Comments Add Comment

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले पदवहाली गर्न मानेनन्

फाइल फोटो

६ फागुन, काठमाडौं । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. विनोदमान श्रेष्ठले पदवहाली गर्न इन्कार गरेका छन् । उनले व्यक्तिगत कारण भन्दै विभागको महानिर्देशक बन्न इन्कार गरेका हुन् ।

गत बुधबार विभागको महानिर्देशकमा नियुक्त गरिएका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्रेष्ठले आइतबार विभागको महानिर्देशकको पदवहाली गर्ने कार्यक्रम रहेको थियो । विभागको महानिर्देशकमा १२ औ तहका कर्मचारी रहने प्रावधान छ ।

विभागको महानिर्देशक बन्न डा. राजेन्द्रप्रसाद पन्त र डा . तारानाथ पौडेलबीचको विवाद भएपछि तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले डा. श्रेष्ठलाई गत फागुन २ गते महानिर्देशकमा नियुक्त गरेका थिए ।

आफ्नो इच्छा विपरीत विभागको महानिर्देशक बनाएको भन्दै डा. श्रेष्ठले विभागमा हाजिर गर्न नमानेको स्रोतले बताएको छ । ‘महानिर्देशकको जिम्मेवारी सुम्पनु अगाडि मलाई सोधिएको त थियो । तर त्यसमा व्यक्तिको इच्छा भन्ने कुरा नहुँदो रहेछ’ उनले भने ।

उनले आगामी दिनमा पनि आफू विभाग जाने वा नजाने निश्चित नभएको बताए । ‘भविष्य अनिश्चित छ । भोलि मरिन्छ कि बाँचिन्छ त अहिले थाहा हुँदैन भने भोलि पदवहाली हुन्छ, हुँदैन भन्ने कुरा अहिले नै कसरी बताउन सकुलाँ र ?’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

तत्कालीन स्वास्थ्य मन्त्री दिपक बोहराले जादाजादै स्वास्थ्य सेवा विभाग अन्तर्गतका निकायमा निर्देशक फेरवदल गरेका छन् ।

मन्त्री बोहराले गत फागुन २ गते मन्त्रीस्तरीय निर्णयबाट गोप्य रुपमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशक फेरबदल गरेका थिए ।

मन्त्री बोहराको यो फेरबेदलसँगै केन्द्रका निर्देशक बद्रीबहादुर कार्कीलाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र बारा सरुवा गरिएको छ ।

त्यसैगरी, उनको ठाउँमा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका सुनीलराज शर्मालाई ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment