Comments Add Comment

यूएईमा विदेशी कामदारले के गर्न हुन्छ ? के हुँदैन ? सरकारले ल्यायो हातेपुस्तक

तीन भाषामा निःशुल्क उपलब्ध हुने

६ फागुन, दुबई । संयुक्त अरब इमरेट्स (यूएई) ले त्यहाँ रहेका करिब १० लाख विदेशी कामदारहरुलाई उनीहरुको कर्तव्य र अधिकारका विषयमा सचेत गराउन पहिलोपटक श्रम निर्देशिका जारी गरेको छ ।

हातेपुस्तकका रुपमा निकालिएको नर्देशिका अरेबिक, उर्दु र अंग्रेजी भाषामा उपलब्ध छ ।

वैदेशिक मामला तथा आवास महानिर्देशनालयका उप निर्देशक मेजर जनरल ओबाइद मोहेर बिन सुरोरले निर्देशिकाको विमोचन गरेका हुन् ।
उनले भने, ‘दुबईमा रहेका १० लाख विदेशी कामदारहरुलाई निःशुल्क बाँडिने यो गाइडलाइनले उनीहरुलाई यस देशको कानूनसँग तादाम्य राखेर आफ्नो व्यवहारिक जीवन बाँच्नका लागि बाटो देखाउने छ ।’

दुवईस्थित श्रम मामलासम्वन्धी स्थाई समिति (पीसीएलए) ले हालै मात्र इमरेट्सका कामदारहरुलाई उनीहरुसँग सम्पर्कमा रहन तथा आफ्ना अधिकार र दायित्वबारे पूर्ण जानकार बन्न सघाउने एउटा स्मार्ट एपको योजना अघि सारेको थियो ।

बिन सुरोरले नयाँ गाइडलाइनले कामदारहरुलाई आफ्नो अधिकारको रक्षा गर्न तथा नियम-कानून पालना गर्न सघाउने विश्वास व्यक्त गरेका छन् । ‘आफूले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरामा कामदारहरु सचेत होउन् भन्ने हामी चाहन्छौं किनकी अझै पनि उनीहरुलाई कानूनी व्यवस्थाबारे धेरै ज्ञान छैन,’ उनले भने ।

सुरोरका अनुसार कामदारहरुले कानून उल्लघंन गर्ने सबैभन्दा आम विषय स्पोन्सरभन्दा बाहिर कसैका लागि काम गर्नु हो । यसो गरेमा ५० हजार दिराम जरिवाना हुने कानूनी व्यवस्था छ ।

निर्देशिकाअनुसार भिसाभन्दा बढि समय बस्ने र लागू औषध तस्करीमा संलग्न हुने कामदारलाई आजीवन कारावासको सजाय हुन सक्छ ।

यसैगरी लागू औषध प्रयोगकर्तालाई चार वर्ष जेल र व्यक्तिहत्यामा संलग्न रहेको पाइएमा जन्मकैद हुने व्यवस्था छ । अन्य अपराधहरुमा दंगा फैलाउने, चोरी गर्ने, डकैति गर्ने, मदिराको अवैध उपभोग, जुवा आदि छन् ।

नयाँ गाइडलाइनमा कामदारहरुलाई कार्यस्थलमा उनीहरुको व्यक्तिगत सुरक्षाको विषयमा पनि शिक्षा दिइएको छ र हेलमेट, चश्मा, बुट, मास्क जस्ता साधनहरुको महत्वबारे जानकारी गराइएको छ ।

‘कार्य अवधि, ओभरटाइम, तलव, औषधोपचार, डे अफ, सार्वजनिक विदा, आवास भत्ता लगायतका विषयमा कामदारहरु पूर्ण जानकार होउन् भन्ने पनि हामी चाहन्छौं,’ सुरोरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment