Comments Add Comment

ओलीका लागि ऐतिहासिक अवसर


नेपालको ४१ औं प्रधानमन्त्री केपी शर्मा ओली बनेका छन् । आफ्नो राजनीतिक जीवनमा दोस्रोपल्ट सिङ्गो राष्ट्रको कार्यकारी प्रमुख बन्ने अवसर उनले प्राप्त गरेका छन् ।

माथिल्लो ओहोदामा पुगेर ठूलो जिम्मेवारी पाउनु राजनीतिक व्यक्तिको जीवनमा उल्लेखनीय र महत्वपूर्ण घटना हुन्छ । पद र जिम्मेवारी पाएपछि ऐतिहासिक भूमिका निभाउने अवसर कमैलाई मात्र प्राप्त हुन्छ । प्रधानमन्त्री ओलीले पद र जिम्मेवारी मात्र प्रप्त गरेका छैनन्, उनले ऐतिहासिक भूमिका निभाउने अवसर प्राप्त गरेका छन् ।

मूलुकको राजनीतिक स्थितिमा प्रधानमन्त्री ओलीको अगाडि सफलता हासिल गर्न सकिने पर्याप्त सम्भावना छन् । यस्ता सम्भावनाहरूको सदुपयोग प्रधानमन्त्री ओलीले के कति गर्न सक्ने हुन् त्यसमा नै उनको सफलता, असफलता परिणाम निस्कने छ ।

आमनिर्वाचनमा वामपन्थी गठबन्धनले प्राप्त गरेको अपार जनसमर्थनको जगमा ओली प्रधानमन्त्री बनेका छन् । जनताले जुन जुन आधार र कारणबाट बामपन्थी गठबन्धनलाई विजय गराए, त्यसको यथार्थपरक विश्लेषण गरेर प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक दिशा र गति निर्धारण गर्न सके भने मात्र ऐतिहासिक अवसर निभाउन सक्ने छन् ।

आमनिर्वाचनमा वामपन्थी गठबन्धनको पक्षमा अभिव्यक्त भएको उर्लंदो जनमतमा प्रधानमन्त्री ओलीको व्यक्तित्वको उल्लेखनीय भूमिका र योगदान छ । उनले आफ्नो लामो राजनीतिक जीवनमा निभाएको भूमिका भन्दा पहिलोपल्ट प्रधानमन्त्री हुँदा गरेका साहसिक र स्मरणीय कामहरूबाट उनीप्रति आम जनताको विश्वास र समर्थन बढेको हो । ओलीको ध्यान यसतर्फ कति पुग्न सक्छ, त्यसमा उनको सफलताको पूर्वाधार निर्माण हुनेछ ।

विशेषतः ०४६ सालपछि नेपालको कुटनीतिक क्षेत्रमा छिमेकी नीति अस्वाभाविक रूपमा असन्तुलित हुँदा राष्ट्रिय हितको प्रश्न गौण बन्न थालेको थियो । वाहय शक्तिको बढ्दो प्रभावले नेपाली जनतामा निहीत सार्वभौम सत्ता कुण्ठित हुँदै आएको थियो । आफ्ना लागि आफैले संविधान बनाउने नेपाली जनताक सार्वभौम अधिकार निष्फल बनाउने वाहय शक्तिहरुको चलखेल कम आपत्तिजनक थिएन ।
त्यसैगरी नेपालको विदेशनीति नेपालीहरुले होइन कि वाहय शक्तिहरुले निर्धारण गरिदिने स्थिति कम चिन्ताजनक थिएन । यस्तो प्रतिकुल स्थितिमा पहिलोपल्ट प्रधानमन्त्री बनेका ओलीले मधेशी समुदायका नेताहरुलाई उचालेर भारतले नेपालमा नाकाबन्दी लागाउँदा पनि नेपालको विदेश नीति नेपालीले नै निर्धारण गर्ने जोखिम मोलेका थिए ।

मित्रराष्ट्र चीनसँग ओलीले गरेका सन्धी, सम्झौता र समझदारी यसका उल्लेखनीय कार्य थिए । यही अडानका कारण उनले प्रधानमन्त्री पद गुमाउनुपरेको थियो । यसबाट प्रायः सबै देशभक्त बुद्धिजीवी, राजनीतिज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरु ओलीप्रति आकषिर्त भएका थिए । बामपन्थी गठबन्धनको विजयमा यो पक्षको भूमिका उल्लेखनीय छ । यसमा कम्युनिष्ट कार्यकर्ता र शुभचिन्तक मात्र होइन, सबै विचारमा आस्था राख्ने देशभक्तहरु छन् ।

यो जनमतलाई बचाई राख्न प्रधानमन्त्री ओलीले नेपालको विदेश र छिमेक नीति स्वतन्त्र र सन्तुलित बनाउन नेतृत्व गर्न किञ्चित खुट्टा कमाउनु हुँदैन । यी पक्षहरुको समर्थन केही तल माथि हुँदा प्रधानमन्त्री ओलीको अगाडि निकै अप्ठ्याराहरु तेर्सिन सक्छन् । नेपालको राजनीतिक स्थिरता, विकास निर्माणमा चीनको सहयोगलाई प्राथमिकता दिनुपर्ने प्रवल जनमत छ । चीनियाँ रेल काठमाडौं, पोखरा र लुम्बिनीसम्म जोड्नु पर्ने तिब्र जनआकांक्षा छ । चीनसँगका सन्धी, सम्झौता र समझदारी कार्यान्वयन गरी विकास र निर्माणमा चिनीया सहयोग जुटाउन सक्ने पर्याप्त अवसर ओलीको अगाडि छ ।

केही वर्षयता छिमेकी मुलुक भारतसँगको सम्बन्ध असन्तुलित हुँदै आएको छ । नेपालको आन्तरिक राजनीतिमा अनुचित र अस्वाभाविक रुपमा चलखेल गर्ने भारतीय प्रवृत्तिबाट नेपाली जनताको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा नराम्ररी चोट पुगेको छ । यसबाट नेपाली जनतामा भारत विरोधी भावना निकै भड्किएको छ । यो कटु सत्यलाई भारतीय सत्ताले पनि स्वीकार गर्न थालेको छ । भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई दिएको अगि्रम बधाई र सुस्मा स्वराजको अप्रत्याशित नेपाल भ्रमणबाट यो कुराको आभाष पाइन्छ । भारत नेपालको यस्तो छिमेकी मुलुक हो, जोसँगको सम्बन्ध न त ज्यादै निकट हुन उपयुक्त हुन्छ, न त ज्यादै टाढा ।

ज्यादै निकट हुँदा नेपालको स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्रिको पहिचानमा आँच आउँदछ भने निकै टाढा हुनु पनि राष्ट्रिय हितमा हुँदैन । छिमेकी मुलुक भारतसँग स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्धको नयाँ जग बसाउने अवसर पनि प्रधानमन्त्री ओलीको अगाडि छ ।

दक्षिण एशियामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने छिमेकी मुलुक भारत र चीन विच बढ्दो द्वन्द्व र प्रतिष्पर्धाले यो क्षेत्रमा अस्थिरताको कालो बादल मडारिन थालेको छ । यी मुलुकवीचको असमझदारीको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने स्थिति छ । नेपालको छिमेकी मुलुक भारत र चीनसँग सम्बन्ध प्रकृति र चरित्र भिन्न-भिन्न छ । दुबै छिमेकीसँग महत्वपूर्ण सम्बन्ध राख्नुपर्ने बाध्यता नेपालको छ ।

नेपालका लागि दुवै छिमेकी मुलुकसँगको सम्बन्ध विश्वासिलो र हार्दिकतापूर्ण बन्नुपर्ने अपरिहार्यता छ । दुई अहित नहुने छिमेकी नीतिले मात्र यस्तो उद्देश्य प्राप्त गर्न सकिने अवस्था छ । लामो समयदेखि नेपालको साझा विदेश नीति बन्न सकेको छैन ।

राजनीतिक शक्ति आर्जनको लागि वाहय शक्तिको अनुचित रुपमा समर्थन र सहयोग लिने राजनीतिक बृत्तमा देखिएका विकृतिहरुले मुलुकको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकतामा प्रतिकूल असर पर्दै गइरहेका छन् । साझा छिमेकी र विदेश नीति बनाई नेपालको कुटनीति राष्ट्रिय हित अनुकुल बन्न सक्दैनन् । साझा विदेश नीति बनाउने अवसर पनि प्रधानमन्त्री ओलीको सामु छ ।

विभाजनपछि विभाजनको शिकार हुँदै आएको नेपाली कम्युनिष्ट आन्दोलन पहिलोपल्ट एकता पछि एकताको दिशातर्फ अग्रसर भएको छ । आमनिर्वाचनमा वामपन्थी गठबन्धनले हासिल गरेको अभूतपूर्व सफलताले कम्युनिष्ट पार्टीहरु वीचको एकताको पक्षमा पहाड जस्तो जनमत खडा भएको छ ।

यस्तो कम्युनिष्ट एकताको प्रकृयालाई असफल गराउन पर्दा पछाडि खतरनाक खेलहरु भैरहेको संकेतहरु देखा पर्न थालेका छन् । कहिले पद प्रतिष्ठको विवाद चर्काएर, कहिले प्रायोजित सैद्धान्तिक प्रश्नहरुलाई उछालेर एकता प्रकृयामा भाँजो हाल्ने चलखेलले पछिल्लो कुराको संकेत गर्दछ ।

पार्टीगत र गुटगत स्वार्थबाट माथि उठेर प्रधानमन्त्री ओलीले एकताको पक्षमा भूमिका निभाउँदा यस्ता दुष्प्रयासहरू पानीको फोका सावित हुने निश्चित छ । ओलीको अगाडि कम्युनिष्ट पार्टीको एकताको पक्षमा नेतृत्व गर्ने ऐतिहासिक अवसर पनि छ ।

पारिवारिक जीवन र स्वास्थ्यको कारणले लोभ लालच गर्नुपर्ने खास कारण देखिँदैन । बाँकी उनले राजनीतिक जीवन राष्ट्रि र जनताको लागि दिन सक्ने अवस्था छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई चाँडो बुझ्ने र परिस्थिति अनुकुल कदम चाल्ने क्षमता पनि प्रधानमन्त्री ओलीमा छ । बुद्धिमता परिकाले कदम चाल्न सके भने उनले ऐतिहासिक अवसरहरुलाई सहयोग गर्न सक्ने प्रर्याप्त सम्भावना छ । यसका लागि ओली राजनेताको भूमिका निभाउन तयार हुनु पर्दछ । राजनेताको भूमिका निभाउन साँघुरो बाटोबाट सम्भव हुँदैन ।

राजमार्गको यात्रा गर्ने फराकिलो दृष्टिकोण, सहास र हिम्मतको आवश्यकता पर्दछ । पार्टीगत र गुटगत स्वार्थभन्दा राष्ट्रिय र जनहितलाई प्राथमिकता दिई अघि बढे भने प्रधानमन्त्री ओलीले ऐतिहासिक भूमिका निभाउन सक्ने स्थिथि छ । उनले आफ्नो अगाडि आएका ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सक्दछन् कि सक्दैनन्, त्यसका लागि केही दिन पर्खिनुपर्दछ ।

(लेखक वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष हुनुहुन्छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment