्, प्रक्रिया पुगेको छ–छैन ? त्यसको अध्यनपछि मात्र आवश्यक निर्णय लिने बताएका छन् ।

घोषणापत्रका आधारमा सरकारले गर्नुपर्ने कार्यक्रमको सूची बनाउन वाम गठबन्धनद्वारा गठित कार्यदलले पनि चुनावको मिति घोषणापछिका कतिपय निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।

मोदीले ओलीलाई लेखेको चिठ्ठीमा के छ ?

नयाँ पत्रिकामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेको समाचार छ ।

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठ्ठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ पत्रिकाका अनुसार मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठ्ठीमा उल्लेख गरेका छन् । जवाफमा ओलीले बर्धाइ तथा शुभकामना दिएको मोदीलाई धन्यवाद दिँदै उपयक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् ।

प्रदेश पदाधिकारी तलबः कसको कति ?

सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा–सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन् । त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन् । प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् ।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको समाचारमा उल्लेख छ । विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ । प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ । प्रदेश सरकारले यही तलबमानअनुसार प्रदेशका सबै पदाधिकारीको तलब सुविधा तोक्ने बताइएको छ । केन्द्र सरकारले तलब तोक्दा एकरूपता कायम गर्नसमेत प्रदेश सरकारलाई आग्रह गरेको समाचारमा उल्लेख छ ।

को–को छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका दाबेदार

नयाँ पत्रिका दैनिकले आज राष्ट्रपति र उपराष्ट्रपतिका आकांक्षीबारे मुख्य समाचार बनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।

समाचार अनुसार भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन अकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटकपटकको भेट र डिनर मिटिङमार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना व्यक्त गरेकी छन् । उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् ।

तर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल दोहारिने इच्छा राखेको समाचारमा उल्लेख छ ।

समाचार अनुसार वाम गठबन्धन बनेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालले राष्ट्रपति बन्ने चाहना अस्वीकार गर्दै आएका छन् ।

एक महिनामै नयाँ राष्ट्रपति, प्रदेश र संघीय सासद् मतदाता

निर्वाचन आयोगले ३ फागुनमा निर्वाचनको अन्तिम प्रतिबेदन बुझाइसकेकाले संसद् गठन भएको एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक र कानूनी प्रावधानअनुसार बढीमा ३ चैतभित्र नयाँ राष्ट्रपति–उपराष्ट्रपति चयन भइसक्नेछन् ।

नयाँ पत्रिका दैनिक खबरको अगाडि लेख्छ– राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ र ५ मा ऐन प्रारम्भ भएपछि पहिलोपटक हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा गठन भएको एक महिनाभित्र निर्वाचन हुनेगरी आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

संविधानको धारण ६२ अनुसार संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिनेछन् । दुवै संसदका सदस्यको मतभार फरक छ । कुनै उम्मेदवारले बहुमत नल्याएको अवस्थामा भने संविधानअनुसार कुल मतको बढी मत प्राप्त गर्ने दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने संवैधानिक व्यवस्था छ ।

माओवादी सांसद् भारतीय मतदाता

नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा भेटिएको खबर नागरिक दैनिकले छापेको छ ।

भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।

समाचार अनुसार भारत, बिहार राज्यको दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एअनाइसी डट आईएनमा भेटन सकिन्छ ।
दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आईडी) आईएजी ०३७३१८३ छ । उनको मतदाता क्रमांक १७५ छ ।

अलमलमा प्रदेश सरकार

कान्तिपुर दैनिकले प्रदेश सरकार अलमलिएको विषयलाई मुख्य समाचार बनाएको छ । मन्त्रालय मातहतका संयन्त्र, कर्मचारी, बजेट, योजना, ऐन, कानून र भौतिक पूर्वाधारको स्पष्ट व्यवस्था नहुँदा मुख्यमन्त्री र मन्त्रीहरु अन्योलमा परेको समाचारको सार छ ।

‘प्रदेशका मन्त्रालयहरु मातहत कुन कुन कार्यालय रहने हो, कहिलेसम्म खुल्ने, केन्द्रबाट कहिले हस्तान्तरण हुने्, त्यसको सुनिश्चितता छैन’, कान्तिपुरको समाचारमा लेखिएको छ, ‘त्यसैले के काम गर्ने, कसलाई अह्राउने भन्ने समस्या प्रदेशका मुख्यमन्त्री, मन्त्री, मुख्यसचिव र सचिवहरुलाई परिरहेको छ ।’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कान्तिपुरसँग बस्ने ठाउँ, कर्मचारी, बजेट, सवारी साधनलगायत व्यवस्थापन हुन नसक्दा काम गर्न नसकिएको बताएका छन् ।

र, यो पनि– त्रिविमा आफन्त भर्ती गर्न परीक्षा नै रद्द  !

त्रिभुवन विश्वविद्यालयले पदाधिकारीका आफन्त उत्तीर्ण नहुने देखेपछि करारमा कम्प्युटर अपरेटर नियक्ति गर्न लिइसकेको परीक्षासहित विज्ञापन नै रद्द गरेको छ ।

कान्तिपुर दैनिकका अनुसार आफन्तलाई जागिर खुवाउनै उक्त परीक्षा लिने जिम्मेवारी सम्बन्धित डिन कार्यालयलाई दिइएको छ ।

त्रिवि कार्यकारी परिषद्को पुस ४ को बैठकले डिन कार्यालयहरुका लागि रिक्त मुख्य प्राविधिक करार सेवाबाट पदपूर्ति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुस ३० मा गोरखापत्रमा विज्ञापन गरी माघ २८ मा लिइएको प्रयोगात्मक परीक्षा रद्द गरिएको हो ।

परिषद्को निर्णय नम्बर १६२४ मा करारमा १० जना कर्मचारी छनोट गर्ने उल्लेख छ । त्यसअनुसार खुलाइएको विज्ञापनमा १ सय ६७ जनाले आवेदन दिएका थिए । परीक्षा मर्यादित र निष्पक्ष बनाउन भन्दै पुस १८ मा कम्प्युटर साइन्सका विभागीय प्रमुख नवराज खनालको संयोजकत्वमा ३ सदस्यीय पदपूर्ति समिति गठन गरिएको थियो । तर अन्तिममा परीक्षा नै रद्द गरिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment